• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

बेमौसमी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ३१ जना सम्पर्क विहीन


अविरलवर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ।कार्तिक १ गते देखी लगातार परेको पानीका कारण देशभर ३० जनाको मृत्यु भएको
प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए ।प्रदेश–१ र सुदूरपश्चिममा धेरै क्षति पुगेको छ । बाढी र पहिरोमा परेर २६ जना घाइते भएका छन् । ३१ जना सम्पर्क विहीन

छन् । सम्पर्क विहीनहरूको खोजी भइरहेको एसएसपी कुँवरले बताए । डोटी जिल्लामा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । बैतडीमा ३ जना, डडेलधुरामा २ जना, कालिकोटमा १ जना, धनकुटामा ६ जना र सुनसरीमा दुई जनाको मृत्यु भएको छ । मनसुनका कारण इलाममा २ जनाले ज्यान गुमाएका छन् ।गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार ४०० जना विस्थापित बनेका छन् । प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको महाशाखाको भनाइ छ । नेपालमा असोज ३१ देखी पानी पार्ने प्रणाली सक्रिय भएको थियो ।

धनकुटामा पहिराले घर पुरिँदा छ जनाको मृत्यु
धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ । राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिराले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित छ जनाको घटनास्थलमै मृत्यु भएको र अरु छ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए ।

घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले जानकारी दिनुभयो ।

गम्भीर घाइतेसहित अन्य घाइते वर्ष ३३ का उषा श्रेष्ठ, वर्ष ११ का सञ्जाल श्रेष्ठ र वर्ष २८ का चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको उनले बताए ।घाइते हुनेमा भीमबहादुरको परिवारका सदस्य र आफन्त छन् । घाइतेको उद्धारका लागि लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा समस्या भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि उनीहरुलाई लैजाने तयारी भइहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार