• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमालेको वरियताक्रम सच्याइयो : रघुवीरको घटुवा, योगेश र गोर्कणको बढुवा


नेकपा एमालेले नेताहरुको वरियताक्रम सच्याएको छ । गत मंसिर २६ गतेको केन्द्रीय समिति बैठकले एमाले पदाधिकारीको कार्यविभाजसहित वरियताक्रम तोकेको थियो
।त्यसक्रममा खासगरी सचिवहरुको वरियताक्रमलाई लिएर आलोचना भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुको वरियताक्रम सच्याएर अन्तरपार्टी निर्देशन(अपानी)जारी गरेका छन्।

अध्यक्ष ओलीले पुस १ गते सच्चाएर जारी गरेको अपानीमा सचिवहरु गोकर्ण विष्ट र योगेश भट्टराई बढुवामा परेका छन् । यसअघि विष्ट र भट्टराईभन्दा अगाडि रघुवीर महासेठ र छविलाल विश्वकर्माको नाम थियो । अघिल्लो कार्यकालमा समेत सचिव भैसकेको र लोकप्रिय मत ल्याएर विजयी भएका विष्ट र भट्टराईलाई भन्दा वरियताक्रम निर्धारण गर्दा महासेठलाई अघि राखेको भन्दै एमालेभित्रै चर्को आलोचना भएको थियो । टोपबहादुर रायमाझी र लेखराज भट्ट भने सचिवको पहिलो र दोस्रो बरियतामै रहेका छन् । उनीहरु पुर्व माओवादी हुन् । सच्याएको वरियताक्रममा क्रमश रायमाझी र भट्टपछि तेस्रोमा गोकर्ण विष्ट रहेका छन् भने चौथोमा भट्टराई छन् । त्यसैगरी पाँचौ र छैठौंमा रघुवीर महासेठ र छविलाल विश्वकर्मा तथा सातौं वरियतामा पद्मा अर्याल रहेकी छन् ।

एमाले अन्तर पार्टी निर्देशन : कसलाई के जिम्मेवारी ?
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको छ । हालै चितवनमा सम्पन्न १०औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले अपानि जारी गर्दै पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको हो । एमालेले विभिन्न विभागका प्रमुख, उपप्रमुखसँगै प्रदेश र जिल्ला इन्चार्ज पनि तोकेको छ ।

अध्यक्ष केपी ओलीले पार्टीको समग्र नेतृत्व गर्नेछन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाएका छन् । उपाध्यक्षहरू युवराज ज्ञवालीले प्रदेश र स्थानीय तह संयोजन, अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजन, रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, विष्णुप्रसाद पौडेलले पार्टीको सांगठानिक कामको अनुगमन, सुवासचन्द्र नेम्वाङले संसदीय मामिला र सुरेन्द्रप्रसाद पाण्डेले राजकीय मामिलाको जिम्मा पाएका छन् ।

महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने जिम्मेवारी पाएका छन्। उपमहासचिवहरू प्रदीप ज्ञवालीले पार्टी स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग/प्रेस चौतारी नेपाल तथा सम्बद्ध संगठनको इन्चार्जको जिम्मा पाउँदा विष्णु रिमालले निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : २०७८ पुष ३ गते शनिवार