• २०८१ असोज २४ गते बिहिवार
  • Preeti To Unicode

अन्तत: ‘भाइहरूका लागि’ रामचन्द्र गए वनबास !


काठमाडौं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार बक्तव्य जारी गरी १४औं महाधिवेशनको प्रतिश्पर्धाबाट अलग भएको जानकारी दिएका छन् ।भृकुटी
मण्डपमा जारी महाधिवेशनमा कुनै पदको उम्मेद्वारी नदिएका पौडेल शुक्रबार साँझसम्म भने संस्थापन इतर समूहबाट साझा उम्मेद्वार तय गर्न भएको छलफलमा सोमल थिए ।तर लगातार

पाँच दिन भएको छलफलले साझा उम्मेद्वार तयार पार्न नसकेपछि शनिबार यो समूहका नेताहरू डा.शेखर कोइराला र प्रकाशमान सिंहले सभापति पदमा अलग–अलग उम्मेद्वारी दिए । ‘प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिश्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा पुगेँ’ पौडेलले लेखेका छन्, ‘तथापि एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडि नै रहनेछु ।’पौडेलको बक्तव्य निकै पीडादायी र निराशाजनक छ, ‘मैले कांग्रेसलाई जुन रुपमा बुझ्दै आएको थिएँ, त्यो कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ ।’ पौडेलको निराशा, गएको २१ मंसिर साँझ आफू निकट नेताहरुको छलफलमा पनि प्रकट भएको थियो । त्यो छलफलमा पौडेलले सक्रिय राजनीति र पार्टीबाट विश्राम लिनेसम्म बताएका थिए ।

त्यो साँझको अभिव्यक्ति र शनिबारको बक्तव्यको कारण हो– आफू आवद्ध समूहबाट सभापतिको साझा उम्मेद्वार बन्न नपाउनू । पौडेललाई साझा उम्मेद्वार मान्न पूर्वमहामन्त्री सिंह, निवर्तमान महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला तयार भएनन् । शेखरका लागि शशांकले मैदान छोडे । तर शेखर र प्रकाशमानले अडान छोडेनन् । पौडेलले हार खाँदै २० मंसिर साँझ चाक्सीबारीमा भएको छलफलमा सर्त राखेका थिए– ‘दुई जना (शेखर र प्रकाशमान) मिल्ने हो भने म उम्मेद्वारी दिन्नँ ।’ तर मनोनयन दर्ता हुने बिहान (२५ मंसिर) सम्म कुरा मिलेन ।शेरबहादुर देउवालाई फेरि सभापति बन्नबाट रोक्न साझा उम्मेद्वार उठाउनुपर्ने नेताहरुको निष्कर्षमा पौडेलले आफूलाई अगाडि बढाउनु अस्वभाविक भने थिएन । किनकि पौडेल एकपटक (२०७२ माघमा सभापति सुशील कोइरालाको निधन भएपछि) कार्यबाहक सभापति बनिसकेका थिए भने १३औं महाधिवेशनमा देउवासँग सभापतिका निम्ति प्रतिश्पर्धा गरेका थिए । त्यो महाधिवेशनमा देउवा विरुद्धको समूहमा रहेका नेताहरुलाई मनाएर साझा उम्मेद्वार बन्ने प्रयत्न र गतिविधिमा पौडेलले गरेका पनि थिए ।

अझ बितेको एक वर्ष त, पौडेलले लिएकै बाटोमा कांग्रेस हिड्यो । १८ मंसिर २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले तनहुँमा धरपकड गरेपछि पौडेल आक्रामक विपक्षीका नेताका रुपमा प्रस्तुत भएका थिए । ५ पुस २०७७ मा ओलीले प्रधानमन्त्रीको हैसियतमा संसद् विघटन गर्ने निर्णय गरेपछि पौडेल सडक आन्दोलनमा उत्रिए, गगन थापा सहित युवा नेताहरुको साथ पाए ।देउवा भने संसद् विघटनको निर्णय उल्ट्याउन सडक आन्दोलनको बाटो जान नहुने अडानमा रहे । बरू उल्टै अध्यादेशबाट संवैधानिक नियुक्ति गर्दा ओलीसँग भागबण्डा लिए । शुक्रबार महाधिवेशन उद्घाटनसभामा पौडेले यी घटनाहरू सम्झिए पनि । ‘मैले दमौलीबाट संसद् विघटन गर्ने प्रतिगामी कदमको विरुद्ध आन्दोलन थालेँ, अहिले सरकार हाम्रो नेतृत्वमा छ । काँग्रेसको सभापति प्रधानमन्त्री हुनुहुन्छ’, २०७४ को चुनाव हारेर पनि सरकारको नेतृत्व पार्टीले लिने अवस्था बन्नुमा आफ्नो भूमिकाबारे पौडेलले भनेका थिए ।

पार्टीभित्र त, पौडेल लगातार संस्थापन इतर समूहका नेताका रुपमा रहे । देउवाले लिने हरेक पार्टी निर्णयबारे धारणा बनाउन आफ्नो समूहका नेताहरुसँग छलफल राखे, र सार्वजनिक अभिव्यक्ति दिए । तर १३औं महाधिवेशनमा आफ्नै समूहमा रहेका अनि उमेर, अनुभव र वरियताले निकै पछि रहेका शेखर (७१ वर्ष) र प्रकाशमान (६५ वर्षं) ले देउवाविरुद्ध उम्मेद्वारी दिदा पौडेल भने (७७ वर्ष) पार्टी जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेका छन् ।

ती रामचन्द्र
अहिले पार्टीभित्र गुटको साझा उम्मेद्वार समेत बन्न नपाएर आउने पुस्तासँग पार्टी जोगाउने अपेक्षा गर्ने अवस्थामा पुगेका पौडेल कुनैबेला कांग्रेसकै सम्भावना बोकेका नेता थिए । बीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधिहरु संस्थापक रहेको कांग्रेसको नेतृत्व गर्ने नेताका रुपमा उनलाई हेरिन्थ्यो ।अर्थात्, संस्थापक नेतापछि कांग्रेसको नेतृत्व गर्ने तीन नेता मध्ये पौडेल एक थिए । उनीसँगै थिए, शेरबहादुर देउवा र शैलेजा आचार्य । यी तीन नेता पार्टीपंक्तिमा आरएसएस (रामचन्द्र, शेरबहादुर र सैलेजा) का रुपमा चिनिन्थे । यसपछि एकेजेबी अर्थात् अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र बिजयकुमार गच्छेदार स्थापित भएका हुन् ।

लोकतन्त्रका लागि १३ वर्ष जेल बसेका पौडेल बहुदल आएपछि पनि पार्टी राजनीति, संसद् र सरकारमा राम्रै भूमिकामा रहे । २०४८ पछि लगातार पाँच पटक संसदीय चुनाव जित्ने थोरै नेतामा पौडेल पनि रहे । २०४८ मा तनहुँ–१ बाट संसद बनेका पौडेल स्थानीय विकास तथा कृषिमन्त्री बने । तर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् भंग गर्दै मध्यावधि निर्वाचन गरे । २०५१ को मध्यावधि चुनावमा पौडेलले तनहुँ–२ बाट जिते ।उनी प्रतिनिधिसभाको सभामुख बने । त्यसबेला तिक्ततापूर्ण सम्बन्धमा रहेका कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला दुवैको दबाबमा पौडेल सभामुख बनेका थिए । ‘सभामुख बन्ने मेरो चाहना नै थिएन । किनकि म सक्रिय राजनीतिमा रहन चाहन्थे’, पौडेलले सार्वजनिक रुपमै भन्दै आएका छन्, ‘तर किसुनजी, गिरिजाबाबुहरुले कर गरे ।’ त्यसबेला उनी ४९ वर्षका थिए ।

सक्रिय राजनीति नै प्राथमिकतामा राख्ने पौडेलले २०५६, २०६४ र २०७० को चुनाव पनि तनहुँ–२ बाटै जिते । २०६४ मा चुनाव जित्ने ३१ जना कांग्रेस नेतामध्ये उनी पनि थिए । कार्यबाहक उपसभापति रहेका सुशील कोइरालाले चुनाव हारेका थिए । अन्तरिम सरकारका प्रधानमन्त्री एवम् सभापति गिरिजाप्रसाद कोइरालाले प्रत्यक्ष चुनावमा भाग लिएका थिएनन् । त्यसैले २०६४ को संविधानसभा निर्वाचनपछि पौडेल संसदीय दलका नेता बने । देउवासँगै चुनाव लडेर उनी दलका नेता बनेका थिए । देउवाले ४८ मत पाउँदा पौडेलले ६१ मत ल्याएका थिए ।तर तिनै देउवासँग पौडेल कार्यबाहक सभापतिका रुपमा उम्मेद्वार बन्दा पनि सभापतिमा (१३औं महाधिवेशनमा) पराजित भए । देउवा र उनी निकट नेताहरू पौडेललाई नेतृत्वका निम्ति हिम्मत नगर्ने नेताको संज्ञा दिन्छन् । यस्तो संज्ञा दिनुको कारण भने २०५९ मा कांग्रेस विभाजित हुँदा कांग्रेस प्रजातान्त्रिकको सभापति पौडेललाई बनाउने देउवाको तयारी थियो । तर सधैं संस्थापन र कोइराला पक्ष नछोडेका पौडेलले अन्तिम समयमा विभाजित पार्टीको सभापति बन्न इन्कार गरे । कलबलगुडी (२०४८ सालमा भएको आठौं महाधिवेशन) महाधिवेशनबाट पौडेलसँगै केन्द्रीय सदस्य बनेका देउवा विभाजित पार्टीको सभापति बने । कांग्रेस प्रजातान्त्रिकका सभापतिको हैसियतमा प्रधानमन्त्री पनि बने ।

फेरि २०६३ सालमा राजतन्त्रको अन्त्य भए सँगै ४० प्रतिशत हिस्सा लिएर देउवा पार्टी एकतामा आए । त्यसबेला भने देउवा भन्दा पौडेल नै पार्टी बलिया थिए । नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि बनेको शान्ति तथा पुननिर्माण मन्त्रालयको नेतृत्व पौडेलले गरे । गिरिजाप्रसाद कोइरालाको निधनपछि भएको १२औं महाधिवेशनमा सुशीलविरुद्ध सभापतिमा देउवा पराजित भए । सुशीलले पौडेललाई उपसभापति मनोनयन गरे । पार्टी उपसभापति र दलका नेता भएकाले सरकारको नेतृत्व कांग्रेसले पाएमा पौडेल प्रधानमन्त्री हुन्थे । त्यो अवसर पौडेलले पाएका पनि थिए । गिरिजाप्रसाद कोइराला डिजाइनमा २१ दलीय गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका एमाले नेता माधवकुमार नेपालले राजीनामा दिएपछि संसद्मा नयाँ प्रधानमन्त्रीको बाटो खुलेको थियो । कांग्रेसले पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनायो पनि । तर १७ पटक संविधानसभामा मतदान हुँदा पनि पौडेलले बहुमत पाउन सकेनन् ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने तत्कालीन सभापति सुशील कोइराला बाँकेबाट चुनाव जितेर आए, प्रधानमन्त्री हुँदै २०७२ मा संविधान जारी गर्ने नेतृत्व गरे । पार्टीभित्र देउवाले अलग धारको नेतृत्व गरिहँदा सुशीलको निधनपछि फेरि पौडेलकै काँधमा यो समूहको नेतृत्व गर्ने दायित्व आइलाग्यो । तर १३औं महाधिवेशनमा आफ्नै समूहका शशांक महामन्त्री र सितादेवी यादव कोषाध्यक्ष निर्वाचित हुँदा पौडेल सभापतिमा पराजित भए ।सभापतिमा पराजय भएको दुई वर्ष नबित्दै पहिलोपटक सांसदको निर्वाचन पनि हारे । लगातार चुनाव जित्दै आएका पौडेल तनहुँ–१ बाट २०७४ मा व्यापारिक पृष्ठभूमिका कृष्णकुमार श्रेष्ठसँग ६४१४ मतान्तरले पराजित भएका थिए । २०७० मा तिनै एमाले उम्मेद्वार श्रेष्ठलाई पौडेलले हराएका थिए । तर एमाले र माओवादीबीच गठबन्धन हुँदा राजनीतिक जीवनको पहिलो हार पौडेलले खेपे ।

संसदीय चुनावमा हारेका पौडेलले २४ मंसिरमा शुरु भएको १४औं महाधिवेशनमा दोहोरिएर सभापतिको उम्मेद्वार समेत बन्न पाएनन् । तर पौडेलपछि हटेकै कारण शेखर र प्रकाशमानले कांग्रेसमा नाति पुस्ता मानिने नेताहरु समेटेर प्यानल बनाएका छन् । शेखरले राजतन्त्र अन्त्य गर्ने २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनका प्रतीक गगन थापालाई सभापति पछिको महत्वपूर्ण पद महामन्त्रीका उम्मेद्वार बनाएका छन् भने सिंहले विश्वप्रकाश शर्मालाई । देउवाले प्रदीप पौडेललाई महामन्त्री पदको उम्मेद्वार बनाएका छन् । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १३ पदका लागि प्रतिश्पर्धा गर्नेमा पुराना पुस्ताका देउवादेखि नाति पुस्ताका नेताहरु गरी ३९ जनाको दावेदारी परेको छ ।

अर्थात्, रामचन्द्रको अवस्था भने धार्मिक ग्रन्थ रामायण वर्णित रामकै जस्तो छ । रामायणमा आमाहरुद्वारा सिर्जित समस्यामा रामले भाइका निम्ति बनवास रोजेका छन्, रामचन्द्रले भाइहरुको समस्या देखाएर प्रतिश्पर्धामा नरहने निर्णय लिएका छन् । ‘प्रतिश्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरुले आफ्नो विवके प्रयोग गरेर लोकतान्त्रिक प्रतिश्पर्धाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने शुभेक्षा व्यक्त गर्दछु’, पौडेलले भनेका छन् ।पौडेलको राजनीतिक यात्रा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, शैलेजा आचार्यहरुले जसरी नै अन्त्य हुन्छ वा फरक रुपमा ? त्यो चाहिँ आउनेवाला नेतृत्वको निर्णय र पौडेलको रोजाइमा भर पर्ने देखिन्छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार