• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

कांग्रेसको महाधिवेशनमा ओलीको भाषण : किन प्रचण्ड र माधव नेपाल उठेर हिँडे ? क-कसलाई के के भने ओलीले ? हेर्नुस्


काठमाडौं : एमाले अध्यक्ष केपी ओली ले सम्बोधन नसक्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले
मञ्च छाडेका छन् । नेपाली कांग्रेस को १४औं महाधिवेशनमा शुभकामना दिने क्रममा ओली ड्यासमा पुग्दा प्रचण्ड र नेपाल आफ्नो सोफामा थिएनन् ।ओली महाधिवेशनको उद्घाटन सुरु

भएपछि केही ढिला गरी आएका थिए । तर, उनी प्रचण्ड र नेपाल लहरैको सोफामा बसेनन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पल्लोपट्टि गए, जहाँ नेता रामचन्द्र पौडेल बसेका थिए । पौडेल सोफाबाट उठेपछि ओली बसेका थिए । ओलीले प्रचण्ड र नेपालको भाषण सुने पनि ओलीले भाषण गर्न थालेपछि प्रचण्ड र नेपाल पहिले नै उठेर हिँडेका थिए ।महाधिवेशन सफलताको शुभकामना दिँदै ओलीले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको बताएका छन् । उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको र यसका लागि कांग्रेससँग सहकार्य गरेर एमाले अघि बढ्न तयार रहेको बताए । देश बनाउन विषयमा कांग्रेससँग एमाले रहेको उनको भनाइ छ ।ओलीले नेपाली कांग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी भएको बताएका छन् । उनले यो पार्टीकै नेतृत्वमा देशमा धेरै क्रान्ति भएको उल्लेख गर्दै आगामी दिनमा अझै फैलिने र विस्तार होस् भन्ने शुभकामना दिए ।ओलीले आफू कसैप्रति आलोचना नगर्ने बताउँदै देशमा धेरै परिवर्तन भएको उल्लेख गरे । ओलीले देश अन्धकारमै नरहेको उल्लेख गरे । कांग्रेस र एमालेको नेतृत्वले नै देशलाई सही दिशामा अघि बढाएको बताए ।

राजेन्द्र लिङ्देनलाई ओलीले भने : ‘भर्खर-भर्खर जन्मेको बाच्छो हिँड्न जान्दैन’
एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूप्रति टिप्पणी गर्दै अभिव्यक्ति दिएपछि त्यसप्रति आपत्ति जनाएका छन् । लिङ्देनले नेताहरूलाई गाउँघरमा ‘चोर आयो भन्न थालिसके’ भन्ने अभिव्यक्ति दिएपछि ओलीले भने– भर्खर भर्खर जन्मेको बाछो हिँड्न जान्दैन,बेसी कुद्छ ।’अध्यक्ष ओलीले अहिले पनि त्यस्ता भ्रमपूर्ण अभिव्यक्ति र सपना नराख्न आग्रह गरे । ‘ आज पनि नेपालका नागरिकहरूले नागरिक स्वाभिमान बिर्सने, जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त निराधार सिद्धान्त र नागरिक स्वाभिमानविपरीतका सिद्धान्त हुन्,’ ओलीले भने ।

लिङ्देनले के भनेका थिए ?
सो कार्यक्रममा लिङ्देनले देशको राजनीति लिकबाहिर पुगेको जिकिर गरेका थिए । उनले सरकार सरकारजस्तो, संसद् संसद्जस्तो र अदालत अदालतजस्तो हुन नसकेको भन्दै राजनीतिलाई ठिक ठाउँमा ल्याउनुपर्ने नेताहरूले पनि विश्वास गुमाइसकेको बताएका थिए । उनले भनेका थिए, ‘देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ । सरकार सरकार जस्तो छैन । संसद् संसद्जस्तो छैन अदालत अदालत जस्तो छैन । यो सबैलाई ठिक लगाउने राजनीतिले हो । तर राजनीतिलाई ठीक ठाउँमा ल्याउने नेताहरूले विश्वास गुमाएको अवस्था छ ।’

जनताको नजरमा नेताहरू प्रति विश्वास हराएको उनको टिप्पणी थियो । गाउँमा कुनै नेता जाँदा कार्यकर्ताले सम्मान नगरी कुन चोर आएछ भन्ने अवस्था रहेको उनको दाबी थियो । ‘गाउँघरमा नेता लगेर कुनै एक ठाउँ वा चौतारोमा राखेर छिमेकीहरू बोलाउन जाँदा गाउँलेले नेताको नाम सम्झिँदैनन् । कुनचाहिँ चोर आएछ त्यहाँ भन्छन् मान्छेहरूले’, उनको भनाइ थियो ।

देउवालाई प्रधानमन्त्रीमात्र नभएर सरकारको नेता बन्न ओलीको सुझाव
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमात्र नभएर सरकारको नेता बन्न सुझाव दिएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले नेपाली काँग्रेसले सबैलाई साथ लिएर हिँडेमा आफ्नो आपत्ति नरहने बताए । काँग्रेसलाई सुझाव दिँदै उनले भने, ‘तर, अरुका नीतिको पछाडि होइन, आफ्नो नीतिमा हिँडोस् । शेरबहादुर देउवाजी प्रधानमन्त्रीमात्र होइन, सरकारको नेता हुनुहोस् ।उनले राष्ट्रियता, देशको विकास, जनताका हितका पक्षमा नेपाली काँग्रेसलाई एमालेले पनि साथ दिने प्रस्ट पारे । केही साना दललाई भने काँग्रेसले औँला छोड्ला कि भन्ने चिन्ता लागेर ‘सँगै जानुपर्छ’ भनिरहेको उनको भनाइ थियो ।

वादप्रतिवाद गर्दिनँ
ओलीले आफू काँग्रेसको महाधिवेशनमा शुभकामना दिन आएको भन्दै कसैको कुरामा कुनै वादप्रतिवाद नगर्ने बताए । उनले आफूलाई मञ्चको कुनै कमी नभएको भन्दै चाहेको कुरा पछि पनि राख्न सक्ने बताए ।

‘कसैको कुरामा वादप्रतिवाद केही गरिरहन चाहन्न । म मेरो राजनीति आफ्नै मञ्चहरूमा गर्न पाउँछु । मलाई मञ्चहरूको कमी छैन’, काँग्रेसको १४ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने। कार्यक्रममा नेतालाई चोरको रूपमा चित्रित गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रति कटाक्ष गरे ।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार