• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

कांग्रेस महाधिवेशन : ठूला पद रोज्नेहरुकाे कन्तबिजाेग !


काठमाडौं शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशन जारीछ।शनिबार कांग्रेसका विभिन्न समूहका प्यानलले महाधिवेशनकाे चुनावका लागि उम्मेदवारी
दर्ता गराएका छन् ।महाधिवेशनमा शेखर कोइराला,शेरबहादुर देउवा, विमलेन्द्र निधि र प्रकाशमान सिंह गरी ४ प्यानलको मुख्य भिडन्त हुनेछ ।महाधिवेशन उद्घाटनको दिन शुक्रबारसम्म

प्यानल जुट्नबारे कुनै ठेगानै थिएन । तर, शनिबार बन्द सत्रको पहिलो दिन उम्मेदवार दर्ता गर्नुअघि अचम्मै भयो । बकुलाकाे हुलमा काग र कागको हुलमा बकुलाजसरी एक समूहनिकटका नेताहरु अर्काे समूहमा पसेर नयाँ ‘ट्विस्ट’ पस्किदिए ।सुरुमा त पत्याउनै गाह्रो भइदियो । तर, प्यानलै लिएर गाँजाबाजासहित राष्ट्रिय सभा गृहमा उम्मेदवारी दर्ता भएपछि भने कसरी नपत्याउने ! सबैभन्दा पहिलो कांग्रेसका नेता कल्याण गुरुङले सभापति पदका लागि उम्मेदवारी दिएपछि प्यानलसहितको समूहले भटाभट उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाएको थियो । र, साँझसम्म सभापति पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।

पत्याउनै मुस्किल !
शुक्रबार राष्ट्रिय सभा गृहमा आफ्नो कुनै सभापति नभएको, एक्लो महामन्त्री पदमा उठेको तर, भोट हाल्ने समयसम्म उम्मेदवार दिने कुनै सभापतिलाई आफ्नो समर्थन गरेको बताएका थिए, महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले । तर, शनिबार दिउँसो उनी एकल रुपमा नभई प्यानलमै मिसिए- डा. शेखर कोइराला प्यानलमा ।कांग्रेसको १३ औँ महाधिवेशनमा कृष्ट सिटौला समूहमा रहेका थापा १४ औँ महाधिवेशनमा पुस्तान्तरणको चर्काे आवाज निकाल्दै एक्लिन पुगेका थिए । तर, अन्ततः पुस्ताकै बिडो थाम्न राजनीतिमा जम्न, रम्न आइपुगेका कोइराला समूहकै प्यानलमा मिसिन बाध्य भए, थापा ।

विश्वप्रकाश शर्मा अर्थात् कांग्रेसका प्रवक्ता एवं प्रखर वक्ता पनि हुन् । उनी संस्थापन पक्ष सभापति शेरबहादुर देउवानिकटका व्यक्ति हुन् । उनी देउवा प्यानलबाट उछिट्टिएर अर्कै प्यानलमा पुग्लान् भन्ने कसैले सायदै सोचेका थिए ।शनिबार दिउँसो उनी देउवा प्यानलबाट अलग्गिएर प्रकाशमान सिंहको प्यालनमा गएर महामन्त्री पदको उम्मेदवारी बने । देउवाको साथ छाडेर सिंह समूहमा पुगेको दृश्य हेर्दा महाधिवेशनको माहोल रौनक नै देखिन्थ्यो ।

सेटिङ !
कोइराला प्यानलमा उम्मेदवारी नदिएर प्रकाशमानको प्यानलमा गएर सुजता कोइरालाले उपसभापति पदको उम्मेदवारी दिइन् । जबकि महाधिवेशनअघि कोइराला बिरासत फर्काउन कम्मर कसेर लाग्दै आएका शशांक–शेखर–सुजता । तर, महाधिवेशनको बन्द सत्रको उम्मेदवारी दर्ता गर्ने दिन बाँडिए ।

ठूला पद राेज्नेहरु पुच्छरमा
कांग्रेसको १४ औँ महाधिवेशनमा अर्काे रमाइलो दृश्य पनि देखिन पुग्यो । महाधिवेशनअघि सभापतिलगायत ठूला पद नछाड्ने अडान लिएका कोही सन्किएर हिँडे त कोही केन्द्रीय सदस्यमै चित्त बुझाउन बाध्य भए ।महाधिवेशनअघि प्रकाशमान, शशांक, शेखर र रामचन्द्र पौडेल समूह एक महाधिवेशनमा एक ढिक्का भई अघि बढ्न बाचा गरेको थियो । तर, सभापति पद तीनै जना (शशांकबाहेक)ले छाड्न तयार नहुँदा घटनाले नयाँ मोड लियो । सभापतिमा स्थान नदिइएपछि पौडेलले पार्टीबाटै सन्यास लिएर घरमा आराम गर्ने भने । र, महाधिवेशनको बन्द सत्रमा उनले उम्मेदवारी नै दिएनन् ।

पौडेललाई सभापतिका लागि स्थान छाडिदिएका थिए, शशांकले । तर, दाई शेखरले सभापति आफैँ लड्ने अरुलाई लड्न नदिने अडान राखे । बीचमा यस विषयमा निकै घनिभूत छलफल भयो तर, निष्कर्ष शून्य ! हुन सक्छ– यस्तो रणनीति कोइराला दाजुभाइकै थियो र त शशांक सभापतिको दौडबाट बाहिरिए ।

देउवा प्यानलतिर…
महाधिवेशनमा सबैभन्दा ढिला गरी देउवा प्यानलले उम्मेदवारी दर्ता गरेको थियो । प्यालनमा कस्लाई खुसी बनाउने भन्नेमा भद्रगोलै थियो । उम्मेदवारी दर्ता गर्ने समय छिप्पिदै जाँदा देउवाले कृष्ण सिटौला समूहसँग लुसुक्कै गठबन्धन गरे ।गठबन्धन गरेपछि सभापतिमा देउवा, उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, महामन्त्रीमा सिटौलानिकट प्रदीप पौडेल र डा. प्रकाशशरण महतले उम्मेदवारी दिए ।

सिटौला समूहलाई देउवा प्यानलबाट महामन्त्री बनाएपछि असन्तुष्ट रहेका बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र मीन विश्वकर्मा रिसाए । तर, खाँणले भने देउवालाई सभापतिमा जिताउन भूमिका खेल्ने बताए ।यसअघि खाँण र कार्की महामन्त्री र विश्वकर्मा सह महामन्त्रीको दाबी गर्दै आएका थिए । उम्मेदवार दर्ता गर्ने अन्तिम समयसम्म कांग्रेस सभापति र महामन्त्रीमा ६÷६ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २५ गते शनिवार