‘इमानदारहरूलाई समाजवादीमा स्वागत छ, लुटेराहरू एमाले-बिमालेमा गए हुन्छ’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब
हुने सबै चुनावमा गठबन्धन गरेर जान प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भइसकेको बताएकाछन्।देउवाले नेकपा माओवादी केन्द्रको महाधिवेशनमा सबै चुनावमा अहिलेको गठबन्धन एक
भएर जाने बताएको अध्यक्ष नेपालको भनाइ थियो । नेकपा एकीकृत समाजवादीले बेंसीसहरमा शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले कांग्रेस सभापति एवं प्रधानमन्त्रीले नै चुनावमा मिलेर जाने भनेको बताए । अब राष्ट्रिय सभा चुनाव आउँदैछ । पालिकाको चुनाव, प्रदेश सभा, प्रतिनिधि सभा चुनाव आउँदैछ । अस्ति भर्खर प्रधानमन्त्री शेरबहादुर देउवाजीले नेकपा माओवादी केन्द्रको महाधिवेशनमा चुनावमा हामी मिलेर जान्छौं भनिसक्नु भएको छ । त्यो कुरा सुन्ने बित्तिकै हाम्रा बैरीहरूको सातोपुत्लो उडेको छ,’ नेता नेपालले भने ।कांग्रेस सभापतिको कुरा सुन्नेबित्तिकै एमालेको होस् गुम भएको उनले बताएका थिए । अहिले एमाले हरिविजोग भएर रुँदै-कराउँदै हिँड्न थालेको र भुक्दै, गाली गर्दै हिँडिरहेको उनले आरोप लगाए । भुकेर, गाली गरेर एमलेले आफ्नो चरित्र र हैसियत देखाएको पनि उनले आरोप लगाए ।‘अहिले हामी ५ दल सरकारमा छौं । ५ दल मिलेर चुनावमा सँगसँगै जान्छौं । हामी मोर्चाबन्दी गर्न गइरहेका छौं । अनि प्रचार के गर्छन् भने, एक्लै त आउन,’ उनले भने, ‘म सोध्न चाहन्छु, ०७४ सालमा एक्लै गएका थिए ओली जी ? किन गए प्रचण्डजीको शरणमा ? शरणमा गएको होइन हिजो पनि ? हिजो उनले गर्दा ठीक, आज हामीले मिलाउँदा बेठिक हुन्छ ?’
ओलीले कुप्रचार गरेको भन्दै खण्डन गर्न कार्यकर्तालाई उनले निर्देशनसमेत दिए । ‘जोसँग विचार मिल्छ हामी मिलेर अघि बढ्छौं । मिल्ने मिल्ने अगाडि बढ्ने हो । नमिल्नेहरू आफ्नो ढंगले हिँडुन्’ उनले भने ।नेता नेपालले अहिलेको पार्टी एमाले, केपी ओलीले कब्जा गरेको पनि आरोप लगाए । ‘हामीले ०३२ सालमा कोके (कोर्डिनेशन केन्द्र) बनयौं, ३५ सालमा माले बनायौं, ०४७ सालमा एमाले बनायौं । अहिले ०७८ भदौ ९ गते नेकपा एकीकृत समाजवादी बनायौं, बनाउँदै आएका छौं’ उनले भने, ‘रायमाझीले कब्जा गरेको पार्टी पुष्पपालले नेकपा मार्स्कवादी बनाउनुभयो, मनमोहन अधिकारीले बनाउनुभयो, मोहनविक्रमजीले बनाउनुभयो । बनाएको पार्टी अगाडि बढ्यो । पुरानो पार्टी थन्किएर सडेर गलेर सिद्धिएर गए ।’ उनले एमाले अब सिद्धिनेवाला रहेको जिकिर गरे । ‘पुरानो सक्किनेवाला छ । नयाँ अब चम्किनेवाला छ । उदाउनेवाला छ । जनताको विश्वास गर्नेवाला छ’ उनले भने ।
उनले आफ्नो पार्टीमा लुटेराको काम नभएको र लुटेराहरू एमालेमा गए हुने पनि बताए । ‘लुटेरा अन्तै, के के भन्छन्, एमाले-बिमालेमा गए हुन्छ । इमान्दार मान्छेहरूलाई स्वागत छ । इमान्दार छन्, पिल्सिएका छन् । कमरेड फसिएछ भनिरहेका छन् । कस्तो मान्छेको संगतमा परिएछ भनिएका छन्’ उनले भने, ‘कस्तो बा.. बा.. बा.. गर्नु परको छ । कमरेड भन्नै पाइँदैन । बा भनेर पूजा गर्नु पर्याछ । पूजा गर्दै खुट्टा ढोग्नु पर्याछ । यस्तो पनि कम्युनिस्ट हो ?’ उनले केपी ओलीलाई प्रधानमन्त्रीको कुचीबाट सत्ताच्युत गरेको भन्दै बादशाहलाई घोडाबाट झारेको बताए ।
‘कस्ता–कस्ता ज्ञानेन्द्रलाई राजाबाट फाल्यौं ? अरु त के हो र ? हामीसँग जोरी नखोजे हुन्छ । जोरी खोज्नेको यस्तै ताल हुन्छ’ उनले भने । उनले केपी ओली नेता नभई अधिनायकवादी हुन पुगेको र सात्ताको मात लागेर अहंकारी, घमण्डी र तानाशाह भएको आरोप लगाए ।उनले भनेका छन्, ‘हामीले यस्तो तानाशाहसँग पौंठेजोरी खेल्यौं । चुनौती दियौं । प्रधानमन्त्रीको कुर्सीबाट तल झारिदियौं । प्रतिगमनलाई पराजित गर्यौं । संविधान मिच्नेलाई चुनौती दियौं ।’ उनले पार्टीको विधान नमान्ने, विधिको पालना नगर्ने, दाशमात्रै सिर्जना गर्नेलाई निरंकुश भन्दै अहिले तानाशाह र निरंकुशको जमाना नभएको बताएका थिए ।