• २०८१ साउन ११ गते शुक्रवार
  • Preeti To Unicode

राजेन्द्र राईले मुख्यमन्त्रीको शपथग्रहण गर्दै, भागबण्डा पुर्‍याउन मन्त्रालय फुटाएर १४ पुर्‍याउने तयारी


विराटनगर पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई आज प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्दैछन् । एकीकृत समाजवादीको प्रदेश १
संसदीय दलका नेता राईले आजै दिउँसो शपथग्रहण गर्नेछन् ।सोमबार एमाले नेता भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएलगतै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले संविधानको

धारा १६८ को २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । सोमबार नै पाँच दलीय गठबन्धनका ४९ सांसदको हस्ताक्षरसहित राईले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । मंगलबार एक बजेसम्म दाबी पेस गर्ने समय भएका कारण त्यसपछि मात्रै शपथग्रहण गर्ने तयारी छ ।मुख्यमन्त्रीसँगै गठबन्धनको तर्फबाट केही सांसदले शपथग्रहण गर्नेछन् । नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सानो आकारको मन्त्रीमण्डल बन्ने बताए ।
मन्त्री बन्न हानथाप
प्रदेशमा मन्त्री बन्नका लागि माओवादी केन्द्र र नेपाली काङ्ग्रेसभित्र हानथाप छ । आज दुई पार्टीले दुई/दुई जना मन्त्री पठाउने तयारी गरेका छन् ।माओवादी केन्द्रबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँगै, झलकसिंह दर्लामी, रामकुमार राई, धिरेन्द्र शर्मा, उमिता विश्वकर्मा, कुसुम श्रेष्ठ मन्त्री बन्ने दौडमा छन् ।

नेपाली काङ्ग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहबीच हानथाप छ । कांग्रेसको तर्फबाट हिमाल कार्की र केदार कार्कीमध्ये एकको नेतृत्वमा सरकारमा जाने तयारी छ । देउवा समूहका संसदीय दलका उपनेता हिमाल कार्की पार्टीको नेतृत्व गर्दै मन्त्रिपरिषद्मा जाने सम्भावना बलियो रहेको एक सांसदले बताए ।प्रदेशमा मन्त्री बन्ने लाइनमा ओमप्रकाश सराबगी, प्रकाशप्रताप हाङ्गाम, विन्दिया कार्की, शेखरचन्द्र थापा अग्रपङ्तीमा छन् ।नेकपा एकीकृत समाजवादीबाट सरिता थापा, उपेन्द्र घिमिरे, खिनु लङ्वा लिम्बु मन्त्री बन्ने लाइनमा छन् । जसपा संसदीय दलका नेता जयराम यादव मन्त्री बन्ने सम्भावना छ ।संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे पनि मन्त्री बन्ने लाइनमा छिन् ।

मन्त्रालय फुटाउने तयारी
प्रदेश १ मा सातवटा मन्त्रालय छन् । पाँच दलीय गठबन्धनमा मन्त्रीको आकांक्षी धेरै भएपछि मन्त्रालय फुटाउने गृहकार्य पनि सुरु भएको छ । गठबन्धनका नेताहरू मन्त्रालय संख्या १० पुर्‍याउने तयारीमा छन् । आकांक्षी धेरै भएका कारण मन्त्रिपरिषद् संख्या बढीमा १४ पुर्‍याउने तयारी छ ।

माओवादी केन्द्र संसदीय दलका नेता आङ्बो मुख्यमन्त्रीको शपथ ग्रहणपछि थप विषयमा छलफल हुने बताउँछन् । नियुक्तिपछि गठबन्धनले भागबण्डा र अन्य विषयमा छलफल हुने उनले बताए ।प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री राजेन्द्र राईले अध्ययनपछि मन्त्रालय विभाजन गरिने बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार