• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

ओलीका कारण एमसीसी पास नहुने भो : माओवादी


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले प्रमुख विपक्षी दल नेकपा एमालेका कारण अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट
(एमसीसी) संसदबाट पारित नहुने स्थिति आएको टिप्पणी गरेकाछन्।एमसीसी लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको सर्वदलीय बैठकमा एमाले

उपस्थित नभएपछि नेता शर्माले यस्तो टिप्पणी गरेका हुन् । ‘एमसीसी पास गर्न ओलीजीले संकट उत्पन्न गराउनुभयो । ओलीजीका कारणले नै एमसीसी पास नहुने भो’ नेता शर्माले भने ।सरकारमा छँदा एमालेले एमसीसी पास गर्न निकै पहल गरेको स्मरण गर्दै नेता शर्माले प्रश्न गरे, ‘एमसीसी पास गराउन सहयोग नगरेको भनेर सभामुखलाई आरोप लगाउने, अपदस्त गर्ने के के गर्नेले सरकारबाट हटिसकेपछि बेइमानीपूर्वक जनताको अगाडि लाज नमानीकन आवाज फेर्ने ?’एमालेले अन्तर्राष्ट्रिय स्तरमा वर्तमान सरकार कमजोर छ भन्ने देखाउनका लागि एमसीसीका सम्बन्धमा हुने छलफलमा सहभागी नभएको माओवादी नेता शर्माको आरोप छ ।‘एमसीसीबारे छलफल गरौं भन्दा सर्वदलीय बैठकमा उहाँहरु उपस्थित नभएपछि उहाँहरु नै एमसीसी असफल गराउने प्रयत्नमा हुनुहुन्छ भन्ने देखिन्छ’ नेता शर्माले अनलाइनखबरसँग भने, ‘यो सरकारले एमसीसी पास गर्न सकेन भनेर अन्तर्राष्ट्रिय स्तरमा कमजोर देखाउने प्रयत्न एमालेको ठाउँबाट शुरु भइसकेको छ ।’

अब पनि एमसीसी पास गर्नका लागि एमाले तयार हुनुपर्ने उनको भनाइ छ ।‘एमसीसी हाम्रो एजेण्डा हो यसलाई पास गर्नुपर्छ भनेर प्रतिपक्षको हैसियतमा दबाव दिनुपर्ने ठाउँमा एमसीसीको मतलब छैन भनेर, एमसीसी पास गर्न दिँदैनौं भन्ने जुन भनिन थालिएको छ त्यो भनाइ बेइमानीपूर्ण छ’ शर्माले भने ।
एमाले विनाको सर्वदलीय बैठक : एमसीसीबारे कुन दलको अडान के ?
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे छलफल गर्न बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा प्रमुख विपक्षी नेकपा एमाले सहभागी नै भएन । सत्तारुढ गठबन्धनमा रहेका दलहरुमा पनि एकमत देखिएन । बालुवाटारमा बसेको बैठकमा सबै राजनीतिक दलहरुले आ-आफ्नो धारणा राखेको र यस विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने देखिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।कुन दलको अडान के ?सर्वदलीय बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले एमसीसी सम्झौता खारेज गर्नुपर्ने मत राखेका थिए । राष्टिय जनमोर्चाका प्रतिनिधिले पनि टेबल गर्न पनि नहुने र पास गर्न पनि नहुने मत राखेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले एमसीसी पास गर्न समर्थन गर्न नसक्ने बताए ।

सत्तारुढ घटक जनता समाजवादी पार्टीका नेताहरु भने विभाजित रुपमा प्रस्तुत भएका थिए । अध्यक्ष उपेन्द्र यादवले हतार गर्न नहुने धारणा राखेका थिए । तर संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो निजी विचार भन्दै एमसीसीमा केही आशंका भएपनि अघि बढाउनुपर्ने बताए । यदि सहमति जुट्दैन भने लोकतान्त्रिक विधिअनुसार पनि अघि बढ्न सकिने उनले बताए ।बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुको धारणा भने समान थियो । एमसीसी सम्झौतामा प्रश्न उठेकाले तथ्यगत छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने बताएका छन् । ‘तपाईंहरुले हामीलाई अमेरिकी सहयोग लिनै चाहँदैनन् नभन्नुस्, हामी पनि तपाईहरुले राष्ट्रघात गर्ने नियत राख्नुभयो भन्दैनौं’ माओवादी केन्द्रका एक नेताले बैठकमा भएको छलफलबारे भने, ‘तथ्यगत रुपमा छलफल गरौं । तपाईहरुले सके हामीलाई कन्भिस गर्नुस्, हामीले सके तपाईंहरुलाई कन्सिभ गरौंला ।’

यद्यपि यथास्थितिमा भने एमसीसी सम्झौता अघि बढाउन नहुनु दुबै दलका नेताहरुको जोड थियो ।बैठकमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसका नेताहरु भने एमसीसी पास गर्नुपर्नेमा जोड दिएका छन् । एक नेता भन्छन्, ‘संसदमा टेबल गरौं भन्नमा प्रधानमन्त्रीको निकै जोड थियो । अरु नेताहरुले पनि पास गर्नुपर्छ भन्नुभयो ।’

सरकारका प्रवक्ता मन्त्री कार्कीले केही राजनीतिक दलले एमसीसी सम्झौताप्रति आशंका व्यक्त गरेकाले सबै विषयमा छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्ने बताए । ‘एमसीसीको बारेमा कसरी अगाडि बढाउने भन्ने बारेमा सबै दलले आआफ्नो विचार राख्नुभएको छ । कसैले आशंका व्यक्त गर्नुभएको छ । ती सबै कुरामा फेरि छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्छ’ उनले भने ।

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार