• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध ! घनश्यामको प्रश्‍न – ‘पार्टी र सरकार किन टिकाउन सकेनौं ?


नेकपाएमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ। वरिष्ठ
उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन्।महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको

केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले रातोपाटीलाई जानकारी दिए । त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका छन् । मनोनयनको म्याद सकिँदासमेत पनि उपमहासचिव पदमा कसैको उम्मेदवारी परेन ।ती सदस्यका अनुसार अध्यक्ष पदमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, ७ सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । केपी ओलीले प्रस्ताव गरेका ६ उपाध्यक्षमा घनश्याम भुसालले समेत उम्मेदवारी दिएपछि निर्वाचनमा जानुपर्ने भएको छ । त्यसैगरी ओलीद्वारा प्रस्तावित सात सचिवसँगै भीम आचार्य र टंक कार्कीको समेत उम्मेदवारी परेपछि सचिवमा समेत चुनाव हुने भएको हो । केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार समावेसी क्लस्टरका केन्द्रीय सदस्यहरुमा उम्मेदवारी परेकाले केन्द्रीय सदस्यमा समेत मतदान हुने सम्भावना छ । ‘कति उम्मेदवारी पर्यो भन्ने हामी हिसाब गरिरहेका छौँ,’ उनले भने ।

भूसालको प्रश्‍न – ‘पार्टी र सरकार किन टिकाउन सकेनौं ?’
काठमाडौँ — नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टीभित्र विचार, सिद्धान्त र मार्क्सवाद ज्यूँदो छ भन्ने सन्देश दिन उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । सौराहामा जारी महाधिवेशनका क्रममा सोमबार बिहान उनले उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले पार्टीलाई दलाल पूँजीवादले कब्जा गरिदिने भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेका गरेका थिए । ‘पार्टीभित्र विचार, सिद्धान्त र मार्क्सवाद ज्यूँदो छ भन्ने सन्देश दिनका लागि मैले उम्मेदवारी दिएको हुँ,’ उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने ।

यस्तै एमाले निर्माणका लागि क्रियाशील पुराना कार्यकर्ताहरूको प्रतिनिधिहरूको प्रतिनिधिको रुपमा पनि आफूले उम्मेदवारी दिएको उनले बताए । तर आफ्नो पक्षमा कुनै प्यानल नभएको नेता भूसालको भनाइ छ । उनले भनेका छन्, ‘१० बुँदेको गुट सधैँका लागि नबुझ्न आग्रह गर्दछु । एउटा खास समयमा हामी एक ठाउँमा उभिएका हौं । सधैँका लागि हैन । मैले ९औं महाधिवेशनमा पनि प्यानल नबनाउन अन्तिमसम्म अडान लिएको थिएँ । त्यसैले अहिले पनि म प्यानलको पक्षमा छैन ।’

नेता भूसालले प्रतिनिधिसभा विघटन र सरकारबाट बाहिरिनु परेको मुद्दालाई लिएर समीक्षा गर्नुपर्ने संकेत गरेका थिए । ‘एकीकृत पार्टी किन फुट्यो भन्नेबारेमा हामी बेखबर भएर हिँडिरहेका छौँ । पार्टीमा गल्तीका प्रशस्त सम्भावना छन् । अहिले पनि गल्ती भइरहेका छन् । संसारमा एउटा मोडेल देखाउन सक्ने अवस्थाबाट हामी किन चुक्यौँ ? आफ्नै पार्टी किन टिकाउन सकेनौं ? आफ्नै सरकार किन टिकाउन सकेनौं ?,’ उनले भने, ‘भन्दा त तिमीहरूले किन भत्कायौ भन्न सकिन्छ । तर त्यो स्थिति नै किन आयो भन्नेबारे हामी बेखबर भएर हिँडिरहेका छौं । त्यसबारे अहिले हामी आँखा बन्द गरेर हिँड्न खोज्दैछौं । यसले हामीलाई हाम्रो लोकतन्त्रलाई समाजवादलाई कम्युनिस्ट आन्दोलनलाई धेरै डरलाग्दा खतरातर्फ लैजानेवाला छ । त्यसैले पनि मैले उम्मेदवारी दिएको हुँ ।’

एमाले महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रमा केपी ओलीको प्रस्तावमा ३०१ केन्द्रीय कमिटीसहितको नामावली सार्वजनिक भएको थियो । जसमा १९ जना पदाधिकारीको सूचीसमेत सार्वजनिक गरिएको छ । जहाँ नेता भूसालको नाम भने अटाएको छैन । जaकि उनले यसअघि नै उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका थिए ।उक्त प्रस्ताव आएसँगै भूसालसहित अध्यक्ष पदमा भीम रावल, सचिव पदमा भीम आचार्य साथै अरु असन्तुष्ट नेताहरूले केन्द्रीय सदस्यको पदमा उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार