• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

पदाधिकारीमा उम्मेदवार दिने महिला नेताहरुको तयारी


काठमाडौंनेकपा एमालेका महिला नेताहरुले पदाधिकारीको कम्तीमा एक तिहाइ संख्यामा उम्मेदवारी दिने तयारी गरेका छन्।चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनमा
पार्टी पदाधिकारीमा पनि समानुपातिक सहभागिता हुनेगरी उम्मेदवारी दिने तयारी गरेका हुन्।केन्द्रीय, स्थायी र पदाधिकारी पनि समावेशी हुुनपर्ने र त्यसका लागि महिला प्रतिस्पर्धामा आउने

गरी छलफल भइरहेको केन्द्रीय सदस्य रचना खड्काले बताइन् । उनका अनुसार पार्टी पदाधिकारीमा कसरी उम्मेदवारी दिने भन्नेबारे बिहीबार पनि परामर्श भएको छ ।एमालेको १५ पदाधिकारीमध्ये कम्तीमा पाँच पदमा महिला उम्मेदवार हुने गरी तयारी भइरहेको नेताहरुले बताएका छन् । पार्टीका शीर्ष नेताहरुले केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सहभागिता हुने भए पनि त्यही नियम स्थायी कमिटी, पदाधिकारी र सचिवालयमा लागू नहुने बताइरहेका छन् ।

तर महिला नेताहरुको तयारी अनुसार अष्टलक्ष्मी शाक्य र राधा ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी दिनेछन् । उपमहासचिवमा विन्दा पाण्डेले र सचिवमा पद्‍मा अर्याल र शिवमाया तुम्बाहाङ्फेले उम्मेदवारी दिनेछन् । मंसिर १० देखि १२ गतेसम्म हुने १० औं महाधिवेशनबाट एमालेले सात सचिव निर्वाचित गर्नेछ ।

एमालेका महिला नेताहरुले संविधानको भावना र प्रावधान पार्टीको माथिल्लो पंक्तिमा पनि लागू हुनुपर्ने तर्क गरिरहेका छन् । राजनीतिक दल सम्बन्धी ऐनले दलका सबै तहका समितिमा समानुपातिक र समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ ।

ऐनको यही व्यवस्था टेकेर महिला नेताहरु पदाधिकारीमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । एमालेमा पदाधिकारीका आकांक्षीको समीकरण मिलाउनुपर्ने र पदाधिकारीको चयन सहमतिका आधारमा गर्नुपर्ने छलफल भइरहेका बेला महिला नेताहरुले यो तयारी थालेका हुन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २ गते बिहिवार