• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

चर्चित विमला भाउजु बनिन् राज्यमन्त्री


बुटवललुम्बिनी प्रदेशमा जम्बो मन्त्रिपरिषद् बनेको छ । कुलप्रसाद केसी मुख्यमन्त्री बनेको ६० औं दिनमा पाँचमन्त्री र चार राज्यमन्त्री थपिएका हुन् ।यससँगै लुम्बिनीको
मन्त्रिपरिषद् १७ सदस्यीय भएको छ । जसमा १३ मन्त्री र ४ राज्य मन्त्री रहेका छन् । आइतबार नेपाली कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री र दुई

राज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीबाट एक मन्त्री थपिएपछि मन्त्रिपरिषदले पूर्णता पाएको हो ।
को–को भए मन्त्री ?
नेपाली कांग्रेसबाट वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री र वसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री बनेका छन् ।त्यस्तै माओवादी केन्द्रबाट इन्द्रजित थारु स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री र तिलकराम शर्माले आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका छन् ।एकीकृत समाजवादीबाट रमा आले कानून, महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन् । उनी प्रदेशसभामा एकीकृत समाजवादीकी एक्ली सांसद हुन् ।कांग्रेसबाट अर्जुनकुमार श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना नेपाल विक पर्यटन राज्यमन्त्री बनेकी छन् । यसैगरी माओवादी केन्द्रबाट विमला खत्री वली स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री बनेकी छन् ।आफ्ना पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा विमला तत्कालीन नेकपाबाट निर्वाचित भएकी हुन् । नेकपा खारेज पछि उनले गत वैशाख १९ गते माओवादी केन्द्र रोजेकी थिइन् ।

उनलाई एमालेमै राख्न एमाले नेताहरुले पाँच दिनसम्म तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा बन्धक बनाएर राखेको आरोप समेत लागेको थियो ।उनलाई एमालेले आफ्नो सांसद भएको दावी गर्दै प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको छ । एमाले र माओवादी दुबैले आफूतर्फ राख्न चाहेका बेला वलीले माओवादी केन्द्र रोजेवापत उनी राज्यमन्त्री बनेकी हुन् ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले आइतबार नै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

२८ साउनमा निुयक्त भएका मुख्यमन्त्री केसीले सोही दिन माओवादी केन्द्रका कृष्णध्वज खड्का, नेपाली कांग्रेसका डिल्ली चौधरी, जनता समाजवादी पार्टीका सहसराम यादव, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई र स्वतन्त्र सांसद अजय शाहीलाई मन्त्री बनाएका थिए ।

चौधरीले पर्यटन, ग्रामीण तथा शहरी विकास, खड्काले आर्थिक मामिला तथा योजना, यादवले भौतिक पूर्वाधार, रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था, ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था र शाहीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेका छन् ।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार