• २०८१ भाद्र २६ गते बुधवार
  • Preeti To Unicode

राजनीतिबाटै सन्यास लिने रामचन्द्र पौडेलको घोसणा


नेपाली काँग्रेसको साझा उम्मेदवार तय गर्न बुधबार बसेको संस्थापन इतर पक्षको बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल आक्रोशित मुद्रामा प्रस्तुत भए । नेताहरु
यसैगरी आपसमा नमिल्ने हो भने राजनीतिबाटै सन्यास लिनेसम्मको अभिव्यक्ति नेता पौडेलले बैठकमा व्यक्त गरे ।संस्थापन इत्तर पक्षका नेताहरु डा. शेखर कोइराला र प्रकाशमान सिंहले

सभापतिको उम्मदेवार बन्ने दाबी नछाडेपछि आक्रोशित हुँदै पौडेलले बैठकमा भने, ‘तपाईहरु कि आपसमा मिल्नोस्, कि मेरो नेतृत्व स्वीकार्न तयार हुनोस् । आफूहरु पनि नमिल्ने र अरुको नेतृत्व पनि नस्वीकार्ने हो भने मलाई राजनीतिबाटै सन्सास लिन दिनोस् ।’ बरिष्ठ नेता पौडेलको यो आक्रोशबारे बैठकपछि बाहिर निस्केका अर्का नेता डा. रामशरण महतले भने, ‘रामचन्द्रजी आक्रोशित रुपमा प्रस्तुत हुनुभयो ।’नेता सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा सिंह र पौडेलसहित शेखर कोइराला र शशांक कोइरालालगायतको सहभागिता थियो । बैठकमा प्रकाशमानले कुनै पनि हालतमा आफूले सभापतिको दावी नछाड्ने भन्दै बरु एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएपछि पौडेल आक्रोशित बनेको नेताहरुको भनाइ छ । सिंहले जस्तै शेखर कोइरालाले पनि अडान नछाड्ने बताएपछि पौडेल थप तनावमा परेका हुन् । केन्द्रीय सदस्य गुरुराज घिमिरेले भोलि पनि सहमतिका लागि आफूहरुले पहल गर्ने र त्यसपछि सभापतिका दावेदारहरुलाई भेटेर सहमतिका लागि दवाव दिने बताए ।

प्रकाशमान र शेखरको अड्डी

काँग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार तय गर्न इतर पक्ष आज पनि असफल बनेको छ । सभापतिका दावेदारमध्येका दुई जना प्रकाशमान सिंह र शेखर कोइरालाले कुनै पनि हालतमा आफ्नो दावी नछाड्ने अड्डी कसेपछि इतर पक्ष आज पनि साझा उम्मेदवार तय गर्न असफल भएको हो ।

आज सहमति हुन नसकेपछि भोलिपनि नेताहरु बसेर सहमतिको प्रयास गर्ने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार भोलि पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक समेत बस्नेछ भने त्यहाँ वृहत छलफल गरेर सभापतिका दावेदार नेताहरुसँग पनि बैठक बस्ने तयारी छ ।

छलफलमा संस्थापन इतरपक्षका सभापतिका उम्मेदवारका आकांक्षी रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.शेखर कोइराला र डा.शशांक कोइरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरु पनि सहभागी थिए । बुधबार बिहान पनि सो समुहका नेताहरु साझा उम्मेदवार तय गर्न छलफलमा जुटेपनि सहमति हुन सकेको थिएन ।

प्रकाशित मिति : २०७८ मङ्सिर २२ गते बुधवार