• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

पूर्व लडाकु भित्र्याउने ओलीको रणनीतिमा प्रचण्डको अवरोध


काठमाडौं:पुसमा पार्टीको केन्द्रीय सम्मेलनको तयारीमा रहेको नेकपा (माओवादी केन्द्र)ले ३५ विभागमा प्रमख तथा सदस्यहरुको मनोनयन गरेको छ। पार्टीको बिहीवार
बसेको स्थायी कमिटीको बैठकले महिला विभाग थप गर्दै त्यसको प्रमुखमा पम्फा भुसाललाई जिम्मेवारी दियो।माओवादीले गठन गरेका विभागहरुमा पूर्व माओवादी लडाकुहरुलाई स्थान दिँदै

माओवादीले उनीहरुलाई पार्टीभित्रै रोक्ने रणनीति बनाएको छ। पूर्व माओवादी लडाकुलाई आफूतिर तान्ने नेकपा एमाले अध्यक्ष केपी ओलीको प्रयास र उपाध्यक्ष रामबहादुर थापाको सक्रियतालाई निस्तेज पार्न प्रचण्डले पूर्व लडाकुलाई विभागहरुमा जिम्मेवारी दिएका हुन्।दुई ठूला दलको एकतापछि बनेको नेकपा सर्वोच्चको आदेशपछि पूर्ववत एमाले र माओवादी केन्द्रमा विभाजित भएपछि ओलीले पूर्व लडाकुलाई नहेरेको भन्दै प्रचण्डको चर्को आलोचना गर्दै आएका छन्। पटकपटक पूर्व लडाकुलाई एमालेमा भित्र्याउने प्रयासस्वरुप बालुवाटार (प्रधानमन्त्री पदमा रहँदा) र बालकोटमा भेट गरेका थिए। यसरी भेट्नेमा कोटेश्वरका व्यवसायी रामहरी श्रेष्ठको हत्या अभियोग लागेका तत्कालीन पीएलए तेस्रो डिभिजन अन्तर्गत शक्तिखोर शिविरका कमाण्डर कालीबहादुर खाम पनि थिए।

प्रचण्डले तिनै खामलाई पार्टीको राष्ट्रिय सुरक्षा विभागको सदस्य बनाएका छन्। कृष्णबहादुर महरा प्रमुख रहेको यस विभागमा पूर्व लडाकु गोरखाका अर्जुन थापा, रोल्पाका सूर्य घर्ती, सप्तरीका छेदी रज्जाक, रुपन्देहीका सुजित विक छन्।विक रुपन्देहीमा १२ वर्ष अगाडि युवा संघका नेता प्रचण्ड थैवको हत्या अभियोगमा जेल भोगिसकेका नेता हुन्।त्यस्तै, पार्टीको युवा तथा खेलकुद विभागमा पनि पूर्व पीएलएका सदस्यहरुलाई समावेश गरिएको छ। बाँकेका नरेन्द्र पाण्डे ‘जेम्स’, मीरा राई, लेनिन विष्ट, विल्टु महरा लगायतलाई युवा तथा खेलकुद विभागमा समावेश गरिएको छ।

विष्ट बहिर्गमित बाल लडाकु नामको संगठन खोलेर माओवादी नेतृत्वको आलोचनाका कारण चर्चित रहँदै आएका छन्। विभिन्न अधिकारवादी संघसंस्थाले माओवादी र प्रचण्ड विरुद्ध उनलाई ‘उपयोग’ गर्दै आएका थिए। उनलाई शान्ति प्रक्रियासँग सम्बन्धित एक कार्यक्रममा विदेश जाने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। खामसँगै विष्टलाई पनि ओलीले बालुवाटारमै बोलाएर भेटेका थिए।

त्यस्तै, पार्टीको स्वास्थ्य विभागमा पनि पूर्व पीएलएका लडाकुलाई समावेश गरिएको छ। स्वास्थ्य विभागमा आछामका डम्बर रावल, जुम्लाका जनक बीसी, शिव केसी लगायतलाई सदस्यको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार