• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

यस्ता छन् एमाले विधान महाधिवेशनले पारित गरेका १६ बुँदे प्रस्ताव


राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्ताव सुझाबसहित पारित गर्दै एमालेको विधान महाधिवेशन सम्पन्न भएको छ । तीन दिनसम्म चलेको
एमालेको महाधिवेशनले १६बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ।समसामयिक प्रस्ताव नेता रघुजी पन्तले हलसमक्ष प्रस्तुत गरेका थिए । पन्तले प्रस्तुत गरेको प्रस्ताव हलले सर्वसम्मत
पारित गरेको हो ।

यस्ता छन् १६ बुँदे समसामयिक प्रस्ताव
१. यो महाधिवेशन राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक आर्थिक रूपान्तरणको आन्दोलन र क्रान्तिमा संलग्न हुने क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आदर्शलाई निरन्तर अनुसरण गरिरहने संकल्प गर्दछ ।
२. यो महाधिवेशन पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी, प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीका साथै पार्टीका पूर्वमहासचिव तुल्सीलाल अमात्य र नेपालको वाम–लोकतान्त्रिक आन्दोलन एवं महिला मुक्ति अभियानकी अग्रणी व्यक्तित्व सहाना प्रधानलगायत आन्दोलनका अग्रज कमरेडहरूप्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।

नवौँ महाधिवेशनयता दिवंगत हुनुभएका केन्द्रीय सदस्य कमरेडहरू रामनाथ ढकाल, महिम सुब्बा लिम्बु, रवीन्द्र अधिकारी, दिनेशचन्द्र यादव, पशुपति चौलागाईं र योगनारायण यादव तथा पार्टीका पूर्वस्थायी कमिटी सदस्य, लोकप्रिय अर्थमन्त्री भरतमोहन अधिकारी, केन्द्रीय अनुशासन आयोगका सदस्य वीरबहादुर ठगुन्ना एवं केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य जागृत भेटवाल, जेष्ठ कम्युनिस्ट मञ्चका सदस्य माणिकलाल गौतम, वीरबहादुर सिंह, कमला सुवेदी, वीरबहादुर लामा, लोकप्रिय जनकलाकार जेबी टुहुरेलगायत यसबीचमा दिवंगत हुनुहुने कमरेडहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।
३. यो महाधिवेशन अनेकौँ प्रतिकूलताका बीचमा पनि करिब साढे तीन वर्ष सरकारको नेतृत्व गरेर राजनीतिक द्वन्द्वहरूलाई अन्त्य गर्ने, संविधान र संघीयता कार्यान्वयन गर्ने, राष्ट्रियतालाई सुदृढ र राष्ट्रिय स्वाभिमानलाई उचो पार्ने, रणनीतिक महत्वका पूर्वाधारलगायत विकास निर्माणलाई तीव्रता दिने र सामाजिक न्यायलाई सुनिश्चित गर्नेजस्ता महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा केपी शर्मा ओलीको नेतृत्वको पूर्ववर्ती सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । अदालतको परमादेशद्वारा सरकारबाट बाहिरिनुपरे पनि जनादेशका माध्यमबाट पुनः राज्यको नेतृत्वमा पुनरागमन गर्दै समृद्धि र रूपान्तरणको अभियानलाई निरन्तरता दिने संकल्प गर्दछ ।

४. यो महाधिवेशन नेकपा (एमाले) लाई विभाजन गरी छाड्ने दूषित मनसायका साथ ल्याइएको अध्यादेश, संविधानको अपव्याख्या र संवैधानिक अंगहरूका कतिपय मर्यादाबाहिरका काम र निर्णयका समेतका आधारमा नेकपा (एमाले)लाई विभाजन गराइएको घटनाप्रति क्षोभ प्रकट गर्दछ । भ्रमवश विभाजनको पक्षमा लागेका पार्टी कार्यकर्ताहरूलाई पुनः पार्टीमा फर्केर नेकपा (एमाले)लाई सुदृढ गर्ने र एकताबद्ध एमालेको नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल पार्ने अभियानमा योगदान दिन हार्दिक अपिल गर्दछ ।
५. यो महाधिवेशन वर्तमान गठबन्धन सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेर लाखौँ सुकुम्बासी भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकहरूका अधिकार र अपेक्षामाथि घात गरेकोमा निन्दा गर्दै संविधानले व्यवस्था गरेको आवासको हक, भूमिहीन दलितहरूको जमिनको हकलगायत अधिकारको प्रत्याभूतिका लागि निरन्तर संघर्षरत रहने संकल्प गर्दछ ।

६. यो महाधिवेशन ०७८ साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सुरक्षाकर्मीहरूद्वारा तुइन चुँडाइएर दार्चुलाका जयसिंह धामी बेपत्ता पारिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसक्रममा सरकारले देखाएको लाचारीप्रति खेद व्यक्त गर्दछ । अविलम्ब दोषीमाथि कारबाही सुनिश्चित गर्न र पीडित परिवारलाई न्याय एवं राहत प्रदान गर्न माग गर्दछ ।
७. हालै गठबन्धन सरकारले स्रोत नखुलेको सम्पत्तिलाई वैधानिकता दिने गरी प्रतिस्थापन विधेयकमार्फत आयकर ऐन, २०५८ मा संशोधन गरी ल्याएको प्रावधानभित्र सत्तास्वार्थका लागि अवैध स्रोतलाई चोख्याउने दुरासय निहित रहेको छ । यो महाधिवेशन यस्तो प्रावधानले नेपाल पक्ष रहेका सुशासनसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धि र प्रतिबद्धताको उल्लंघन हुने, विश्व समुदायमाझ नेपालको विश्वसनीयतामाथि आँच पुग्ने एवं नेपालले अनपेक्षित समस्याहरूको सामना गर्नुपर्ने सम्भावना रहेकोप्रति गहिरो चासो व्यक्त गर्दछ । यस्तो गलत निर्णयलाई तत्काल सच्याउन माग गर्दछ ।

८. वर्तमान सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा पूर्ववर्ती सरकारले ल्याएका धेरै विकास निर्माणका परियोजना, जनताको हितसँग जोडिएका निर्णय एवं नियुक्तिहरूलाई उल्ट्याउँदै आफ्नो विकासविरोधी चेहरालाई उद्घाटित गरेको छ । यो महाधिवेशन सरकारको विकासविरोधी यस्ता निर्णय र कदमहरूप्रति गम्भीर आपत्ति प्रकट गर्दछ ।
९. वर्तमान सत्तागठबन्धनका कतिपय नेताहरूबाट व्यक्त नेकपा (एमाले)माथि आक्रमण गर्न दुरुत्साहित गर्ने खालका अभिव्यक्तिहरूप्रति महाधिवेशनको गम्भीर ध्यानाकर्षण भएको छ । महाधिवेशन सत्ता सञ्चालकहरूका यस्ता अभिव्यक्तिहरू अलोकतान्त्रिक, आपत्तिजनक र निन्दनीय रहेको यो महाधिवेशन ठहर गर्दछ ।

१०. वर्तमान सरकारले गरेका कतिपय निर्णयहरूले दुई छिमेकीसँग सन्तुलित र विश्वासिलो सम्बन्ध राख्नुपर्ने राष्ट्रिय आवश्यकता र परराष्ट्र नीतिको मर्ममाथि आँच पुर्याएको ठहर गर्दै यो महाधिवेशन नेपालले छिमेकीलगायत सबै मित्र राष्ट्रहरूसँग नेपालको राष्ट्रिय हितमाथि आधारित स्वतन्त्र परराष्ट्र नीतिमा आधारित सन्तुलित, परिपक्व र विश्वासिलो सम्बन्ध राख्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
११. नेपालका लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका नेपाली भूभागमा रहेको बाह्य अतिक्रमणलाई समाप्त गरी ती भूभागमा नेपालको हकभोग कायम गर्नका लागि गम्भीर कूटनीतिक पहल र वार्ता गर्न यो महाधिवेशन नेपाल सरकारसँग माग गर्दछ ।

१२. यो महाधिवेशन आसन्न स्थानीय तह निर्वाचनको तयारीमा लाग्न, आफ्ना पालिकाहरूमा पार्टीको विजय सुनिश्चित गर्न र यसका लागि आवश्यक संठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिन सबै कमिटी तथा कमरेडहरूलाई आह्वान गर्दछ ।
१३. कोभिड महामारी आज विश्वकै चुनौतीमा रूपमा देखापरेको छ । नेपाललाई पनि यसले नराम्रो गरी प्रभावित गरेको छ । कोभिड महामारीको नियन्त्रणका लागि पूर्ववर्ती सरकारले गरेका खोपलगायत प्रबन्धहरूका कारण कोभिड क्रमशः नियन्त्रणमा आइरहेको यथार्थ हाम्रा सामु छ । यस सम्बन्धमा प्रदेश र स्थानीय सरकारहरूको भूमिका पनि महत्वपूर्ण रहेको छ । अग्रपंक्तिमा रहेर कोभिडविरुद्धको लडाइँको नेतृत्व गर्नुहुने स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मीहरू, एम्बुलेन्सचालकहरू, सफाइकर्मी र शव व्यवस्थापनमा संलग्नहरूको योगदानको उच्च प्रशंसा गर्दै यो महाधिवेशन अझै पनि महामारीको जोखिम कायमै रहेको कुरालाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड पालनाका लागि सबैसँग आग्रह गर्दछ ।

१४. यो महाधिवेशन विभिन्न रूपमा जारी रहेका महिलाविरुद्धका हिंसाका घटनाप्रति गहिरो चासो र चिन्ता व्यक्त गर्दै यस खालका अपराधविरुद्ध आवश्यक जागरण, सजगता र दबाबका लागि भूमिका खेल्न पार्टी पंक्तिलाई आह्वान गर्दछ । यस्ता अपराधमा संलग्नहरूलाई कडा कानुनी कारबाहीको माग गर्दछ ।
१५. यो महाधिवेशन नजिक आइरहेका सांस्कृतिक पर्वहरू– बडा दसैँ, तिहार, नेपाल सम्बत् ११४२ तथा छठलगायतका उपलक्ष्यमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, शान्ति र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछ ।

१६. यस महाधिवेशनलाई भव्य रूपमा सफल पार्न पु¥याउनुभएको योगदानका लागि ललितपुर जिल्ला कमिटी र मातहत कमिटीहरू, जिल्लाका जनप्रतिनिधिहरू, गोदावरी नगरपालिका, स्थानीय बासिन्दा, सुरक्षाकर्मी, सञ्चारकर्मी, कलाकर्मी, प्राविधिक मित्रहरू, भान्सा र आवासमा सहयोग पुर्याउने साथीहरू, सवारीचालकहरू सबैलाई धन्यवाद ज्ञापन गर्दछ । महाधिवेशनको सुव्यवस्थाका लागि अहोरात्र खट्ने स्वयंसेवकहरूको उच्च प्रशंसा गर्दछ ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार