• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमाले महाधिवेशन : सौराहाका सबै होटलमा चार दिन अन्य सबै कार्यक्रम स्थगित, महाधिवेशन प्रतिनिधिलाई ५० प्रतिशत छुट


चितवन । सौराहाका व्यवसायीहरुले नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरुलाई लक्षित गरी ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । एमालेको १० औं राष्ट्रिय
महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि स्थानीय व्यवसायीले छुटको घोषणा गरेका हुन्।नारायणगढस्थित नारायणी नदी किनारमा उदघाटन समारोह र सौराहामा बन्दसत्र गर्ने निर्णय

एमालेले गरिसकेको छ । यससँगै सौराहामा चहलपहल थप बढेको छ । एमाले नेताहरु दिनहुँजसो सौराहा आउने र जानकारी लिने गर्न थालेका छन् भने व्यवसायीहरु पनि आ–आफ्नो तयारीमा व्यस्त छन् ।एमाले महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि होटेल व्यवसायीहरुले मंसिर ९ गतेदेखि १३ गतेसम्म सौराहामा हुने गोष्ठी, विवाह, सेमिनार लगायतका अन्य सबै कार्यक्रमहरु स्थगित गरेका छन् ।एमालेले बुक गरेका होटलमा ५० प्रतिशतसम्म छुट दिइएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । बिहानको नास्ता र बेलुकाको खानाको दर र मेनु सबै होटलमा एकै प्रकारको गरिने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष भट्टराईले बताए ।होटलको स्तर अनुसार कोठालाई ए, बी र सी गरेर वर्गीकरण गरिएको छ । एमाले प्रतिनिधिहरुलाई बेलुकाको खाना र बिहानको नास्ता बसेकै होटलमा खुवाउने तय भएको छ । बिहानको खाना भने बन्दसत्र हुने होटलमा नै प्रवन्ध मिलाइएको छ ।सवारी साधन पार्किङका लागि दुई बिघा क्षेत्रफलमा व्यवस्थापन गरिँदैछ । होटलमा बास बस्नेलाई सवारी साधन त्यहीँ राख्न र हिँडेर बन्दसत्र स्थलसम्म जान भन्ने सूचना व्यवसायीहरुले दिने होटल सञ्चालक माधव दवाडीले बताए ।

चार दिन अन्य सबै कार्यक्रम स्थगित
एमाले महाधिवेशनको बन्द सत्र सौराहामा हुने भएपछि मंसिर ९ गतेदेखि १३ गतेसम्म सौराहामा हुने अन्य विभिन्न कार्यक्रम, गोष्ठी, विवाह, सेमिनारहरु रोकिएको क्षेत्रिय होटल संघका अध्यक्ष भट्टराईले बताए । हाम्रो सबै जनशक्ति नै यहीँ लाग्छ, अरु काम गर्न भ्याइन्न, अध्यक्ष भट्टराईले मंसिर ९ देखि १३ गतेसम्म कुनै अन्य कार्यक्रम नलिने भन्नेछ ।’कोभिड पछिको सौराहा खुल्ला भएपछि ‘घुमौ सौराहा’ अभियान चलाएर विभिन्न ठाउँमा आफूहरु जानुपर्नेमा देशभरका प्रतिनिधिहरु आउँदा आफूहरुलाई खुुसी लागेको उनको भनाइ छ ।

निकुञ्जमा समेत आन्तरिक पर्यटक बढ्ने आशा
पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकमा भर परेको सौराहा पर्यटकहरुका लागि चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र तथा सामुदायिक वन प्रवेश गर्ने मुख्य नाका पनि हो ।यहाँबाट मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा हात्ती सफारी चल्ने गरेको छ भने निकुञ्जमा जीप सफारी हुन्छ । एमालेको राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधि तथा समर्थकहरु जंगली सफारीमा जान यहाँबाट सजिलो हुन्छ । यहाँ ४५ भन्दा बढी निजी हात्ती छन् ।

निकुञ्जमा सौराहा क्षेत्रबाट ३२ जीप दैनिक जान्छन् । निकुञ्जले प्रतिजीप ५ हजार र प्रत्येक नेपाली पर्यटकसँग १५० रुपैयाँ शुल्क लिन्छ ।कोरोना भाइरसको महामारीका बीच गत आर्थिक बर्ष ९२ हजार २ सय ९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । तीमध्ये ८९ हजार ६ सय १ नेपाली थिए । निकुञ्ज सफारीमा जाने पर्यटकले वन क्षेत्रसँगै विभिन्न वन्यजन्तु, तालतलैया, चराचुरुङ्गी अवलोकन गर्न पाउँछन् । मुख्य रुपमा दुर्लभ एकसिंगे गैंडा, पाटे बाघ, भालु, घडियाल गोही अवलोकनका लागि पर्यटकहरु निकुञ्ज जाने गर्दछन् ।

प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार