• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित


काठमाडौँकांग्रेसको १४ औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार
बनेका थापाले सबैभन्दा बढी ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् ।त्यस्तै, १९८४ मत ल्याउँदै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित भए।केन्द्रीय

निर्वाचन समितिले भने मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी छ ।प्रकाशशरण महत १५५० मतसहित तेस्रो स्थानमा रहे । प्रदीप पौडेल भने १४०९ मतसहित चौथो स्थानमा रहे। त्यस्तै मीनेन्द्र रिजालले ८०९ मत प्राप्त गरे । त्यस्तै राजाराम कार्कीले १०७ मत प्राप्त गरेका छन् ।

यसैबीच मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् । महामन्त्रीको प्रारम्भिक मतपरिणाम आएसँगै उनले राजीनामाको घोषणा गरेका हुन् ।महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् ।

त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् । सभापतिमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा गएको थियो । दोस्रो चरणमा सिंह र निधिले देउवालाई समर्थन गरेका थिए ।

सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको छ ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार