काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणमा निर्वाचनको तयारी भइरहेको छ ।पहिलो चरणमा कुनै पनि उम्मेदवारले
५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेका कारण दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने भएको हो ।दोस्रो चरणका लागि पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुईजना बीच प्रतिस्पर्धा हुनेछ।
पहिलो चरणमा सभापति पदका लागि पाँच उम्मेदवार रहेकोमा सबैभन्दा बढी मत शेरबहादुर देउवा र दोस्रो बढी मत शेखर कोइरालाले ल्याएका थिए ।दोस्रो चरणको चुनावी रेसबाट बाहिरिएका बाँकी तीन उम्मेदवारमध्ये प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणमा देउवालाई नै सघाउने घोषणा गरिसकेका छन् । यसले गर्दा दोस्रो चरण देउवाका लागि सहज भएको हो ।
पहिलो चरणमा ४ हजार ६ सय ८१ मतमध्ये देउवाले २२५८ मत पाएका थिए । उनका निकटम प्रतिस्पर्धी शेखर कोइरालाले १७०२ मत पाए ।पहिलो चरणमा प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २५० मत पाएका छन् । यी दुवैले देउवालाई नै सघाउने घोषणा गरिसकेका कारण यिनले पाएको मत देउवालाई नै जोड्ने हो भने देउवाको पक्षमा २८७९ मत पुग्ने देखिन्छ । यद्यपि १३ औं महाधिवेशनमा दोस्रो चरणमा भएको मत परिणामलाई हेर्ने हो भने पहिलो चरणको निर्वाचनपछि प्रतिस्पर्धाबाट बाहिरिएका उम्मेदवारले समर्थन गर्दैमा सबै मत आफू समर्थित उम्मेदवारलाई नै जान्छ भन्ने ग्यारेन्टी देखिँदैन ।
यद्यपि, पहिलो चरणमा देउवाले हासिल गरेको मतलाई आधार मान्ने हो भने जितका लागि देउवालाई अब ‘रिङ आउट’ भएका प्रत्यासीमार्फत थोरैमात्र मतको सहयोग आवश्यक पर्दछ । त्यसैले पनि देउवाका लागि दोस्रो चरणको प्रतिस्पर्धा सहज बन्दै गएको हो ।दोस्रो चरणको निर्वाचनमा सभापति पदका दुई उम्मेदवारमध्ये जसले बढी मत ल्याउँछ, उही विजयी हुन्छ ।
पहिलो चरणमै ४८ प्रतिशतभन्दा बढी मत ल्याएका देउवाले दोस्रो चरणका लागि ‘रिङ आउट’ भएका सिंह र निधिको समर्थनसमेत जुटाएका कारण सहजै जित हासिल गर्ने आँकलन गरिएको छ ।