• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

देउवा र प्रचण्डलाई निम्तो छ, माधव नेपाललाई छैन


नेकपा (एमाले)का पार्टी कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीको १० औं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो दिइसकिएको बताएका छन् ।नेता तामाङले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डलाई महाधिवेशनमा निम्तो दिइए पनि नेकपा एकीकृत समाजवादीका

अध्यक्ष माधवकुमार नेपाललाई भने निम्ता नपठाइएको बताए । शनिबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै तामाङले भने, ‘हामीले प्रधानमन्त्रीलाई अतिथिको रुपमा निम्तो गरेका छौं । उहाँले आउँछु भन्नुभएको छ । अरु राष्ट्रिय दलका नेताहरुलाई निम्तो गरेका छौं ।’नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भने निम्तो गरिएको र उनी आउने वा नआउने भनेर सन्देश पर्खिरहेको पनि तामाङले सुनाए । तर उनले दाहाल महाधिवेशनमा आउने विश्वास दिलाए ।

नेता तामाङले माधव नेपाल नेतृत्वको पार्टीलाई भने महाधिवेशनमा निम्ता नदिइएको बताए । उनले भने, ‘माधव नेपालको पार्टीलाई भने बोलाएका छैनौं । हाम्रो यसमा प्रष्टै धारणा छ–माधव नेपालको पार्टी गठनको प्रक्रियाप्रति हाम्रो असहमति छ । अलग दल बनाउन पाइन्छ, तर एमालेको विभाजनको लागि जुन हर्कत गरियो, त्यो विधिप्रति हाम्रो असहमति छ । माधव नेपालहरू पार्टी निर्माण गर्ने प्रक्रियामा हुनुहुन्छ । अर्को निर्वाचनपछि कस्तो बन्ला ? वा बन्छ कि बन्दैन, त्यो हेर्न बाँकी छ । हाल उहाँहरुलाई हाम्रो महाधिवेशनमा निम्तो गर्दैनौं ।

एमाले महाधिवेशन : पाँचथरबाट आठ प्रतिनिधि चयन

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि पाँचथरबाट आठ जना प्रतिनिधि चयन भएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले पाँचथरबाट प्रतिनिधि छानिएका हुन् । ​खुलातर्फ राजकुमार भण्डारी, बसन्तकुमार नेम्वाङ, श्रीप्रसाद जवेगु, भुवनीप्रसाद लिङ्देन र धनकुमार फियाक चयन भएका छन् ।

महिलातर्फ आशारत्न जवेगु र सीता आचार्य तथा दलिततर्फ नारायण खाती चयन भएका छन् ।यता, एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन् । जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौडेल छन् । त्यस्तै, महिलातर्फ सीता अधिकारी र बालुका बेल्बासे चयन भएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार