• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

ओलीका ६ सन्देश : चोलेन्द्रको बचाउ, प्रचण्ड–माधवको आलोचना, पूर्वसमूहलाई झड्का


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सम्मुखमा महाधिवेशनबारे मंगलबार काठमाडौंका सम्पादकहरुसँग खुल्ला अन्तरक्रिया गरे
। पार्टीको स्थायी कमिटी बैठक केही समयका लागि रोकेर अन्तरक्रियामा सहभागी भएका ओलीले मूलतः ६ वटा सन्देश दिए । अन्तरक्रियामा समसामयिक राजनीतिदेखि महाधिवेशनको

प्रक्रिया, अदालतमा भइरहेको आन्दोलन, एमालेबाट छुटेका माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेतलाई जोडेर केही ठट्टा, केही चर्चा र केही आलोचना गर्न भ्याए ।
केपी ओलीले दिएका ६ वटा सन्देशहरू यस्ता छन्:
१. अध्यक्षमा ठट्टा:अन्तरक्रियामा अध्यक्ष ओलीले दशौं महाधिवेशनमा आफू अध्यक्षमा उठ्ने–नउठ्ने कुनै निर्णय गरिनसकेको जवाफ दिए । प्रायः ठट्टा गर्न रुचाउने ओलीले सम्पादकहरुसँगको अन्तरक्रियामा पनि आफ्नो उम्मेदवारीबारे सोही शैली अपनाए ।‘म कसैलाई नउठे हुन्थ्यो भन्दिनँ, दबाव पनि दिन्नँ । मैले आफूले पनि उठ्ने, नउठ्ने निर्णय गरिसकेको छैन । भोलि निर्णय गरें भने अर्कै कुरा’, ओलीको भनाइ छ । ओलीले यसो भने पनि उनी अध्यक्ष पदमा नउठ्ने भन्ने अर्थमा भने होइन । यो उनको ठट्यौलो अभिव्यक्ति मात्रै हो, उनी अध्यक्षमा उठ्छन् भन्ने नै ठोकुवा गर्न सकिन्छ ।उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेर आफूलाई चुनौति दिएको भन्ने शब्दावलीलाई पनि ओलीले खण्डन गरेका छन् । उनले भने, ‘रावलजीले चुनौती दिनुभएको छैन । उहाँले अध्यक्षमा म उठ्छु भन्नुभएको छ र मलाई सहयोग गर्नुस् भन्नुभएको छ । यो स्नेहपूर्ण सुझावबाट प्रभावित भएको छु ।’वरिष्ठ उपाध्यक्षमा धेरै आकांक्षी भएकाले तपाईको साथ कसलाई रहन्छ भन्ने प्रश्नमा पनि ओलीले ठट्यौली पारामै उत्तर दिए । ‘मैले मन पराएको वरिष्ठ उपाध्यक्ष जो निर्विरोध निर्वाचित हुन्छ या प्रतिस्पर्धामा धेरै भोट ल्याउँछ, त्यही हुन्छ’ ओलीको जवाफ छ ।

२. महाधिवेशनको प्रक्रिया: अध्यक्ष ओली यसपटकको महाधिवेशन सहमतिका आधारमा गर्न चाहान्छन् । उनका विगतका अभिव्यक्ति सहमतिकै पक्षमा छन् । तर, मंगलबार भने उनले अलि फरक धारणा सुनाए । ‘भरसक कर लगाएर उठिदिनुस् भन्न परोस्, कामको मूल्यांकनका आधारमा तपाईं बसिदिनुस् भन्न परोस्, भएन भने चुनाव हुनु राम्रो’, महाधिवेशन प्रतिस्पर्धामा हुन्छ या सहमतिका आधारमा भन्ने प्रश्नमा ओलीले भने ।उनले सहमतिका लागि आफूले कुनै नेतालाई दबावसमेत नदिने दावी गरे । ‘दबाब दिन्नँ, लोकतन्त्र हो भनेर उकास्नुपर्छ भन्ने नीति पनि लिन्नँ’, ओलीको भनाइ छ ।
३. पूर्वसमूहको व्यवस्थापन: एमाले महाधिवेशनमा नेतृत्वका आकांक्षी बढेपछि व्यवस्थापनको सकस छ । खासगरी पूर्वमाओवादी समुह, १० बुँदे पक्षधर र ओली पक्षकै नेताहरु एउटै पदमा आकांक्षी बन्दा कसलाई कुन पदमा व्यवस्थापन गर्ने सकस छ ।

यस्तोमा कतिपय एमाले नेताहरुले नै केही नेताहरुको व्यवस्थापनका लागि निश्चित पदमा सहमति जुटाएर अन्यमा प्रतिस्पर्धा गर्न सकिने अभिव्यक्ति दिइरहेका छन् ।तर, ओलीले यी सवै पृष्ठभूमिलाई मध्यनजर गर्दै एमालेमा अहिले एउटै पक्ष मात्र रहेको दाबी गरे । भने ‘यो पक्ष, त्यो पक्षको व्यवस्थापन भन्ने छैन । चुनाव लडेर भोट ल्याउनुपर्छ, त्यही हो व्यवस्थापन । अहिलेको व्यवस्थापन भन्ने नै चुनाव लडेर भोट ल्याउनुपर्छ । जुन पदमा भोट ल्याएर जित्छ, त्यही हो व्यवस्थापन ।’ओलीले पूर्वमाओवादी समूह र एमालेकै १० बुँदे पक्षधर नेताप्रति संकेत गर्दै उनीहरुले पनि भोट ल्याएर जित्नुपर्ने सन्देश दिएका छन् । । यसको पक्षबाट यतिजना भनेर सचिवालय, स्थायी कमिटी पनि नबन्ने उनले बताए । उनले भने, ‘हामी एउटा पक्षकारुपमा अन्तरघुलित भएर अघि बढ्छौं ।’

४. चोलेन्द्रको राजीनामा क्यान्सरको रोगीलाई कुखुराको अण्डा : अध्यक्ष ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध भइरहेको नेपाल बार एसोसिएसनको आन्दोलनप्रति पनि कटाक्ष गर्न भ्याए । प्रधानन्यायाधीशको राजीनामाका लागि वकिलहरुले गरेको आन्दोलनलाई उनले क्यान्सरको रोगीलाई कुखुराको अण्डा मन्साएर पार्छु भनेजस्तै भएको टिप्पणी गरे ।​ओलीले भने, ‘अहिले सर्वोच्च अदालत प्राङ्गणमा जे भइरहेको छ त्यो दुखद् छ । उहाँहरुप्रति यत्रो प्रश्न उठिसकेपछि, सेटिङमा सहमत भएर फैसला गरेको देखिएपछि उहाँहरुले त राजीनामा गर्नुपर्ने हो । अनि लागेको क्यान्सर छ, कुखुराको अण्डा मन्साउने ? कुखुराको अण्डा मन्साएर क्यान्सर निको हुन्छ ?’

५. प्रचण्डलाई चुनौति– झापामा महाधिवेशन गर्नोस्: माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र रहेको चितवनमा एमालेले महाधिवेशन गरेर प्रचण्डलाई चुनौति दिएको भन्ने टिप्पणी भइरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सोहीरुपमा बुझ्दै आफूलाई र माओवादी सिध्याउन एमाले चितवन झरेको बताएका थिए । यही प्रशंगमा ओलीले प्रचण्डलाई झापामा माओवादी केन्द्रको महाधिवेशन गरेर देखाउन चुनौति दिए ।‘चुनाव लड्यो भन्दैमा जिल्ला पुरै (आफ्नो) हुँदैन । उहाँ (प्रचण्ड) रोल्पाबाट लड्नुभयो रोल्पामा नगर्ने ? काठमाडौंबाट लड्नुभयो, काठमाडौंमा नगर्ने ? सिराहाबाट लड्नुभयो त्यहाँ नगर्ने ? झापामा आएर पार्टीको महाधिवेशन गर्नुहोस्, जिल्ला खाली छ’, ओलीको प्रचण्डलाई चुनौती छ ।

ठट्टाको शैलीमा ओलीले प्रचण्डले आफूलाई नभएर सीपी मैनालीलाई भनेको हुन सक्ने बताए । ‘हामीलाई होइन, सीपी मैनालीलाई भन्नुभएको होला’, ओलीको भनाइ छ । सीपी मैनालीको नेतृत्वमा हालै चितवनमा नेकपा मालेको महाधिवेशन भएको थियो ।

६. माधव नेपाललाई निम्तो नदिने कारण: एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई महाधिवेशनमा अतिथिका रुपमा नबोलाउनुको कारण पनि खुलाए । ‘माधव नेपालले नेतृत्व गरेको निष्कासित व्यक्तिहरूको गुटलाई पार्टी भनेर मान्न सक्ने स्थिति रहेन’, ओलीले भने ‘पार्टी नै होइन भने पार्टी भनेर निम्ता गर्ने स्थिति रहन्न । तर, व्यक्ति छानेर निमन्त्रणा गरेका छैनौं ।’माधव नेपालको प्रशंगमा ओलीले आफ्नो सरकार ढाल्न र विपक्षीको सरकार बनाउने गतिविधिमा लागेको भन्दै त्यस्ताखालका गतिविधि लोकतन्त्रमा नसुहाउने टिप्पणी गरे ।
स्रोत : रातोपाटी।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार