• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

भीम रावल र घनश्याम भुसाल पनि विजयी


नेकपा एमालेको अध्यक्षमा पराजित भएका भीम रावल केन्द्रीय सदस्यमा भने विजयी भएका छन् । केन्द्रीय निर्वाचन आयोगका संयोजक विजय सुब्बाले ९०४ मत प्राप्त
गरेर रावल विजयी भएको घोषणा गरेका हुन् । रावलले अध्यक्षमा भने २२३ मत प्राप्त गरेका थिए । रावलले भने केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहने बताउँदै आएका छन् । तर

आयोगले चुनावका क्रममा केन्द्रीय सदस्यमा समेत उनको नाम राखेको थियो ।

विजयी भए घनश्याम भुसाल

नेकपा एमालेको केन्द्रीय सदस्यमा घनश्याम भुसाल विजयी भएका छन् । उनी उपाध्यक्षमा भने पराजित भएका छन् । सौराहामा आयोजित चुनावी मत परिणाम घोषणा सभामा निर्वाचन आयोगका संयोजक विजय सुब्बाले भुसाल विजयी भएको घोषणा गरे । भुसाल केन्द्रीय सदस्यमा १२६५ मत ल्याएर विजयी भए । तर टंक कार्की पराजित भएका छन् ।

ओलीका ‘प्रिय’ ७ सचिवमध्ये कसलाई कति रुचाए महाधिवेशन प्रतिनिधिले ?
एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पार्टीको सचिव पदमा ७ जनाको नाम प्रस्ताव गरेका थिए । ती सात जनामध्ये सर्वाधिक मत गोकर्ण विष्टले ल्याएका छन् भने सबैभन्दा कम मत रघुवीर महासेठले ल्याएका छन् ।

ओलीका प्रिय मानिएका महासेठले १५१३ मत हासिल गर्दा गोकर्ण विष्ट भने १९७६ मत हासिल गरेका छन् । विष्टलाई कुनै बेला ओलीले मन्त्री पदबाट हटाएका थिए । पार्टीभित्रको संघर्षमा माधवकुमार नेपाललाई साथ दिँदै आएका बिस्ट पार्टी विभाजन हुने अवस्थामा भने ओलीतिरै लागेका थिए ।

यस्तै, पार्टीभित्रको संघर्षमा माधवकुमार नेपाललाई साथ दिँदै विभाजन हुने अवस्थामा ओलीतिर लागेका अर्का नेता योगेश भट्टराईले सचिव पदमा दोस्रो लोकप्रिय मत हासिल गरेका छन् । उनले १९६४ मत हासिल गरे । तर, बिस्ट र भट्टराईको तुलनामा ओलीले आफ्नो विश्वासपात्र मान्ने गरेका पद्मा अर्यालले तेस्रो लोकप्रिय मत पाइन् । महाधिवेशन प्रतिनिधिले ओलीका विश्वासपात्र अर्याललाई बिस्ट र भट्टराईपछि मात्र महत्व दिएको पाइयो । अर्यालले १८०० मत हासिल गरेकी छन् ।

यसैगरी सचिव पदमा छविलाल विश्वकर्माले पनि १८०० मत नै हासिल गरेका छन् । पूर्वमाओवादी खेमाका लेखराज भट्ट र टोपबहादुर रायमाझी पनि ओलीका रोजाइमा पर्ने नेतामध्ये हुन् । सचिव पदमा भट्टले १७०४ र रायमाझीले १७०० मत हासिल गरे ।

ओलीको टीमलाई चुनौती दिँदै सचिवमा उम्मेदवारी दिएका भीम आचार्यले १३०० र टंकप्रसाद कार्कीले ५०० मत हासिल गरे । यी दुवै पराजित भए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार