• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

बाबा रामदेवलाई पर्यटन मन्त्री आलेको बिन्तीपत्र !


काठमाडौं सरकारले नेपालको आध्यात्मिक र योगका माध्यमबाट पर्यटन प्रवर्द्धन गरिदिन भारतीय योगगुरु रामदेवसमक्ष प्रस्ताव गरेको छ । आइतबार पशुपतिनाथ क्षेत्रमा
आयोजित योग शिविरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रामदेवलाई ब्राण्ड एम्बेस्डर बन्ने प्रस्तावसहितको पत्र बुझाएका छन् ।जवाफमा रामदेवले मन्त्रालयको

प्रस्तावलाई गम्भीरतापूर्वक लिएर निर्णय लिने बताए । उनले पतञ्जलीले गर्न सक्ने सहयोगबारे नेपाल सरकारसँग कार्ययोजना पनि मागेका छन् । रामदेवसँग मिलेर नेपालको पर्यटन प्रवद्र्धन गर्न चाहेको पर्यटन बोर्डले जनाएको छ ।
रामायण सर्किट चर्चामै सीमित
पर्यटन मन्त्रालय तथा पर्यटन बोर्डका अधिकारीहरुले तत्कालको चर्चाका लागि मात्र रामदेवलाई यस्तो प्रस्ताव गरिएको टिप्पणी गर्छन् ।विगतमा पनि चर्चाका लागि यस्ता धेरै परियोजना घोषणा गरिएको तर अलपत्र पारिएको उनीहरुको भनाइ छ । सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउँदा रामायण सर्किटको शुभारम्भ गरेका थिए ।तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको उपस्थितिमा एक–अर्का मुलुकमा पर्यटक आगमन संख्या बढाउन र तीर्थ यात्रुलाई सुविधा दिन अयोध्या र जनकपुरलाई जोड्ने गरी बस सेवा शुरु गरिएको थियो । हाल बससेवा बन्द भइसकेको छ र रामायण सर्किट चर्चामै सीमित भयो ।

नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७७/७८ को बजेटमा नेपालको पर्सामा ‘रामायण पथ’ खोज्ने भन्दै ७ लाख रुपैयाँ बजेट छुट्याएको थियो । यो बजेट तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले रामायणको रामचन्द्र नेपालमा जन्मिएको र त्यो ठाउँ पर्साको ठोरीमा रहेको बताएपछि अध्ययन गर्न छुट्याइएको हो ।बोर्डका एक उच्च अधिकारीका अनुसार त्यहाँ प्रारम्भिक अध्ययन पनि भएको थियो । तर तथ्यलाई प्रमाणित गर्न सक्ने कुनै आधार नदेखिएपछि यो कार्यक्रम पनि अगाडि बढाइएन ।

बुद्धिष्ट सर्किट पनि त्यस्तै
आर्थिक वर्ष २०७२/७३ को बजेटमा सरकारले बुद्धिष्ट सर्किटका लागि प्रारम्भिक काम थाल्ने उल्लेख गरेको थियो । पर्यटक आगमन प्रभावित हुने अवस्थाका बीच धार्मिक पर्यटक तान्न यो अवधारणा ल्याइएको नेपाल पर्यटन बोर्डका तत्कालिन सदस्य राजेन्द्र सापकोटा बताउँछन् । ‘युरोप र अमेरिकाबाट पर्यटक आउन समय लाग्ने अवस्थामा नेपाल र भारतकै पर्यटकको एक्सचेन्जबाट पनि पर्यटन चलायमान बनाउन सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको थियो,’ उनले भने ।

त्यसो त २०७५ सालमै बृहत बुद्ध सर्किटको खाका सरकारी स्तरबाटै तयारसमेत पारिएको थियो । यसमा भने नेपालभित्र बुद्धसँग सम्बन्धित क्षेत्रलाई समेटिएको थियो ।तर, भारतसँगको सर्किटको उद्देश्य भने बुद्धसँग सम्बन्धित गन्तव्यको भ्रमणका लागि एक अर्का मुलुकमा आएका पर्यटकलाई नेपाल र भारतका दुबै गन्तव्यसम्म पुर्‍याउने थियो । तर, यस्तो अभियान निजी क्षेत्रका व्यवसायीबाट प्याकेजमा केही काम भए पनि परिणाम देखिने गरि कुनै काम हुन सकेको छैन ।

शिवशक्ति सर्किटमा डेढ करोड खर्च, उपलब्धि शून्य
नेपाल भ्रमण वर्ष २०२० अभियान कोरोना भाइरसको महामारीका कारण शुरुआतमै प्रभावित भयो । भ्रमण वर्ष सचिवालयले धार्मिक पर्यटक आकर्षित गर्ने भन्दै शिवशक्ति सर्किटको अवधारणामा काम गरेको थियो ।महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षण अनुसार शिवशक्ति सर्किटसहितका प्रवर्द्धनात्मक सामग्री बनाउन तत्कालिन भ्रमण वर्ष सचिवालयले १ करोड ४९ लाख ६ हजार रुपैयाँ खर्च गरेको थियो ।

तर, अहिले यस्तो कुनै पनि सर्किट अस्तित्वमा छैन । नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुसार भ्रमण वर्षमा धार्मिक पर्यटक भित्र्याउन यस्तो अभियान सुरु गरिए पनि कोरोना महामारीका कारण प्रभावित बनेको हो । त्यसपछि यो अभियान पनि सुस्तायो ।

योगी सदगुरुसँग पनि प्रस्ताव
रामदेवअघि यसै वर्ष नेपाल आएका अर्का प्रख्यात योगी सदगुरुसँग समेत नेपाल पर्यटन बोर्डले सहकार्यको प्रस्ताव राखेको थियो । गत भदौमा काठमाडौंमा आयोजित अनौपचारिक कार्यक्रममा सदगुरुले धार्मिक पर्यटनको योजनावद्ध विकासमा लाग्न नेपाललाई सुझाव दिएका थिए ।

उनले नेपालका मौलिक कला र संस्कृति जोगाउन सुझाव दिँदै सोही माध्यमबाट पर्यटक आकर्षित गर्न समेत सुझाव दिएका थिए । यस पटक पनि रामदेवले पतञ्जलीका माध्यमबाट नेपालमा के गर्न सकिन्छ भन्नेबारे कार्ययोजना ल्याउन सुझाव दिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार