• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

प्रधान न्यायाधीशको सिफारिसमा मन्त्रीको नियुक्ति गरेर प्रधानमन्त्री देउवाले लोकतन्त्रको हत्या गरे : शेखर कोइराला


विराटनगरनेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधान न्यायाधीशको कोटाबाट गजेन्द्र हमाल
लाई मन्त्री बनाएर लोकतन्त्रको हत्या गरेको आरोप लगाएका छन्। आफ्नै निवास विराटनगरमा पहिलोपोस्टसँग कोइरालाले प्रधानमन्त्रीले गरेको हमालको नियुक्तिप्रति

आक्रोश व्यक्त गरेका हुन्।डा कोइरालाको प्रतिक्रिया थियो, ‘अरू साथीहरूले के भन्नुहुन्छ, म त लोकतन्त्रको हत्या नै गरेको हो भन्छु।’उनले प्रधानमन्त्रीका रूपमा देउवाले दोस्रो पटक लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाए।‘शेरबहादुरजी राजाका पालामा प्रधानमन्त्री हुँदा उहाँले पहिलो पटक लोकतन्त्रमाथि प्रहार गर्नुभयो’, कोइरालाले पहिलोपोस्टसँग भने, ‘अहिले दोस्रो पटक प्रहार भएको छ। हमालजी जसरी मन्त्री पदमा नियुक्त हुनुभएको छ, यसबाट लोकतन्त्रलाई खतरा छ। व्यक्तिगत रूपमा मेरो उहाँसित कुनै नराम्रो छैन, उहाँ नेपाली कांग्रेसकै क्रियाशील सदस्य भएको मैले बुझेको छु। तर, उहाँको नियुक्तिको प्रक्रिया र सिफारिसप्रति मेरो आपत्ति छ।’उनले हमालको नियुक्तिबाट लोकतन्त्रको मर्म र शक्ति पृथकीकरणको सिद्धान्त छियाछिया भएको टिप्पणी गरे। उनले लोकतन्त्रको सुन्दर पक्ष भनेको शक्ति पृथकीकरण र सन्तुलन भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाका पछिल्ला क्रियाकलापले यसको धज्जी उडाएको बताए।

‘लोकतन्त्रका लागि त शेरबहादुरजी पनि धेरै लड्नु भएको हो’, उनले भने, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको सम्बन्ध र सन्तुलनका बारेमा पनि उहाँ जानकार हुनुहुन्छ। तर, उहाँले यी दुई दिनमा गरेका निर्णयले लोकतन्त्रको मर्म र सन्तुलनमाथि प्रहार भएको छ। अहिले कस्तो छ भने गभर्नमेन्ट देखिएको छ, तर गभर्नेन्स हराएको छ।’कोइरालाले केन्द्रमा प्रधानमन्त्री देउवाले आफ्ना मन्त्रीको संख्या थप्न प्रदेश नम्बर १ र वाग्मती प्रदेशमा मुख्यमन्त्री नेकपा एसलाई दिएको घटनाप्रति असन्तुष्टि जाहेर गरे।उनले यस घटनाबाट नेपाली कांग्रेसका कार्यकर्ता, शुभेच्छुक र समर्थकले ह्युमिलिएसनको अनुभव गरेको प्रतिक्रिया व्यक्त गरे।

‘दुई-दुई वटा प्रदेशमा नेपाली कांग्रेसको नेतृत्व हुन्थ्यो, हुनुपर्ने पनि यही थियो’, कोइरालाको कथन थियो, ‘दुवै तिरका गठनबन्धनमा नेपाली कांग्रेस नै ठूलो दल थियो। त्यसैले प्राकृतिक र स्वाभाविक रूपमा पनि नेपाली कांग्रेसकै संसदीय दलका नेताले सरकारको नेतृत्व गर्न पाउनु पर्थ्यो। बरु केन्द्रमा एक/दुई मन्त्री कम भएर केही फरक पर्दैनथ्यो।’उनले पार्टी सभापति एवम् प्रधानमन्त्रीको निर्णयप्रति सम्बन्धित प्रदेश सांसदले के सोचिरहेका होलान् भन्ने विषयले आफूलाई चिन्तित बनाएको सुनाए। कोइरालाले मन्त्री पदमा हमालको नियुक्ति र दुई वटा प्रदेश सरकारका बारेमा गरिएको निर्णय आगामी महाधिवेशनका मुद्दा हुने स्पष्ट पारे।

उनको प्रश्न थियो, ‘निकट भविष्यमा आम चुनाव र स्थानीय तहका निर्वाचनहरू आइरहेका छन्, निर्वाचनका दौरानमा शेरबहादुरजीका यस्ता क्रियाकलापका बारेमा पक्कै पनि प्रश्न उठ्नेछन्। त्यो बेला कांग्रेस कार्यकर्ताले के कस्तो उत्तर दिने होला?’कोइरालाले गलत प्रकारका यी दुवै निर्णयमा वर्तमान पदाधिकारीमात्र नभएर पूर्व पदाधिकारी पनि दोषी भएको टिप्पणी गरे। उनले पूर्व पदाधिकारीका रूपमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरेका थिए।

उनको भनाइ थियो, ‘बैठकमा पूर्व पदाधिकारीहरू पनि हुनुहुन्थ्यो भन्ने बुझेको छु। उहाँहरूले यस्तो काम रोक्न सक्नुहुन्थ्यो। रोक्नुपर्थ्यो तर रोक्नु भएन। त्यसैले उहाँहरू पनि त्यत्तिकै दोषी हुनुहुन्छ।
स्रोत : पहिलो पोस्ट।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार