• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

कालापानी, लिपुलेक र लिम्पियाधुरामा स्याटलाइटबाट जनगणना


बिरादत्त भट्ट/ दार्चुला:नेपालको नयाँ नक्सामा समेटिएका भूगोल कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पर्ने दार्चुलाको ब्यास गाउँपालिका-१ कुटी, नाभी र गुञ्जीमा
स्याटलाइटबाट जनगणना हुने दाबी सरकारले गरिरहेको छ ।‘भारतीय अतिक्रमणको चपेटामा परेका’ ती गाउँमा जनगणना त परै जाओस् सोही वडाका तिंकर र छाङरूमा पनि जनगणना

सुरु हुन सकेको छैन ।कुटी, नाभी र गुञ्जीमा जनगणनाका लागि जिल्लालाई कुनै निर्देशन दिइएको छैन भने बाँकी गाउँमा जनगणनाका लागि गणक पुग्न सकेका छैनन् । नेपाली गाउँमा जान भारतीय बाटो प्रयोग गर्नुपर्ने भए पनि भारतीय प्रशासनले अनुमति दिएको छैन ।जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणनाबारे अनविज्ञता प्रकट गरे । यसबारे कुनै निर्देशन नआएको उनले बताए ।

राष्ट्रिय जनगणनाका लागि घरधुरी सूचीकृत गर्दासमेत कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका गाउँको घरधुरी सुचिकृत गरिएको छैन । ‘छाङरू-तिंकर भन्दा माथिल्लो क्षेत्रमा जाने अनुमति थिएन, घरधुरी सूचीकृत पनि त्यहाँभन्दा अगाडि गरिएको छैन,’ जनगणना अधिकारी पाण्डेले भने ।

जनगणना लक्षित गरी सीमा पुलमै निगरानीभारतको धार्चुला प्रवेश गर्ने दार्चुला सदरमुकामको सीमा पुलमा भारतीय एसएसबीले नेपाली कर्मचारी तथा नागरिकमाथि सुक्ष्म निगरानी बढाएको छ । नेपाली मिडियामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पर्ने गाउँमा जनगणना बारे चर्चा भइरहेकाले भारतीय सुरक्षा निकाय चनाखो बनेको हो ।

गत शुक्रबार भारतीय बाटो भएर ब्यास गाउँपालिका फर्केका शिक्षा शाखा प्रमुख केशबराज ओझाले धार्चुलाको सीमा पुलमा एसएसबीले केरकार गरेको बताए । नेपालमा २५ कात्तिकबाट जनगणना भइरहेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार