• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति, शिक्षाध्यक्ष र निर्देशकलाई बर्खास्त गर्न सिफारिस


धरानआर्थिक अनियमिततामा मुछिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तीनजना पदाधिकारीलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष छानविन
समितिले सिफारिस गरेको छ।बीपीका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडा संयोजक रहेको छानविन समितिले शुक्रबार प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति समेत रहेका

शेरबहादुर देउवालाई सिफारिस गरिएको हो। बीपी प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले प्रतिष्ठानमा औषधि, उपकरण र भौतिक संरचना निर्माणमा करौडौं रुपैयाँ आर्थिक अनियमितिता गरेको समाचार अन्नपूर्ण पोष्टले प्रकाशित गरेको थियो।प्रतिष्ठानका पदाधिकारी भ्रष्टाचारमा संलग्न भएपछि प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरुले पदाधिकारी बर्खास्तीको माग गर्दै आन्दोलन थालेका थिए । आन्दोलनकारीहरुको माग सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री विरोध खतिवडाको संयोजकत्वमा धरानका मेयर तिलक राई र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल सदस्य रहेको छानविन समिति गठन गरेका थिए । छानविन समितिले प्रतिष्ठानमा आएर स्थालगत छानविन गरी शुक्रबार प्रतिवेदन बुझाइएको स्वास्थ्यमन्त्री खतिवडाले बताएका छन् । छानविन समितिले गरेको अनुसन्धान र पदाधिकारीसँग लिएको बयानका आधार मानेर प्रतिवेदन तयार पारिएको मन्त्री खतिवडाले बताएका छन् ।

वीपी प्रतिष्ठानका सिनेट सदस्य समेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा.गुरु खनाल र अस्पताल निर्देशक डा.गौरीशंकर साहले प्रतिष्ठान संचालन गर्न नसकेको र पदीय मर्यादा विपरित आर्थिक अनियमितता गरेको पाइएकाले कारबाही गर्न प्रतिवेदनमा सिफारिश गरिएको बताए । उनले राजीनामा दिएका प्रतिष्ठानका निवर्तमान रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले समेत पदीय मर्यादा विपरित प्रतिष्ठानमा आवश्यक सामग्री खरिद गर्दा आर्थिक अनियमितता गरेको पाइएकाले उनलाई पनि कारबाही गर्न सिफारिस गरेको बताए । मन्त्री खतिवडाले प्रतिष्ठानको सबैखाले बेथिति अन्त्य गरी यहाँका अयोग्य पदाधिकारीलाई कडा कारबाही गर्ने र प्रतिष्ठानको स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिष्ठानका पदाधिकारीले प्रतिष्ठान संचालन गर्न नसकेको र पदीय मर्यादा विपरित काम गरेको भन्दै प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्याल नेतृत्वको छानविन समितिले समेत उनीहरुलाई तत्काल कारबाही गर्न यस अगाडि नै सिफारिस गरेको थियो ।

सरकारले प्रतिष्ठानको ऐन २०४९ को परिच्छेद ४ को दफा ११ को घ अनुसार पदाधिकारी बर्खास्त गर्न प्रक्रिया अगाडि बढाइसकेको स्रोतले बताएको छ। बीपी प्रतिष्ठान शुद्धिकरण अभियानका सहसंयोजक डा. विष्णु पोखरेलले प्रतिष्ठानका विवादित पदाधिकारीलाई बर्खास्त गर्न छानविन समितिले प्रधानमन्त्रीलाई सिफारिस तत्काल कार्यान्यन गर्न र योग्य र सक्षम व्यक्तिलाई प्रतिष्ठानको पदाधिकारी नियुक्ति गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार