• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

कांग्रेस केन्द्रीय सदस्यमा गुण्डा नाइकेदेखि पत्रकारसम्म, को-को भए निर्वाचित ? कसको मत कति ?


काठमाडौँ । गुन्डागर्दी गरेको अभियोगमा पटक पटक पक्राउ परेका र अकुत सम्पत्ति आर्जनमा मुद्दा चलाइएका गणेश लामा नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित
भएका छन् । सभापति एवम् प्रधान मन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर ३० औँ नम्बरमा केन्द्रीय सदस्य निर्वाचित भएका निर्वाचन समितिले

जनाएको छ । लामा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट कांग्रेसमा प्रवेश गरेका थिए ।उनलाई कांग्रेसले काभ्रे क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाए पनि अपराजित भएका थिए उनीमाथि रक्त चन्दन तस्करी, फिरौती, ठेक्कापट्टा असुलीलगायत आरोपमा प्रहरीले पटक पटक पक्राउ गरेको थियो उनलाई अकुत सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धीकरणले समेत मुद्दा समेत चलाएको थियो ।यस्तै कांग्रेसको केन्द्रीय सदस्यमा पत्रकार अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । उनले १८११ मत ल्याएका छन् । कांग्रेसको १४ औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उठेका थिए । दोलखाबाट महाधिवेशन प्रतिनिधि रहेका उनी नेपाल प्रेस युनियनका महासचिव समेत हुन । उनी हाम्राकुराडटकमका सञ्चालक तथा सम्पादक पनि हुन् ।

खुला ३५ केन्द्रीय सदस्यमा १६ नयाँ अनुहार निर्वाचित
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार खुला ३५ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । शनिबार र आइतबार दुई दिनसम्म भएको मतगणनाको आइतबार साँझ मतपरिणाम सार्वजनिक भएको हो ।खुल्ला ३५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ९९ जना उम्मेदवार रहेका थिए । त्यसमा १६ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् भने १९ जना पुरानै अनुहार दोहोरिएका छन् ।केन्द्रीय सदस्यमा निर्वाचित नयाँ अनुहारमा अधिकांश चर्चित युवा नेताहरु छन् । निर्वाचित हुनेमा अधिकांश नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको नेतृत्व गरिसकेका नेताहरु छन् ।

पहिलो पटक केन्द्रीय सदस्य बन्नेमा उदयशमशेर राणा, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल रहेका छन् । त्यस्तै राजीव ढुंगाना, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी पनि पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । केन्द्रीय कार्यसमितिमा नयाँ अनुहारमा उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे र मोहन आचार्य रहेका छन् ।केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित राणा तरुण दलका पूर्वअध्यक्ष एवं संविधान सभा सदस्य हुन् । खतिवडा पार्टी राजनीतिबाटै आएका नेता हुन् भने बस्नेत तरुण दल अध्यक्ष हुन् । काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन् भने बराल नेविसंघका पूर्वउपाध्यक्ष हुन् । त्यस्तै ढुंगाना नेविसंघका अध्यक्ष हुन् । गौतम बर्दियाका निवर्तमान जिल्ला सभापति हुन् । पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् ।

अमात्य कांग्रेस ललितपुर जिल्लाका निवर्तमान सभापति हुन् । शिवाकोटी पत्रकार हुन् भने रायमाझी नेविसंघबाट पार्टी राजनीतिमा आएका हुन् । त्यस्तै लामा तत्कालीन फोरम लोकतान्त्रिकबाट नेपाली कांग्रेसमा आएका हुन् । घिमिरे कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य हुन् भने आचार्य रसुवाका निवर्तमान जिल्ला सभापति हुन् ।
हेर्नुस् कसको मत कति ?

प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार