• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

रामदेवका गुरु रहस्यमय तरिकाले गायब


कुनैसमय थोत्रो साइकलमा च्यवनप्रासको व्यापार गर्ने बाबा रामदेव अहिले अर्बौँको सम्पत्तिका मालिक छन्।पतञ्जलि कम्पनीमार्फत उनले घरका भान्छा–भान्छामा उपभोग्य
वस्तु पठाइरहेका छन् । यतिमात्र होइन, उनले भर्खरै नेपालमा दुई टेलिभिजन ‘आस्था’ र ‘पतञ्जलि नेपाल’ खोलेका छन् । दर्ता नै नगरी दुई टेलिभिजनको उद्घाटन गरेको भन्दै उनी

विवादमा तानिएका छन् । यद्यपि, रामदेव विवादमा मुछिएको यो पहिलोपटक भने होइन ।
बाबा रामदेवका गुरु र दिव्य योग मन्दिर ट्रस्टका मालिक स्वामी शंकरदेव १४ जुलाई २००७ मा हरिद्वारको कनखल आश्रमबाट रहस्यमय तरिकाले गायब भएका थिए ।
यसपछि १६ जुलाईमा दिव्य योग मन्दिर ट्रस्टले पुलिसमा उजुरी दर्ता गराएको थियो । तर, वर्षौँसम्म चलेको जाँचको नतिजा आएन । र, अन्ततः सन् २०१२ मा फाइल बन्द गरियो । आजसम्म उनको कुनै अत्तोपत्तो छैन । यद्यपि, यस दौरान बाबा रामदेव आफैले दिव्य योग मन्दिर ट्रस्टको सर्वेसर्वा हुन आफ्ना गुरु स्वामी शंकरदेवलाई कहीँ कतै गायब गरिदिएको चर्चासम्म चलेको थियो । उनी गायब भएपछि दिव्य योग मन्दिर ट्रस्टको सर्वेसर्वा रामदेव आफै भए ।
२००८ मा डाक्टरमाथि टिप्पणी
बाबाले सन् २००८ मा आधुनिक चिकित्साको अभ्यास गर्ने डाक्टरहरुविरुद्ध टिप्पणी गरेका थिए । उनले डाक्टरहरू रोगका प्रचारक भएको भन्दै तिखो शब्द प्रहार गरे । यसको निकै ठुलो आलोचना भयो ।

कालोधनलाई लिएर दिल्लीमा धर्ना
उनले सन् २०११ मा कालो धनलाई लिएर भारतमा धर्ना सुरु गरे । त्यसयता बाबा रामदेवसँग नयाँ–नयाँ विवाद जोडिएका छन् । दिल्लीको रामलिला मैदानमा ४ जुन २०११ मा हजारौँ समर्थकको भीडलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘यदि तपाईले मेरो नाममा एक इन्च पनि जमिन या एक पैसा पनि बैङ्क खातामा देख्नुभयो भने तपाईले जे भन्नुहुन्छ, म त्यो गर्नका लागि तयार छु ।’तर, केही दिनपछि करिब साढे दुई लाख भारु प्रतिघण्टाको भाडा तिरेर उनले विमान चार्टर्ड गरे, त्यस विमानमार्फत दिल्लीमा उत्रिए । त्यतिबेला बाबा रामदेवको आर्थिक पारदर्शिताबारे नै प्रश्न उठेको थियो ।

बालकृष्णको नक्कली पासपोर्ट काण्ड
बालकृष्णको फर्जी पासपोर्ट काण्डले बाबा रामदेवको इज्जतमै कालो पोतेको थियो । बाबाका खास सहयोगी रहेका बालकृष्णमाथि नक्कली डिग्री बनाएको आरोपसमेत लाग्यो । फर्जी पासपोर्ट मामिलामा अदालतले १२ जुलाई २०१२ मा आचार्य बालकृष्णविरुद्ध गैर जमानती वारेन्ट जारी गरिदिएको थियो । त्यही दिन सीबीआईले आचार्य बालकृष्णलाई हरिद्वारबाट पक्राउ गर्‍यो ।
यस मामिलामा रामदेवलाई लिएर पनि तमाम सवाल खडा हुन थाले । त्यससँगै देशभर नै बाबा रामदेवको विश्वसनीयता निकै घट्यो ।

गान्धी परिवारमाथि टिप्पणी
रामदेव भाजपा समर्थक हुन् भन्ने सबैलाई थाहा छ । सन् २०१३ मा बाबा रामदेवले एक र्‍यालीका दौरान आफ्नो भाषणमा एक ठुलो बयान दिएका थिए । त्यस दौरान रामदेवले भनेका थिए, ‘टोली लगाउनेले भारत माताको जय बोल्दैन ।’यसपछि बाबाविरुद्ध देशभर प्रदर्शन भयो । मानिसहरूले उनको ठुलो आलोचना गरे । त्यस्तै, बाबा रामदेवले राहुल गान्धी र सोनिया गान्धीमाथि पनि व्यक्तिगत र आपत्तिजनक टिप्पणी गरे ।परिणामस्वरुप, काँग्रेस शासित राज्यहरूमा बाबाविरुद्ध एफआईआर दर्ता भयो । त्यस्तै, काँग्रेस पार्टीका कार्यकर्ताले रामदेवविरुद्ध जमेर प्रदर्शन गरे ।

एकै दिन रामदेवविरुद्ध ८१ मुद्दा दर्ता
सन् २०१३ मा उत्तराखण्डका तत्कालीन मुख्यमन्त्री विजय बहुगुणाले बाबा रामदेवविरुद्ध मोर्चा खोलेका थिए । सरकारले उनका सबै पुराना फाइल निकालेको थियो । त्यस्तै, नोभेम्बर २०१३ मा एक झट्कामै उनी आबद्ध संस्थाहरूमाथि ८१ मुद्दा दर्ता गरिएको थियो ।यतिमात्रै होइन, एक महिनाभित्रै बाबा रामदेवमाथि ९९ मुद्दा दर्ता गरिएको थियो । रामदेवको पतञ्जलि योगपिठ ट्रस्टमा हरिद्वारका बेनामी सम्पत्ति, सरकारी जमिनमाथि कब्जा र सरकारी भूमिमाथि दुरुपयोगको मामिलामा यो मुद्दा दर्ता गरेको थियो ।

यसमध्ये १० करोडभन्दा धेरै राजश्व छलीका ५२ मुद्दा समावेश छन् । यससँगै ग्रामसभाको भूमि कब्जा सम्बन्धी दुई मामिलामा पनि मुद्दा दर्ता गरिएको थियो । यसपछि देश दुनियाँमा बाबा रामदेवको निकै बेइज्जत भयो । धेरै खाले सवाल उठे ।

दिव्य पत्रजीवक बीजलाई लिएर विवाद
सन् २०१५ मा राज्यसभाको कारबाहीका दौरान विपक्षी दलहरूले संसद् भवनमा बाबा रामदेवद्वारा फार्मेसीमा निर्मित ‘दिव्य पुत्रजीवक बीज’ लाई लिएर हंगामा सुरु गरेका थिए ।​ यतिमात्रै होइन, केही सांसदले ‘पुत्रजीवक बीज’का प्याकेट संसद्लाई देखाउँदै यस्तो सामग्री बेच्नु अवैध र असंवैधानिक रहेको जनाएका थिए । सो उत्पादनमाथि प्रतिबन्ध लगाउन तथा उत्पादकहरुविरुद्ध कारबाही गर्नुपर्ने माग उठेको थियो । यसपछि ‘दिव्य पुत्रजैविक बीज’ लाई लिएर ठूलै विवाद भएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार