• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

शुक्रबार देखि लाइसेन्सको नयाँ आवेदन खुल्ने : ट्रायल परीक्षा नयाँ प्रणालीअनुसार हुने, यस्ता छन् फेल हुने अवस्था हरू !


स्मार्ट लाइसेन्सको लागि यही साताको अन्तिमसम्ममा नयाँ आवदेन खुल्ने भएको छ। यातायात व्यवस्था विभागले झन्डै ६ महिनापछि नयाँ आवेदन खुलाउँदैछ। नयाँ
आवदेकहरूको ट्रायल परीक्षा नयाँ प्रणाली अनुसार हुने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए।‘नयाँ आवेदकहरूको लिखित र ट्रायल परीक्षा नयाँ प्रणालीअनुसार हुनेछ।

पुराना ट्रायल दिन बाँकीहरूको भने पुरानै प्रणाली अनुसार हुनेछ’, उनले भने।विभागले गत साउनदेखि लागू हुने योजनासँगै सवारी चालक अनुमति पत्रको परीक्षाका लागि नयाँ मापदण्ड व्यवस्था गरेको हो। तर यो कार्यन्वयन हुन सकेको थिएन। कात्तिक दोस्रो सातादेखि लाइसेन्सको लागि आवेदन दिने आवेदकहरू हकमा भने यो लागु हुँदैछ।प्रवक्ता डा. लोकनाथका अनुसार हाल देशभर झन्डै ४ लाखले ट्रायल परीक्षा दिन बाँकी छ। त्यसैले सुरुमा ट्रायल दिन बाँकी भएकाहरूको ट्रायल सकेर मात्रै नयाँ आवदेकहरूको लाइसेन्स लिने थप प्रक्रिया अघि बढ्नेछ।यस हिसाबमा काठमाडौंबाट लाइसेन्स निकाल्न परीक्षा दिने आवेदकहरूको परीक्षा पालो अबको ३ देखि ४ महिनापछि मात्रै आउँनेछ। काठमाडौं बाहिरी जिल्लामा भने नयाँ आवेदकहरूको लाइसेन्स लिने प्रक्रिया एक महिनाभित्रै सुरु हुनेछ। नयाँ प्रणालीअनुसार लाइसेन्स लिन चालकलाई सहज हुने बताइएको छ। आवेदन बुझाइसकेपछि दिइने लिखित परीक्षाको अवधि जम्मा ३० मिनेटको हुनेछ। जसको पूर्णांङ्क १०० हुनेछ।

लिखितमा पास भएको भोलिपल्ट अथवा तोकिएको मितीमा चालकले ट्रायलको लागि सम्बन्धित ट्रायल सेन्टर अथवा यातायात व्यवस्था कार्यालयमा उपस्थिती जनाउनुपर्ने हुन्छ। निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सकिनेछ। ट्रायल पास गरेसँगै सोही ठाउँबाट उसले परीक्षणकालिन लाइसेन्स प्राप्त गर्नेछ। जसको अवधि एक वर्षको हुनेछ। परीक्षणकालीन लाइसेन्सको अवधिभर यदि चालक पाँच पटकभन्दा बढी कारबाहीमा पर्छ भने उसले स्मार्ट लाइसेन्स पाउँदैन। र, लाइसेन्स लिने प्रक्रिया पुनः सुरुदेखि गर्नुपर्ने हुन्छ। एक वर्षको परीक्षणकालिन लाइसेन्सपछि भने चालकले चार वर्ष अवधिको स्मार्ट लाइसेन्स प्राप्त गर्नेछ। हाल विभागमा स्मार्ट लाइसेन्सको छपाइ रोकिएको छ। विभागका प्रवक्ता डा. लोकनाथका अनुसार स्मार्ट लाइसेन्स छपाइको काम पुषको पहिलो सातादेखि सुरु हुनेछ। छपाइसँगै लाइसेन्स वितरण पनि पुनः सुरु गरिनेछ।

पहिलेभन्दा सजिलै पास हुने नयाँ लाइसेन्स प्रणालीमा के-के छन् व्यवस्था ?
यातायात व्यवस्था विभागले गत साउनदेखि लागू हुने गरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि नयाँ मापदण्ड व्यवस्था गरेको थियो। तर अहिलेसम्म यातायात कार्यालयहरू पुरानै प्रणालीअनुसार लिखित तथा ट्रायल परीक्षा सञ्चालन गरिरहेका छन्। गत वैशाख १५ गतेदेखि कोभिड जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएको थियो। परीक्षा सञ्चालनमा आउँदा आवेदन दिइ बायोमेट्रिक गरिसकेका, लिखित परीक्षा दिइ ट्रायलमा संलग्न हुन बाँकी र एक पटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण गरी बसेकाका लागि पुरानै प्रणालीअनुसार हुने विभागले बताएको थियो।अब यही साताको अन्तिममा भने यातायात व्यवस्था विभागले नयाँ लाइसेन्सको आवेदन खुला गर्ने जनाएको छ। नयाँ आवेदन दिनेहरूका लागि भने नयाँ प्रणाली लागू हुने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिएका छन्।

नयाँ प्रणालीमा के व्यवस्था छ ?

निर्देशिकामा वर्ग ‘क’ (ए) मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स लिने सहज व्यवस्था गरिएको छ।
निर्देशिकाको दफा ५ (२) बमोजिम वर्ग (क/ट), (ए/के) र वर्ग ‘ख’ (बी) का लागि लिइने लिखित परीक्षाका लागि ५००/५०० वटा प्रश्नको दुइटा प्रश्न संग्रहसमेत विभागले सार्वजनिक गरेको छ।

यो व्यवस्थाअनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी १०० पूर्णांकको प्रश्न सोधिनेछ। यसमा चार/चार अंकका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन्।लिखित परीक्षाको अवधि ३० मिनेटको हुनेछ। सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाटसमेत लिखित परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था छ। निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन्।

यसअघि विभागले परीक्षार्थीले आफ्नै सवारी समेत प्रयोग गर्न सक्ने व्यवस्था गरेको थियो। तर यो व्यवस्था कार्यान्वयनमा नआउँदै संशोधन गरिएको छ। अब कार्यालयले तोकेका तथा उपलब्ध गराएका सवारी मात्र प्रयोग गर्न सकिन्छ। ट्रायलका लागि प्रयोग हुने मोटरसाइकल–स्कुटर पेट्रोलबाट चल्ने र कार, जिप, भ्यानहरू पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्नेछ। त्यस्तै सबै सवारी दर्ता प्रमाणपत्र अद्यावधिक भएको वा बहाल अवधि बाँकी रहेको तथा तेस्रो पक्ष बीमा भएको हुनुपर्नेछ।

प्रयोगात्मक परीक्षा १०० पूर्णांकको हुनेछ। यसको अंकभार यसप्रकार छः
घुमाउरो आठ– २० अंक।

साँघुरो फलेक– १० अंक।

युटर्न– १० अंक।

ट्राफिक संकेत– १५ अंक

बम्प्स (उबडखाबड)– १५ अंक।

उकालो– २० अंक।

परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन– १० अंक

यस्ता छन् ट्रायलमा अंक काटिने अवस्थाहरूः

घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्ने छ।

एक पटकसम्म खुट्टाले भुइँ टेकेमा थप ५ अंक घट्ने छ।

युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्ने छ।

ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्ने छ।

उबडखाबडमा एक पटकसम्म भुइँमा टेकेमा ५ अंक घट्ने छ।

एक पटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने छ।

सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण गर्नुपर्नेछ। यसो नगरे ३ अंक घट्नेछ।

हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ।

असंयमित भएर सवारी चलाए ३ अंक घट्नेछ।

फेल हुने अवस्थाहरूः

एक पटकभन्दा बढी भुइँमा टेके अर्थात् स्टार्ट बन्द भएमा।

एक पटकभन्दा बढी अंकित रेखा छोएमा वा खुट्टा भुइँमा टेकेमा।

ठीक दिशाबाट ठीक तरिकाले ८ नबनाएमा।

सवारीको स्टार्ट बन्द भएमा।

साँघुरो फलेकमा खुट्टाले भुइँ टेक्दा अर्थात् फलेकको लम्बाई पार गर्नु अगाडि नै सवारी फलेक बाहिर निस्किएमा।

उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अगाडि बढेमा वा रोकिएको अवस्थाबाट सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा।
उकालो सकेर ओरालो झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढे फेल भइनेछ।

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार