• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

एमालेसँग सहकार्य गर्न चीन तयार, कम्बोडियाका सांसदले भने – ‘ओली ग्रेट म्यान’


नेकपा(एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत,चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको
कामना व्यक्त गरिएको छ ।अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा विभिन्न मित्र राष्ट्रबाट आएका विभिन्न पार्टीका प्रतिनिधिले

शुभकामना मन्तव्य व्यक्त गरे । कोभिड र अन्य कारणले उपस्थिति हुन नसकेका पार्टीका नेताहरुले भिडियो र लिखित सन्देशमार्फत शुभकामना दिए ।चिनियाँ कम्युनिस्ट पार्टीले नेकपा एमालेको महाधिवेशन सफलताको कामना गर्दै भिडियो सन्देश पठाएको छ । उक्त भिडियो सन्देशमा एमालेले द्विपक्षीय हितमा काम गर्ने र द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्ने उल्लेख छ । सन्देशमा भनिएको छ, ‘सीपीसी एमालेसँग सहकार्य गर्न तयार छ । राष्ट्रपतिको नेपाल भ्रमणले विकास र समृद्धिका लागि साझेदारी नयाँ रणनीतिक उचाईमा पुगेको छ । एमालेले सकारात्मक योगदान पुर्याएको छ । चीन नेपालसँग काम गर्न तयार छ । पारस्परिक सम्मान र समृद्धिका लागि एमालेसँग मिलेर काम गर्न तयार छ ।’टर्कीको भाटन पार्टीका अध्यक्ष डा. डोगु पेरिन्सेकले कोभिड महामारीका कारण प्रभावित भएकाले उपस्थित हुने नसकेको उल्लेख गरेका छन् । उनले भविष्यमा नेपाल भ्रमण गर्ने र एमालेका नेतासँग वसर मिल्नेछ जनाएका छन्। साधै महाधिवेशनको शुभकामनाका पनि दिएका छन् ।भियतनाम कम्युनिस्ट पार्टीले पठाएको शुभकामना सन्देशमा पनि राष्ट्रिय एकता र स्वाधिनतामा एमालेले खेलेको भूमिकाबाट खुसी भएको उल्लेख छ । सन्देशमा पार्टीको सुदृढीकरण र सुखी नेपाली समृद्ध नेपाल अभियानले नयाँ उचाइ लिने उल्लेख छ । यस्तै, नेपाल र भियतनामबीचको सम्बन्ध सुदृढ र प्रगाढ रूपमा विकास हुने विश्वास व्यक्त गरेको छ ।

श्रीलंकाको जेबिपीका नेता विजिता लेडारले एमाले अझै बलियो भएर कम्युनिष्ट आन्दोलनमा जाओस् भनेर शुभकामना दिए । उनले नेपालले उठाएको सामाजिक मुद्दा बारे श्रीलंका जानकार रहेको र एमालेसँग सहकार्य पनि गरिरहेको बताए । उनले भूराजनीतिक रूपमा भूपरिवेष्ठित भएकाले नेपाल क्राइसिसमा रहेको पनि बताए ।कार्यकर्ममा सम्बोधन गर्दै सीपीआई लिबरेसन पार्टी भारत विहारका प्रतिनिधि वीरेन्द्रप्रसाद गुप्ताले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरित भएको बताए । उनले नेपाल र भारतबीच रोटीबेटी सम्बन्ध रहेको र हाम्रा समस्या धेरै मेल खाने पनि बताएका छन् । उनले भने, ‘तपाईंहरू पनि लोकतन्त्रका लागि लडिरहनु भएको छ । हामी पनि लोकतन्त्रका लागि लडिरहेका छौं । आजादिपछि मिलेको अधिकार नरेन्द्र मोदीको फासिस्ट सरकारले कटौति गर्दै गइरहेको छ । किसान आन्दोलनमा मोदीलाई परास्त गरेका छौं । मोदी सरकारविरूद्व हरेक मोर्चामा लडाइए छ ।’ उनले मोदी आन्दोलन कै कारण लगातार पछाडि हटिरहेको पनि बताए ।

कम्बोडियाका सांसद एवं कम्बोडियन पिपुल्स पार्टीका नेता यारा सोसले नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सफलताको शुभकामना दिएका छन् । उनले यो अविधेशन नेपालको इतिहासमा विरलै हुने राजनीतिक घटना बनोस् भनेर शुभकामना दिएका छन् ।उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षा पूरा होस् भन्ने कामना पनि गरेका छन् । यस्तै, नेपाल र कम्बोडियाबबीच सुमधुर सम्बन्ध रहेको र अब राजनीतिक रूपमा पनि सम्बन्ध बढाउनु पर्ने बताए । राजनीतिक स्थायित्व सम्वृद्विका लागि नेपाल र कम्बोडियाबीच संस्कृति, राजनीतिक र अर्थतन्त्रमा सहकार्य हुनु पर्ने बताए ।

सन् २०१८ मा कम्बोडियाका प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिए भने सन् २०१९ मा नेकपा एमालेका अध्यक्ष ओलीले कम्बोडिया भ्रमण गरेका थिए । महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले नेपालमा शान्ति, स्थिरता, समृद्ध नेपालको कामना गरे । सोही अवसरमा उनले भने ‘ओली ‘ग्रेट म्यान’ हुन् । दुई देशबीच सम्बन्ध हार्दिक छ। सम्बन्ध बलियो बनाउन ओलीको भूमिका छ।’ सोही क्रममा उनले पार्टीका अध्यक्षको शुभकामना सन्देश पनि ओलीलाई हस्तान्तरण गरेका थिए ।

सोनियाको पत्र छोडेर फर्किए अखिलेश
कांग्रेस आईका नेता अखिलेश यादव काठमाडौंहुँदै चितवन पुगेर फर्किएका छन् । बन्द सत्र ढिलो भएका कारण उनी कार्यक्रममा सहभागी हुन सकेनन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोनिया गान्धीले पठाएको पत्र छोडेका छन् ।सोनियाको पत्रमा भनिएको छ, ‘म सहभागी भएर शुभकामना दिन चाहेको थिए । तर, परिस्थितिले सकिएन । निमन्त्रणा गरेकोमा धन्यवाद । महाधिवेशन सफल होस् शुभकामना ।’ भारतीय जनता पार्टीका हर्षवद्र्धन शुक्रबारको उद्घाटनसत्रमा सहभागी भई फर्किएका थिए ।

चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्दसत्र सञ्चालन भइरहेको छ । महाधिवेशनको बन्दसत्रमा मनोनितसहित दुई हजार २७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले २२५ सदस्यीयलाई ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो । एमाले महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा निर्मित विशेष मञ्चमा शुक्रबार पार्टीका अध्यक्ष ओलीबाट भएको थियो ।
स्रोत : रातोपाटी।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार