• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

१० औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओली निर्वाचित


काठमाडौँएमालेको १० औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । सर्वसम्मत हुने ओलीको आंकाक्षामा भीम रावल
ले चुनौती खडा गरेपछि उनी महाधिवेशनमा मंगलबार भएको मतदानबाट बहुमतले विजयी भएका हुन्।उनले अहिलेसम्म १८३७ मत ल्याएका छन् ।रावलले २२३ मत पाएका छन्।स्रोतका

अनुसार गणना गरेको मतको रुजु भइरहेकोले प्राप्त मतको संख्या बढ्न सक्नेछ ।२०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि निरन्तर अध्यक्ष नै थिए । एमाले र माओवादी केन्द्रको एकता गत वर्ष फागुनमा अदालतको आदेशका कारण भंग भएपछि एमालेले १०औं महाधिवेशन गरेको हो ।यो महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे । पार्टीभित्र विभिन्न मनोविज्ञानका नेताहरू रहेकाले तीनलाई व्यवस्थापन गर्न भन्दै ओलीले केन्द्रीय कमिटी नै आफूले प्रस्तावित गरे ।

तर, उनको प्रस्ताव रावललगायतका नेताले अस्वीकार गरेपछि एमाले महाधिवेशनमा चुनावको अवस्था सिर्जना भएको हो । ओलीको गत आइतबार घोषणा गरेको सूचीअनुसार धेरै नेताहरू निर्वाचनमा सर्वसम्मत चयन भए । तर, ओलीको आफू सर्वसम्मत हुने इच्छा भने पूरा भएन । उनले नेता भीम रावलसँग प्रतिस्पर्धा गरे ।ओलीले यसअघिको नवौं महाधिवेशनमा नेता माधवकुमार नेपाललाई ४६ मतको अन्तरमा हराएर विजयी बनेका थिए । यसपटक रावलसँग भने उनको फराकिलो मतअन्तर भयो । ओलीले आफूलाई निर्विकल्प ठानेका थिए ।

यसअघि गोदावरीमा भएको विधान महाधिवेशनबाटै ओलीलाई निर्विकल्प नेतृत्वको माहोल बनाइएको थियो । निर्विकल्प बन्ने नाममा पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा समेत अंकुश लगाउने कोसिस भएपछि ओलीविरुद्ध उम्मेदवारी पर्ने स्थिति देखा परेको हो ।

माधव नेपाल समूहमा रहेका रावल १० बुँदे सहमति गरेर एमालेमै बस्ने निर्णय गरेका थिए । त्यसपछि पार्टीभित्रको विगतको संरचना अनुसार आफूले भूमिका पाउनुपर्ने माग गर्दै आएका थिए । तर ओलीले त्यसअनुकूल भूमिका नदिएपछि रावल चिढिंदै आएका थिए । रावलको असहमतिको त्यही स्वर अहिले ओलीका लागि महाधिवेशनमा चुनौतीको रुपमा प्रकट भएको हो ।

यो महाधिवेशनबाट ओलीले आफूअनुकूलको केन्द्रीय कमिटी तयार गरेका छन् । तर, उनको यो प्रयासलाई आलोचकहरूले एमालेले वर्षौंदेखि गर्दै आएको लोकतान्त्रिक अभ्यासमा लागेको कालोधब्बाको रुपमा पनि चित्रण गरिरहेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार