• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

जनकपुर जानुपर्ने जहाज जब पोखरा पुग्यो …..


२०७७ पुस ४गते बुद्ध एयरको उडान नम्बर ६०७ नम्बरको जहाज नियमित उडानमार्फत यात्रु बोकेर जनकपुरतर्फ उड्यो।तर,जहाज सो दिन जनकपुर नगएरपोखरातर्फ
हान्नियो । जनकपुर गन्तव्य भएका यात्रुहरूले तब आफूहरू पोखरा आइपुगेको चाल पाए, जब विमान परिचारिका (एअरहोस्टेस)ले‘अहिले हामी पोखरा विमानस्थलमा अवतरण गरेका छौ।

बाहिरको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ,’ भनिन् । जहाजमै होहल्ला मच्चियो, तत्काल एयरहोस्टले चालकदललाई यात्रुले गरेको विरोधबारे जानकारी गराइन् । तब, तत्काल पोखराबाट जनकपुर सीधा उडान अनुमति मागियो र जहाज जनकपुर हानियो ।यस घटनामा भएको के थियो भने, जहाजको गन्तव्य पोखरा नै थियो । तर, बुद्ध एअरले सो जहाजमा जनकपुर जाने यात्रुलाई राखिदियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुद्धकै ग्राउन्ड ह्यान्डलिङका कर्मचारीको लापरबाहीका कारण जनकपुर जानुपर्ने यात्रुलाई पोखराको जहाजमा चढाइएको थियो ।
जब जहाज र बँदेल जुधे
अर्को घटना तारा एयर र बँदेलको हो । गत जेठ २६ गते नेपालगञ्जबाट १४ यात्रुसहित ९० किलोग्राम कार्गो (सामान) बोकेर तारा एयरको जहाज हुम्लाको सिमीकोटतर्फ उड्दै थियो । उड्ने क्रममा धावनमार्ग (रन–वे) मा जहाज बँदेलसँग ठोकिन पुग्यो । जहाज पूर्ण रूपमा ग्राउन्डेड भयो । यो घटनालाई लिएर सबैले हाँसोमजाक गरे । विमानस्थल सुरक्षामा भएको यस्तो लापरबाहीलाई लिएर सामाजिक सञ्जालमा धेरैले सरकारमाथि व्यंग्य कसे । ‘बँदेललाई उद्दार गरी उपचारका लागि हस्पिटल पठाउने व्यवस्था गरियोस् सरकार’ भन्नसम्म भ्याए ।

चक्का नखुलेपछि जहाज आकाशमै फनफनी
बुद्ध एयरको ९ एनएएनआई एटीआर कल साइन जहाज गत असोज ११ गते काठमाडौंबाट विराटनगरतर्फ उड्दै थियो । विराटनगर विमानस्थल नजिकिँदै गर्दा पाइलटले जहाजको पाङ्ग्रा (ल्यान्डिङ गियर) खोल्न स्वीच अन गरे । तर, इन्डिकेटर (संकेत गर्ने लाइट) ले पाङ्ग्रा खुलेको संकेत नै गरेन ।ल्यान्डिङ गियरमा समस्या देखिएपछि पाइलटले पुनः जहाज काठमाडौँ नै फर्काए । काठमाडौंको आकाशमा पनि पाइलटले पाङ्ग्रा खोल्न स्वीच अन गरे । अझै पाङ्ग्रा खुलेको संकेत इन्डिकेटरले गरेन । पाइलटले जहाजलाई आकाशमै १०–१२ फन्का घुमाइरहे ।

अब त अति भयो भनेर पाइलटले ‘मेरो जहाजको पाङ्ग्रा खुले÷नखुलेको हेरिदेऊ न!’ भनी विमानस्थलसँग हारगुहार मागे । जहाजको पाङ्ग्रा खुलेको रहेछ, पाइलटले अवतरण गराए । जहाजमा भएका सबै यात्रुहरू निकै आत्तिएका थिए । जहाज अवतरण नहुँदै हल्ला चारैतिर फैलिसकेको थियो । विमानस्थलमा सुरक्षाकर्मीहरू तैनाथ गरिसकिएको थियो । धन्न ! कुनै अप्रिय घटना घटेन ।भएको के रहेछ भने, जहाज विराटनगर पुगेर ल्यान्ड गर्ने बेला पाइलटले ल्यान्डिङ गियर खुलेको÷नखुलेको थाहा नै पाएनछन् । प्राविधिक समस्याका कारण इन्डिकेटरले जहाजको अघिल्लो पाङ्ग्रा खुलेको या नखुलेको केही पनि संकेत नदिएपछि पाइलट अलमलमा परे । खासमा पाङ्ग्रा खुलेको रहेछ ।यद्यपि, घटनामा चालकलाई नै दोषी देखाइयो । अहिले पनि यो घटना अध्ययनकै विषय छ । तर, घटना निकै रोचक र चर्चाको विषय बन्यो ।

ड्यूटी सकिएको भन्दै रुकुम पुग्ने यात्रुलाई नेपालगञ्ज
नेपाल एयरलाइन्सका पाइलट पेम्बा शेर्पाले गत सोमबार उडाएको ट्वीनअटर जहाजको गन्तव्य थियो– पश्चिम रुकुमको सल्ले विमानस्थल । तर, पाइलट शेर्पाले नेपालगञ्ज विमानस्थलमै जहाज अवतरण गराइदिए ।उडिरहेको जहाज र अवतरण गर्नुपर्ने सल्ले विमानस्थलमा कुनै समस्या थिएन । जहाजका यात्रुहरू गन्तव्यमा पुग्नेमा ढुक्क थिए । तर, पाइलटले आफ्नो ड्युटी आवर (काम गर्ने अवधि) सकिएको भन्दै नेपालगञ्जमै जहाज रोकिदिएपछि यात्रुहरू अलमल्ल परे । उनीहरूले पाइलटको सो व्यवहारको विरोध गरे । चौतर्फी आलोचना भयो ।

उड्डयन तालिका व्यवहारिक बनाउन वा पाइलटमाथि कडिकडाउ गर्नुपर्ने नेपाल वायुसेवा निगमले नै घटनालाई सामसुम पार्न खोजेको छ । निगमले विज्ञप्ति निकाल्दै उक्त जहाज सल्ले पुग्दा बेलुकी ५ बज्ने, तर जहाजको चालकदल सहितका अन्य कर्मचारीको ड्यूटी समय ४ बजेसम्मको मात्र भएकाले समय पाबन्दीका कारण बाध्यताले नेपालगञ्जसम्म उडान भर्ने निर्णयमा पुगेको उल्लेख गरेको छ ।एक पाइलटले दैनिक १० घण्टासम्म उडान भर्न सक्ने अन्तर्राष्ट्रिय नियम अनुसार नै उक्त निर्णय लिइएको निगमको दाबी छ । एकाबिहानैदेखि काठमाडौँमा रोकिएका अकुपेन्सी (सेवाग्राही) लाई घर फर्काउनुभन्दा नेपालगञ्जसम्म भनेपनि पुर्‍याउने उद्देश्यले निगमले उडानको निर्णय लिएको समेत उल्लेख गरेको छ ।

तर, अन्य हवाई कम्पनीमा कार्यरत पाइलटहरूले भने यसमा निगम र पाइलट दुवैबाट लापरवाही भएको, यात्रुहरूलाई गन्तव्यमै नपुर्‍याई बीचमै छाड्नु अव्यवहारिक भएको र पाइलटले उडान समय बढाएर भएपनि गन्तव्यमा पुर्‍याउनुपर्ने अभ्यास रहेको बताइरहेका छन् ।

७२ सिटे जहाजलाई स्यालको चुनौती
वरपरका झाडी सफा नगर्दा र सुरक्षाका उपाय नअपनाउँदा विमानस्थलमा जोखिम निम्तिन्छ, जहाज दुर्घटनामा पर्नसक्छ र जनधनको क्षति हुनसक्छ भन्ने ज्ञान सबैसँग छ । तर, यो ज्ञान भएर पनि आवश्यक सजगता नअपनाउँदा बुधबार बेलुकी पनि नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान र स्याल एकआपसमा ठोक्किए ।बुधबार साँझ साढे ७ बजे बुद्ध एयरको ७२ सिटे जहाज नेपालगञ्ज विमानस्थलमा अवतरणको क्रममा स्यालसँग ठोक्किएको हो । जहाज स्यालसँग ठोक्किए पनि कुनै अप्रिय घटना नघटेको बुद्ध एयरले जानकारी दिएको छ ।बुद्ध एयरका सञ्चालक वीरेन्द बस्नेतले विमानस्थलमा घाँसे मैदान हुँदा जंगली जनावरहरुको बिगबिगी बढेको र यसले दुर्घटना निम्त्याएको बताए ।

धावनमार्गमा स्याल र बँदेलको परेड
यतिखेर नेपाली हवाई उड्डयन क्षेत्रमा रुकुम (सल्ले) पुर्‍याउनुपर्ने जहाज पाइलटले ड्यूटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गराएको घटना निकै चर्चामा छ । गत मंगलबार काठमाडौंबाट रुकुमस्थित सल्ले विमानस्थलतर्फ उडाइएको नेपाल एयरलाइन्सको जहाज पाइलट पेम्बा शेर्पाले ड्युटी सकिएको भन्दै नेपालगञ्ज विमानस्थलमै अवतरण गराइदिए र भने ‘मेरो ड्युटी सकियो’ । यो हल्ला क्षणभरमै सबैतिर फैलियो ।

यो त नेपाली हवाई उड्डयन क्षेत्रमा भएको लापरवाहीको एउटा प्रतिनिधि घटनामात्रै हो । पछिल्लो समय यस्तै खालका एकपछि अर्का लापरवाही भइरहेको छ । लापरवाही र मनमौजी बढिरहँदा हवाई सेवा प्रदायक कम्पनी र नियामक सख्त व्यवहार देखाउनुको साटो घटनालाई सामसुम पार्ने ध्याउन्नमा देखिन्छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार