• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

संसद बैठक भोलि : छ अध्यादेश पेश गरिने


काठमाडौं । मंगलबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेश हुने भएको छ । संसद सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा
६ वटा अध्यादेश पेश गर्ने उल्लेख छ ।मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद अधिवेशन आह्वानसम्बन्धी

पत्र पढेर सुनाउनेछन् ।त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गर्नेछन् । उनले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गर्नेछन् ।त्यस्तै भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवले रेल्वे अधयादेश २०७८ पेश गर्ने, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेश गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो २ बजे बस्ने गरी संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी छन् । संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसदको पहिलो बैठकमा नै पेश गर्नुपर्ने प्रावधान छ ।

एमालेले संसद अवरोध गर्नु कानुनसम्मत छैन : सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले संसदको अघिल्लो अधिवेशनमा प्रमुख विपक्षी दल नेकपा एमालेले गरेको संसद अवरोध कानुन र नियमसम्मत नरहेको बताएका छन् ।सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै एमालेले गरेको संसद अवरोध नियम र कानुन अनुसार नभएको बताएका हुन् ।उहाँहरुले जे गरिराख्नुभएको छ त्यो संविधान, नियम, कानून अनुसार छैन । नेपाली जनताले यसलाई छर्लङ्ग बुझेका छन्’ उनले भने ।नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपालसहितका सांसदलाई पार्टीबाट निष्कासनको कारबाही गरे पनि सभामुखले मान्यता दिएका थिएनन् । त्यसैले अघिल्लो अधिवेशनमा एमालेले सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै संसद बैठक अवरुद्ध गरेको थियो । तर सभामुख सापकोटाले आफूले निष्पक्ष र तटस्थ भूमिका नै निर्वाह गरेको दावी गरे ।

‘जहाँसम्म मेरो सवाल छ, मैले तटस्थ, निष्पक्ष, स्वतन्त्र रुपमै गरेको छु र अझ मैले भन्नुपर्दाखेरि मैले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर नै सबै कुरा गरेको छु र सधैंभरि त्यही गर्न म प्रतिवद्ध छु’ सभामुख सापकोटाले भने ।उनले संसदको प्रभावकारिता राजनीतिक दलहरुको भूमिकामा निर्भर हुने बताएका छन् । ‘मुख्यत्ः यो सदन भनेपछि पार्टीहरुकै भुमिका निर्णायक हुन्छ । सभामुखको भुमिका भनेको त समन्वय गर्ने, सहजीकरण गर्ने अर्थात खेलको अम्पायर जस्तो पनि हो सभामुख । जतिबेला खेल सुरु हुन्छ त्यतिबेर सभामुखको भुमिका देखिँदै जान्छ ।’मंगलबारदेखि संसदको हिउँदे अधिवेशन शुरु हुँदैछ । केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेको भन्दै संसद अवरोधलाई निरन्तरता दिने आशय व्यक्त गरेका थिए । सभामुख सापकोटाले आवश्यक परे विपक्षी दलसँग छलफल गर्ने बताए ।

‘मेरो तर्फबाट सोचेको, कार्यव्यवस्था (परामर्श समितिको बैठक)मा पनि छलफल गर्ने, उहाँहरुलाई खुलाउनुस्, सुचारु गरौँ भनेर उहाँहरुसित छलफल गर्ने र फेरि पार्टीहरुसँग छलफल गर्ने, आवश्यकता अनुसार फेरि सर्वदलीय बैठकहरु गर्ने, मेरो भूमिका त त्यही होला जस्तो लाग्छ’ उनले भने ।मंगलबार संसद अधिवेशन शुरु हुने भएकाले सभामुख सापकोटाले संसद भवन नयाँ बानेश्वर पुगेर संसद सचिवालयको तयारीको अवलोकन गरेका छन् । संसद बैठकका लागि सम्पूर्ण तयारी पूरा गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयले प्राविधिक तयारी, सिट व्यवस्थापनको काम सकिएको र बैठकमा उपस्थित हुने सांसदहरु र कर्मचारी लगायतको एन्टिजेन विधिबाट कोरोना भाइरस परीक्षण भइरहेको पनि जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार