• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

१० कक्षा पास गरेकालाई मात्र सार्वजनिक सवारी चलाउन लाइसेन्स दिइने, यी काम गरे लाइसेन्स नै खारेज हुने !


काठमाडौँःसरकारले सवारीचालक अनुमतिपत्र(लाइसेन्स)व्यावसायिक र निजी प्रयोजनका लागि छुट्टाछुट्टै दिने तयारी गरेकोछ।सवारी तथा यातायात व्यवस्था ऐन, २०७७’
ल्याएर दुईथरी लाइसेन्स दिन लागिएको हो। ऐन ल्याउन यातायात व्यवस्था विभागले ड्राफ्ट गरिसकेको छ। राय, सुझावका लागि उक्त ड्राफ्ट मंसिर २ गते कानुन मन्त्रालय पठाएको छ।

प्रस्तावित विधेयक अनुसार सार्वजनिक सवारी चलाउनको लागि सम्बन्धित वर्गको व्यवसायिक चालक अनुमतिपत्र अनिवार्य लिनु पर्नेछ।यस्तो लाइसेन्सको अनुमतिपत्र प्राप्त गर्नका लागि दश कक्षा उत्तीर्ण हुनुपर्छ। कसैले व्यवसायिक सवारीसाधन चलाउन चाहेमा कानुन बमोजिम तोकेको निकायबाट अनुमतिपत्र लिनु पर्नेछ।लाइसेन्स प्राप्त व्यक्ति ठूलो व्यावसायिक सवारीसाधन चलाउनका लागि त्यस्तो अनुमति लिएको चार वर्षपछि मात्र योग्य मानिनेछ। अहिले व्यावसायिक रुपमा सवारीसाधन चलाइरहेका चालकहरुको हकमा भने यो नियम लागू हुनेछैन।’यो ऐन लागु हुनु अघि सवारीचालक अनुमतिपत्र लिइ व्यवसायिक सवारीसाधन चलाइ रहेका चालकको हकमा उपदफा (२) बमोजिम अवधि लागू हुने छैन।’ प्रस्तावित ऐनमा उल्लेख छ।व्यावसायिक लाइसेन्स लिने चालकले प्रत्येक दुई बर्षमा नेपाल सरकारकाबाट मान्यता प्राप्त स्वास्थ्य सस्थाबाट परीक्षण गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।

यातायात व्यवस्था विभागले गरेको एक अध्ययनले ८० प्रतिशत दुर्घटना चालकका कारणले भएको देखाएको छ। सोही कारण सार्वजनिक सवारीसाधनका चालकलाइ जिम्मेवारी बनाउन लागिएको विभागका एक निर्देशकले बताए।’हामीले फरक हिसावले ट्रायल लिने गरि कार्यविधि बनाउन लागेका छौं। लिखित परीक्षादेखि ट्रायलसम्म फरक हुनेछ,’ उनले भने,’ २/३ महिना कोर्स नै गराउने योजना छ। रोडमै टेस्ट गराएर मात्र लाइसेन्स दिन्छौँ।’-उनले भने।त्यसका लागि ऐन आएपछि छुट्टै कार्यविधि बनाउने तयारीमा विभाग छ। उनका अनुसार निजी सवारीसाधन चलाउनेले आफ्नो परिवार लिएर हिडेको हुन्छ। जिम्मेवार हुनैपर्ने बाध्यता हुन्छ। तर सार्वजनिक सवारीसाधन यात्रु हुने हुँदा जिम्मेवार हुन खोज्दैनन्। जसको ठूलो क्षति छ,’उनले भने, ‘त्यसैले सार्वजनिक सवारीसाधनको चालकलाइ जिम्मेवार बनाउनैपर्छ।’

उमेर हद ६० बर्ष
प्रस्तावित विधेयकमा सार्वजनिक सवारीसाधनका लागि उमेर हद ६० बर्ष तोकेको छ। ठूला र मझौला सार्वजनिक सवारीसाधनका लागि ६० बर्ष पूरा गरेका चालक सवारीसाधन चलाउन अयोग्य हुने उल्लेख छ। ठूला सवारीसाधनको निमित्त लाइसेन्स लिनका लागि २३ वर्ष हुनुपर्नेछ। मझौलाका लागि २१ वर्ष हुनुपर्ने छ। सानो दुइ पाङग्रे, मोपेडका लागि १८ वर्ष पूरा हुनुपर्ने छ।
‍सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा सानो सवारी चलाएको दुई वर्षमा मात्रै मझौला र ठूला सवारीको लाइसेन्स लिन पाइने उल्लेख छ। तर अब लाइसेन्स लिएको चार वर्षपछि मात्रै ठूला सवारीको लाइसेन्स लिन मिल्नेगरी संशोधन प्रस्ताव गरिएको छ।

यी काम गरे लाइसेन्स नै खारेज हुने !
प्रस्तावित विधेयक अनुसार लाइसेन्स प्राप्त गरेको व्यक्तिले जानीजानी वा मनसायबस कुनै मानिसको मृत्यु हुने गरी दुर्घटना गराएको भनी कुनै अदालतमा मुद्धा दायर भएमा त्यस्तो मुद्धाको अन्तिम किनारा नलागेसम्मको लागि निजले प्राप्त गरेको चालक अनुमति पत्र निलम्वन गर्न सकिनेछ।

लाइसेन्स निलम्वन गरिएको मुद्धामा चालक अदालतबाट कसुरदार ठहरिएमा भविष्यमा कुनै पनि सार्वजनिक सवारी साधन चलाउन नपाउने गरी निजले प्राप्त गरेको चालक अनुमतिपत्र खारेज गर्न सकिने उल्लेख छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार