• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

साफ च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित, श्रीलंका ३–२ ले पराजित


काठमाडौं : माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपालले श्रीलंकालाई पराजित गरेको छ। नेपालले लगातार दोस्रो जित निकालेको हो। सोमबार राति सम्पन्न
खेलमा नेपालले श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गरेको हो। श्रीलंकालाई नेपालले साफमा २२ वर्षपछि पराजित गरेको हो।यसअघि श्रीलंकालाई नेपालले सन् १९९९ मा पराजित गरेको

थियो।नेपालका लागि खेलको ३३औं मिनेटमा सुमन लामाले अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो हाफको सुरुवातमै अन्जान विष्टले नेपालको अग्रता दोब्बर बनाए। तर श्रीलंकाका मार्विन ह्यामिल्टनले ५७औं मिनेटमा नेपालविरुद्ध गोल फर्काए।खेलको ८६औं मिनेटमा तेज तामाङको क्रस पासमा आयुष घलानले नेपाललाई ३–१ को स्थितिमा पुर्‍याए। खेलको इन्ज्यूरी टाइममा गौतम श्रेष्ठले ह्यान्ड गरेपछि श्रीलंकाले पेनाल्टी पायो। त्यसलाई उसका डि सिल्भाले सदूपयोग गरे। यद्यपि खेल नेपालको पक्षमा रह्यो।यो जितसँगै नेपाल शतप्रतिशत नतिजासहित पहिलो स्थानमा रहेको छ। त्यस्तै बंगालादेश दोस्रो स्थानमा रहेको छ। उसले सोमबार भारतसँग १–१ को बराबरी खेलेसँगै ४ अंक बटुलेको छ।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० ले पराजित गरेको थियो।

यसपटक साफमा पाँच टिमले मात्र प्रतिस्पर्धा गरिरहेका छन्। नेपालसहित भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गरिरहेका हुन्। कोरोना महामारीका कारण भुटानले सहभागिता जनाएको छैन भने फिफाको कारबाहीका कारण पाकिस्तानले खेलेको छैन।

पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन्। नेपालको लक्ष्य फाइनल पुग्ने रहेको छ। हालसम्म नेपाल साफ च्याम्पियनसिपको फाइनलसम्म पुग्न सकेको छैन। उपाधि दाबेदारका रूपमा हेरिदै आइएपनि सेमिफाइनलसम्म मात्र पुग्न सकेको छ।

नेपालले अब २४ गते भारतको सामना गर्नेछ भने २७ गते बंगलादेशसँग खेल्नेछ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार