• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

मोरङ एमालेमा लफडा, ओली पक्षका नेताले गरे बैठक बहिष्कार, युवा समूहले गर्यो छुटै भेलाको तयारी


नेकपा एमालेको मोरङ जिल्ला कमिटीमा लफडा भएको छ ।जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा बसेको जिल्ला कमिटी बैठकलाई ओली पक्षका युवा नेताहरुले बहिस्कार
गरेका छन् । पदाधिकारी छनोट गर्ने विषयलाई लिएर असहमति जनाउँदै युवाको समूहले बैठक बहिष्कार गरेको हो । युवाको समूहले छुटै भेलाको तयारी समेत गरेको छ ।विराटनगरको

कञ्चनजङ्गा पार्टी प्यालेसमा बिहीबार बसेको एमाले जिल्ला कमिटीको बैठकमा पदाधिकारीको आकांक्षी रहेका रबिन थापा र सन्तोष बान्तवासहित युवाको समूहले बैठक बहिष्कार गरेको हो । उनीहरुसँगै पार्टीका प्रदेश सदस्य परामर्श बस्नेत पनि बैठकबाट बाहिरिएका थिए ।बहिष्कार गर्ने थापा जिल्ला कमिटी सचिवको आकांक्षी हुन् भने बान्तवा उपसचिवका आकांक्षी छन् । थापाले जिल्ला कमिटीको बैठकमा आफूहरुको कुरा नसुनी जिल्ला नेतृत्वले अन्यायपूर्ण तवरले पेलेर जाने शैली अपनाएकाले आफूहरुले बैठक बहिष्कार गरेको बताए ।‘हामी आगामी २३ गते जिल्ला अधिवेशनमा जाँदैछौं,’ थापाले भने, ‘यो २०÷२२ दिनका लागि बैठकबाट पदाधिकारी बनाउने तयारी जिल्ला नेतृत्वबाट भयो, यो कुरामा हाम्रो विमति छ ।’ जिल्ला नेतृत्व स्वेच्छाचारी ढंगले अगाडि बढेको विरोधमा आफूहरुले बैठक बहिष्कार गरेको थापाले बताए । थापा युवासंघका केन्द्रीय उपध्यक्ष हुन् ।

बैठक बहिस्कार गरेर हिँडेका प्रदेश कमिटी सदस्य परशुराम बस्नेतले पनि पार्टीमा व्यक्तिवादी चिन्तन हाबी हुँदै गएकाले आफूलाई त्यो स्वीकार्य नभर बैठकबाट बाहिरिएको बताए । उनले गोजीबाट सूची निकालेर पदाधिकारी छनोट गर्ने संस्कारले कम्युनिष्ट आन्दोलन समाप्त हुने निष्कर्षसहित बैठक बहिष्कार गरेको बताए ।बस्नेतले आइतबार छुट्टै जिल्ला कमिटीको भेला गर्नेसमेत बताए । कुनै समय एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीका निकट मानिने बस्नेत पछिल्ला समय एमाले पार्टीभित्रै पाखामा पर्दै आएका छन् ।

यता जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोख्रेलले बैठक बहिस्कार गरेको बिषयमा आफूलाई जानकारी नभएको बताउँछन् । पार्टीभित्र कुनै समूह नभएको दाबी गर्दै उनले भने, ‘नेकपा एमालेप्रति बैरभाव सिर्जना गराउन कसैले प्रचार गरेको विषय होला, जिल्ला बैठक जारी छ ।

’उनले आगामी पुस २३ गते हुने एमालेको जिल्ला अधिवेशनको तयारीका लागि आवश्यक व्यवस्थापनका निम्ति १६५ सदस्यीय सम्मेलन आयोजक निर्माण कमिटी गठन गर्ने बताए ।एमालेको जिल्ला कमिटी बैठकमा जिल्ला सदस्य, प्रदेश र केन्द्रका नेताहरुको पनि उपस्थिति छ । एमालेका केन्द्रीय नेता भानुभक्त ढकाल, विनोद ढकाल लगायत सो बैठकमा सहभागी छन् ।

यसैबीच एमाले मोरङ जिल्ला कार्यसमितिको आजको बैठकले पदाधिकारी चयन गरेको छ । अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्षमा बाबुराम कार्की र सचिवमा रुपेश खतिवडालाई चयन गरेको हो। बैठकले १ सय ६५ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी बनाउने निर्णय गरेको अध्यक्ष पोखरेलले बताए ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार