• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

चुनावमा कसैसँग गठबन्धन गर्ने सहमति भएको छैन : प्रधानमन्त्री देउवा


काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको बताएका छन्।आइतबार बसेको केन्द्रीय कार्यसमिति
को बैठकमा उठेका सवालहरुको जवाफ दिने क्रममा देउवाले सत्ता गठबन्धनमा आगामी चुनावमा सामेलहुने विषयमा कुनैसहमति नभएको स्पष्ट पारेका हुन्।उनले कांग्रेसले एक्लै चुनावमा

लड्न सक्ने बताए । ‘कसैसँग पनि गठबन्धन हुन्नँ । एक्लै लड्ने हो । गठबन्धन गर्ने भनेर कसैसँग कुनै सहमति भएको छैन,’ उनले भनेका छन् ।देउवाले गठबन्धन दलहरुबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने दोहोर्‍याएका छन् ।
प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो अधिवेशन स्थल
संघीय संविधान जारी भएको ६ वर्षसम्म पनि प्रदेश तहमा पार्टीको संरचना बनाउन नसकेको कांग्रेसले महाधिवेशनको मुखमा प्रदेश संयोजक तोकेको छ । अहिले तोकिएका प्रदेश संयोजकहरुको मुख्य जिम्मेवारी नै सम्बन्धित प्रदेशको अधिवेशन सम्पन्न गराउने हो ।

आइतबार बसेको बैठकले सातै प्रदेशमा अधिवेशन सम्पन्न गर्नका लागि संयोजक र अधिवेशन हुने स्थानको टुंगो लगाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले हरेक प्रदेशबाट नेतृत्व गर्ने वरिष्ठ केन्द्रीय सदस्यहरुलाई प्रदेश महाधिवेशन सम्पन्न गर्नका लागि संयोजकको जिम्मेवारी दिएको छ ।प्रदेश अधिवेशनको अध्यक्षता समेत ती नै संयोजकहरुले गर्नेछन् । बैठकले प्रदेश १ को अधिवेशन तयारी समितिको संयोजकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई तोकेको छ ।

त्यस्तै, प्रदेश–२ मा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाण, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदुरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडूलाई प्रदेश अधिवेशन सम्पन्न गर्न संयोजकको जिम्मेवारी दिएको छ ।सबै प्रदेशमा गठित अधिवेशन तयारी समितिमा त्यो प्रदेशका केन्द्रीय सदस्यहरु, संसदीय दलका नेता, सांसदहरु, जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिकाका प्रमुख/उपप्रमुखहरुलाई प्रदेश अधिवेशन आयोजक समितिको सदस्यको जिम्मेवारी दिएको छ ।

बैठकले प्रदेश अधिवेशन हुने स्थान समेत तोकेको छ । प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा गर्ने गरी स्थान तोकेको हो ।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार