• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

एमसीसी पास गर्छौं भनेर प्रचण्डजी र मैले सही गरेरै दिएका छौं : प्रधानमन्त्री देउवा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) सम्झौता पास गर्छौं भनेर आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल
दाहाल प्रचण्डले लेखेरै दिएको बताएका छन् ।जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायत गएका प्रधानमन्त्री देउवालाई एमसीसीकी डेपुटी सीईओले स्कटल्याण्डमा भेटेका थिए ।

बेलायत भ्रमणबाट बिहीबार स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग एमसीसी कहिलेसम्म पास हुन्छ भनेर चासो पाएको बताए ।आफूले सत्ता साझेदार दलहरुको बीचमा कुराकानी भइरहेको जानकारी गराएको भन्दै उनले भने, ‘छिटै पत्रकार सम्मेलन गरेर, उ गरेर पास गराउने कुरा छ । प्रचण्डजी र मैले त यतिभित्र पास गराउँछौं भनेर साइन (हस्ताक्षर) गरेरै पठाएका छौं ।देउवाका अनुसार एमसीसीकी डेपुटी सीईओले भने संसदको अधिवेशन किन अन्त्य गरेको त भनेर प्रश्न गरेकी थिइन् । त्यसले एमसीसी सम्झौता पारित गर्ने प्रक्रिया प्रभावित हुँदैन भनेर प्रश्न गरेपछि देउवाले भने, ‘केही अध्यादेश ल्याउनुपर्ने भएकाले रोकिएको हो । यसले असर पर्दैन भनेँ ।

पार्टीका मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही हुन्छः प्रचण्ड
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताएका छन् ।

बिहीवार नेकपा(माओवादी केन्द्र) मध्यपुर थिमि नगर कमिटीले नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने बताएका हुन् । उनले पार्टीमा जतिसुकै ठुलो पदको भएपनि राम्रो काम नगर्ने मन्त्रीको सन्दर्भमा कडा स्टेप चाल्ने बताए । उनले भने, ‘हाम्रा मन्त्रीहरुलाई जनताको पक्षमा काम नगरे जस्तोसुकै ठुलो पदको पार्टीको भएपनि हामी कडा स्टेप चाल्नेमा छौँ अहिले । तपाईँहरुको साथ भयो भने जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट हामी अगाडी बढेका छौँ ।’

अध्यक्ष प्रचण्डले देशी, विदेशी शक्तिहरु माओवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको बताए । माओवादीलाई चार टुक्रा बनाएर फुटाउँदापनि प्रचण्ड ज्यूँदै रहुञ्जेल माओवादी पार्टी झन जागेर आउने देखेर खासगरी प्रचण्डलाई नै तारो बनाउन खोजेको उनको भनाइ छ ।अध्यक्ष प्रचण्डले केही समयपछि माओवादी पार्टी एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गरे । माओवादी बलियो पार्टी भएन भने राष्ट्र दुर्घटनामा पर्ने खतरा रहेको उनले बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक १८ गते बिहिवार