• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

चर्को आलोचना पछि गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत: तीन दिनका मन्त्री, एउटा मात्र निर्णयमा हस्ताक्षर


मन्त्री गजेन्द्रबहादुर हमालले बुझाए राजीनामा
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् ।आज बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका हुन्। हमालले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । उनले बुझाएको राजीनामा स्वीकृत भइसकेको छ ।उनी शुक्रबार मन्त्री नियुक्त भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।

मन्त्री पदमा आफ्नो नियुक्तिलाई लिएर आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्षमा पुगेकाले राजीनामा बुझाएको मन्त्री हमालले बताएका छन् ।प्रधानमन्त्री निकट स्रोतका अनुसार राजीनामा बुझाउँदै हमालले भनेका छन्, ‘संविधान र कानूनी राज्यका पक्षमा लामो लडाइँ लड्दै आएको व्यक्ति भएकाले अहिले संविधानमाथि नै सार्वजनिक रूपमा प्रश्न उठ्दा पदमा बसिरहन उपयुक्त लागेन ।’

५ पुस २०७७ मा पहिलो पटक संसद विघटन भएपछि संवैधानिक परिषद्ले गर्ने नियुक्तिहरुमा भागबण्डा लिएका जबराले दोस्रो विघटनपछि हमाललाई मन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । सर्वोच्च अदालतको २८ असारको आदेशअनुसार २९ असारमा देउवा प्रधानमन्त्री बनेपछि जबराले दुई मन्त्री मागेका थिए । सत्तारुढ दलका नेताहरुका अनुसार उनले वन तथा वातावरण र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मागेका थिए ।अहिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हमाल बनेका छन् । यसले पनि उनी जबराकै कोटामा मन्त्री बनेको प्रष्ट हुने स्वयं सत्तारुढ दलका नेताहरु बताउँछन् ।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार