• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमालेको निर्वाचनमा कुल २१५३ मतदातामध्ये २११४ मत खस्यो, परिणामलाई सहज रुपमा लिन्छु : रावल


नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २११४ मत खसेको छ । निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले कुल २१५३ मतदातामध्ये २११४ मत
खसेको जानकारी दिए । एमालेको नयाँ नेतृत्व चयनका लागि बिहानदेखि मतदान भएको थियो भने अब मतदान सकिएसँगै मतगणनाको तयारी भइरहेको छ ।एमालेमा अध्यक्ष, उपाध्यक्ष,

सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्दैछन् । अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्व माओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

आचारसंहिता विपरीतका गतिविधिको विरोध गर्दा जाइलाग्ने कार्य भयोः भीम रावल

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलले प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन् । उनले प्यानल सूची वितरणको विरोध गर्दा केपी ओली पक्षबाट आफू पक्षीय कार्यकर्तामाथि जाइलाग्ने कार्य भएको समेत बताएका छन् ।

‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछ’, उनले ट्वीटरमा भनेका छन्,’ उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ। यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’केपी ओली निकटले कसलाई भोट हाल्ने कसलाई नहाल्ने भनेर सूची वितरण गरेपछि विवाद भएको हो ।

मतदानपछि रावलले भने- परिणामलाई सहज रुपमा लिन्छु
नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावलले निर्वाचन परिणामलाई सहज रुपमा स्वीकार गर्ने बताएका छन् ।

दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मंगलबार विहान करिव ४ बजेतिर मतदान सुरु भएको थियो । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले पार्टीको नीति र सिद्धान्त बमोजिमको यो अभ्यासले लोकतन्त्रलाई बलियो बनाउने बताए ।उनले भने, सदस्य नविकरण, वितरण र प्रतिनिधि प्रतिनिधि चयनमा ब्यापक रुपमा गलत काम भएका छन् भनेर यसअघि नै भनेको छु । यति हुँदाहुँदै पनि म परिणामलाई सहज रुपमा लिन्छु ।’

उनले आफूले केन्द्रीय सदस्यमा उम्मेदवार नभएको भन्दै त्यसलाई सच्याउन समेत निर्वाचन अधिकृतहरुलाई आग्रह गरेका छन् ।अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन् ।सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावी मैदानमा छन् ।

यस्तै केन्द्रीय सदस्यतर्फ खुला ८४ सदस्यका लागि चुनाव हुनेछ । प्रदेश १ को खुला ६ तथा महिला ३ सदस्यका लागि चुनाव हुनेछ । सुदूर पश्चिम प्रदेशको महिला ३ सदस्यका लागि पनि चुनाव हुनेछ । दलित खुला ८, थारु खुला ५ र पिछडिएको क्षेत्र खुला ३ सदस्यका लागि पनि चुनाव भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार