• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

महाधिवेशनमा जे देखियो…‘जेलैमा हो जेलैमा चरी जेलैमा, घनश्यामले बुद्धि पुर्‍याए धन्न बेलैमा… ( भिडियो सहित )


एमाले अध्यक्ष केपी ओलीले आगामी चुनावमार्फत पुनः बालुवाटार फर्कने रणनीतिक प्रस्ताव गरेका छन् । दोस्रोपटक गरेको संसद् विघटनलाई पनि असंवैधानिक भन्दै
सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्रीबाट पदमुक्त भएका ओली ३१ असारमा बालुवाटारबाट बालकोट फर्किएका थिए । पुनर्स्थापित संसद्ले प्रभावकारी काम नगरेको भन्दै उनले

सार्वजनिक रूपमै ‘अर्ली इलेक्सन’ माग गरिरहेका छन् । शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा ओलीले आगामी तीनवटै तहको निर्वाचनमा पार्टीलाई बहुमत प्राप्त पहिलो शक्तिका रूपमा स्थापित गर्ने गरी निर्वाचनको तयारीका कामलाई तीव्रता दिने प्रस्ताव गरेका छन् । ललितपुरको गोदावरीमा सुरु पहिलो विधान महाधिवेशन उद्घाटनपछि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले पार्टीको अबको प्राथमिक काम चुनावकेन्द्रित हुने स्पष्ट गरेका छन् । ओलीले प्रतिवेदनमा समृद्धिको यात्रालाई निरन्तरता दिन पार्टीलाई राज्य सञ्चालनको केन्द्रभागमा पुनस्र्थापित गर्नु अनिवार्य पूर्वसर्त भएको उल्लेख गरेका छन् । पार्टी विभाजनको क्षति न्यूनीकरण गर्दै अबको चुनावमा पहिलो शक्तिको बिरासत फर्काउने योजनासहित एमालेले विधान महाधिवेशनमा भेला भएका ६ हजार तीन सय ४७ नेता–कार्यकर्तालाई त्यही काममा उच्च मनोबलसहित अगाडि बढ्न प्रेरित गर्ने प्रयास गरेको छ । एमाले नेतृत्वको सरकारले लगभग काम सम्पन्न गरेको गोदावरीमा निर्मित पाँच हजार क्षमताको नेपालकै ठूलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई महाधिवेशनस्थल छनोट गरेर त्यस्तो मनोवैज्ञानिक सन्देश दिन खोजेको कार्यकर्ताहरूले टिप्पणी गरेका छन् ।

विधान महाधिवेशनमा पार्टीको संगठनात्मक संरचना र जनसंगठनका पदाधिकारी, सांसद, स्थानीय सरकारका प्रमुख–उपप्रमुखहरूलाई प्रतिनिधि बनाएर एमालेले उनीहरूलाई आफ्नो नेतृत्वको सरकारले गरेको कामको प्रचारसहित चुनावकेन्द्रित गराउन खोजेको हो । जुन सन्देश एमालेले विधान महाधिवेशनको राजनीतिक प्रतिवेदनबाट मात्र होइन, अन्य विभिन्न तरिकाले पनि दिइरहेको छ । चुनावकेन्द्रित योजनामा लागेका ओलीले अबको कार्यभारअन्तर्गत मुख्यतः ६ काम प्रस्ताव गरेका छन्, जसको बलमा पार्टीलाई पहिलो शक्ति बनाउन सक्ने उनको विश्वास छ । ओलीले राजनीतिक प्रतिवेदनमा नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य शक्तिका रूपमा थप सुदृढ गर्न आधारभूत तहबाटै वामपन्थी एकता अभियान अगाडि बढाउन प्रस्ताव गरेका छन् । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सकिनेबित्तिकै कलाकार पुरुषोत्तम भण्डारी प्रहसनका लागि स्टेजमा आए । पछिसम्म माधव नेपाललाई साथ दिएर अन्तिममा एमालेमै रहेका १० भाइ नेतालाई व्यंग्य गरे । यद्यपि नामचाहिँ घनश्याम भुसालको मात्रै लिए, ‘जेलैमा हो जेलैमा चरी जेलैमा, घनश्यामले बुद्धि पुर्‍याए धन्न बेलैमा ।’

– बैठकमा अध्यक्ष ओलीका विश्वासपात्र प्रदीप ज्ञवालीले कार्यक्रम सञ्चालन गरेका थिए । बीचमा पोखरेललाई प्रतिवेदन वाचनको जिम्मेवारी दिइएपछि महाधिवेशनस्थलमा ओलीले उनीहरूलाई नै उत्तराधिकारीका रूपमा अगाडि बढाउने गरी सन्देश दिएको हल्ला चल्यो ।
– प्रतिनिधिहरूलाई वितरण गरिएको पानीको बोतलमा पनि ओलीको तस्बिर भएको स्टिकर टाँसिएकाले कतिपयले उनलाई त्यति धेरै देवत्वकरण गर्नु गलत भएको टिप्पणी गरिरहेका थिए ।
– अध्यक्ष केपी ओलीको ‘देवत्वकरण’ गर्ने गरी रत्नपार्कदेखि नै पोलहरूमा उनको फोटो झुन्ड्याइएको थियो । महाधिवेशन स्थलमा त पूर्णकदको डमीमा नै थियो । जसको अगाडि प्रतिनिधिहरू महाधिवेशन अवधिभर तस्बिर खिच्न झुम्मिएका थिए । ओलीलाई युवा संघका कार्यकर्ताले सातदोबाटोबाट स्कर्टिङ गरेर महाधिवेशनस्थल गोदावरी पुर्‍याएका थिए ।

चुनाव जित्ने पाँच सूत्र
१. एमालेलाई नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य शक्तिका रूपमा थप सुदृढ गर्न आधारभूत तहबाटै वामपन्थी एकता अभियान

२. विभाजनको असर न्यून पार्न माधव नेपाल नेतृत्वको पार्टीमा लागेकालाई मूल पार्टीमा फर्काउने, उनीहरूले ‘विभाजनकारी’, ‘अवसरवादी’ र ‘जनविरोधी क्रियाकलाप’ गरेको भन्दै भण्डाफोर गर्ने
३. ओली नेतृत्वको सरकारले गरेका कामलाई व्यवस्थित सामग्रीसहित प्रचार गर्ने, तथ्य–तथ्यांक लिएर चुनावी प्रचारमा जाने

४. प्रतिपक्षका रूपमा पार्टीको भूमिकालाई सशक्त, सिर्जनात्मक र प्रभावकारी बनाउने तथा पाँचदलीय गठबन्धनको राजनीतिक चरित्रको विरोध गर्ने
५. राष्ट्रियता र समृद्धिको नायकका रूपमा ओलीको व्यक्तित्वको प्रचार गर्ने, ओलीलाई पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीकै हाराहारीमा प्रस्तुत गर्ने तर, पार्टी विभाजन गरेर वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाललगायत नेकपा एकीकृत समाजवादी गठन, पाँचदलीय गठबन्धन र सरकारबाहिर रहेकाले एमालेका लागि चुनाव चुनौतीपूर्ण हुन सक्छ

‘जेलैमा हो जेलैमा चरी जेलैमा,
घनश्यामले बुद्धि पुर्‍याए धन्न बेलैमा…’

प्रकाशित मिति : २०७८ असोज १६ गते शनिवार