• २०८१ भाद्र २३ गते आइतवार
  • Preeti To Unicode

चर्चामा संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा एपीसी हाँक्ने पहिलो महिला सैनिक


काठमाडौँनेपाली सेनाकी असिम बानियाँले संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा एपीसी(बख्तरबन्द गाडी)चलाउने भएकी छन् ।यूएन राष्ट्रसंघीय शान्ति मिसनको
६० वर्षभन्दा बढी अवधिमा नेपालबाट पहिलो पटक महिला सैनिकलाई एपीसी चलाउने अवसर आएको हो । बानियाँ नेपाली सेनामा पनि एपीसी चलाउने पहिलो महिला चालक हुन् ।२०६२

पुस १० मा सेवामा प्रवेश गरेकी बानियाँ प्युठ हुन् । उनी अहिले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ‘प्रि–डिप्लोयमेन्ट’ तालिम लिइरहेकी छन् । ‘सैनिक सेवामा प्रवेश गरेपछि नै मैले ड्राइभिङ गर्ने अवसर पाएँ । मेरो कामको मूल्यांकन गरेरै युनिटले मलाई हेभी ड्राइभिङ र त्यसपछि एपीसी ड्राइभिङको तालिममा पठाएको हुन सक्छ,’ बानियाँले नेपाली सेनाको ‘सिपाही पाक्षिक’ सँग भनेकी छन् ।उनले पहिलोपटक एपीसीको ड्राइभिङ सिटमा बस्दाको अनुभव सुनाइन्, ‘तालिमको दौरानमा पहिलो पटक ड्राइभिङ सिटमा बस्दा अलि धेरै नर्भस भएँ । एपीसीभित्र सबै मेसिनरी सामान मात्रै, कुनै सानो फ्याट्रिभित्र छिरेको जस्तो भयो,’ उनले भनिन्, ‘ड्यास बोर्डहरु हेरें । सम्हालिदै स्टेरिङ समातें । गुरुजीले सिकाएअनुसार गरें । विस्तारै आत्मविश्वास बढ्दै गयो ।’

नेपाली सेनाका अनुसार एपीसी हाँक्न विशेष प्रकृतिको तालिम र क्षमताका साथै आँट चाहिन्छ । एपीसी युद्धग्रत क्षेत्रमा सैनिकहरुले हतियार बोक्न तथा आफूलाई क्षति नहुने गरी विपक्षीलाई आक्रमण गर्न प्रयोग गर्छन् । एपीसीका विभिन्न भागमा जडित हतियार चलाएर विपक्षीविरुद्ध लड्न सकिन्छ । सेनाका अनुसार बानियाँ मध्य अफ्रिकी गणतन्त्रको ‘मल्टिडाइमेन्सन इन्ट्रिग्रेटेड स्ट्याबिलाइजेसन’ मिसनमा भाग लिन चाँडै जानेछिन् ।

राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकहरुमा सन् १९४८ देखि शान्ति सैनिक र पर्यवेक्षक खटाउँदै आएको छ । नेपालले सन् १९५८ देखि नेपाली शान्ति सैनिक द्वन्द्वग्रस्त मुलुकमा पठाइरहेको छ । नेपालबाट पहिलो पटक लेबनानमा नेपाली सैनिक पर्यवेक्षक खटाइएको थियो । नेपालले कन्टिन्जेन्टका रुपमा सन् १९७४ देखि नेपाली शान्ति सैनिकको फौज खटायो । सन् १९७४ मा युनाइटेड नेसन्स इमर्जेन्सी फोर्सअन्तर्गत साईनाईमा नेपालका तर्फबाट पुरानो गोरख गणले भाग लिएको थियो ।

सेनाका अनुसार हालसम्म विभिन्न मिसनमा १ लाख ३७ हजार ६ सय २२ नेपाली सैनिकले विश्वशान्तिका लागि योगदान गरिसकेका छन् । अहिले नेपालका ५ हजार २ सय ३५ शान्ति सैनिकले विभिन्न मुलुकमा जिम्मेवारी बहन गरिरहेका छन् ।

सुरुआती दिनमा महिला डाक्टर र नर्स मिसनमा जाने गर्थे । पछिल्ला दिनमा भने महिला सैनिक सबैमा खटिन थालेका छन् । सेनाका अनुसार हालसम्म एक हजार ७ सय २९ महिला सैनिकले शान्ति सेनामा भूमिका खेलिसकेका छन् । महिला सैनिकले पुरुष सैनिक सरह सबै काम गर्न सक्छन् भन्ने आफ्नो कामले देखाएको बानियाँ बताउँछिन् । ‘आफूलाई कमजोर नठानी आँट गरे अगाडि बढ्न सकिन्छ,’ उनले भनिन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार