• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमालेले टुंग्यायो राष्ट्रियसभा सदस्यका १९ उम्मेदवार (सूचीसहित)


काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु टुंग्याएको छ । सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुवाव हुने १९ सिटका उम्मेदवार टुंगो
लगाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।प्रदेश-१ मा खुलातर्फ देवराज घिमिरे (झापा)महिलातर्फ सुमित्रा भण्डारी (झापा)र अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)

उम्मेद्वार बन्नेछन् ।प्रदेश-२ मा खुलातर्फ असर्फी भिनवार यादव (धनुषा) र महिलातर्फ बिना साह (रौतहट) उम्मेद्वार बन्नेछन् । बागमतीमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली), गण्डकीबाट खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ) उम्मेद्वार बन्ने भएका छन् ।लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता (दाङ), महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी) लाई टिकट दिइएको छ । कर्णालीमा खुलातर्फ चूडामणि शर्मा (सुर्खेत), महिलातर्फ गंगा थापा महत (जुम्ला) र अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) लाई उम्मेद्वार बनाउने एमालेले निर्णय गरेको छ ।सूदुरपश्चिमबाट खलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश बिक (बैतडी) लाई उम्मेद्वार बनाउने निर्णय एमालेले गरेको छ ।१२ माघ हुनु निर्वाचनका लागि भोलि मंगलबार मनोनयन दर्ता हुँदैछ ।

कांग्रेसले छान्यो राष्ट्रियसभाका ६ उम्मेदवार, गण्डकीमा कमला पन्त
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाका ६ उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र उम्मेदवार बनेका छन् ।सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ सिट परेको थियो । बैठकले १२ माघमा हुने मतदानमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिन समेत आह्वान गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा सिट बाँडफाँड
सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति भएको छ । सोमबार बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँडमा सहमति जुटाएको हो ।नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका अनुसार कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५-५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याइएको छ । मनोनीततर्फ एक जनामा भने कसलाई पठाउने भन्नेबारे सहमति नभएको खनालले बताए ।

राष्ट्रिय सभामा ५९ सदस्यीय छ भने ती सदस्यको कार्यकाल छ वर्ष । तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यसपटक २० जनाको पदावधि सकिँदैछ । अर्का दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ ।

ती १९ पदमा हाल नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्य छन् । राष्ट्रियसभा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ । त्यसअनुसार यसपटक सातै प्रदेशमा एक महिलासहित २–२ जना, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट दलित १–१ जना तथा प्रदेश १ र कर्णाली प्रदेशबाट अपाङ्गता वा अल्पसंख्यक भएका १–१ जनाका लागि निर्वाचन हुँदैछ ।राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम आयोगले १२ माघमा निर्वाचन गर्ने मिति तोकेको छ ।यो निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । देशभरिबाट प्रदेशसभा सदस्यहरू ५३२, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखहरू १४९३ गरी जम्मा २०२५ जना मतदाता छन् । आयोगका अनुसार सात प्रदेशमा मतदानस्थल समेत तोकिसकिएको छ ।

प्रदेश नं. १ मा २ वटा मतदान स्थल तोकिएका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण प्रयोगशालामा मतदान हुनेछ भने यहाँ मतदाताको संख्या २६४ छ । प्रदेश २ मा महेन्द्रनारायण निधि भवनलाई मतदान केन्द्र तोकिएको छ भने यहाँ ३७२ मतदाता छन् ।वाग्मती प्रदेशमा हेटौंडाको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान केन्द्र तोकिएको छ भने यहाँ ३४६ मतदाता छन् । गण्डकीमा मतदान केन्द्र प्रदेश निर्वाचन कार्यालय पोखरा र मतदाताको संख्या २२९ छ ।त्यस्तै, लुम्बिनीमा २९६ जना मतदाता छन् भने दाङको कर्मचारी मिलन केन्द्र भवनमा मतदान केन्द्र तोकिएको छ ।कर्णालीमा १९१ मतदाता छन् । यहाँको मतदान केन्द्र प्रदेश निर्वाचन कार्यालय सुर्खेत हो । सुदूरपश्चिममा २२७ जना मतदाता छन् भने प्रदेशसभा भवनलाई मतदानस्थल तोकिएको छ ।

यसपटक प्रदेश १ बाट परशुराम मेघी गुरुङ र नैनकला दाहाल, प्रदेश २ बाट सुमन प्याकुरेल र शशीकला दाहाल, वाग्मतीबाट राधेश्याम अधिकारी र उदया शर्मा पौडेल, गण्डकीबाट दिनानाथ शर्मा र शान्तिकुमारी बीसी, लुम्बिनीबाट चन्द्रबहादुर खड्का र कोमल वली, कर्णालीबाट खगेन्द्र पुरी र कविता बोगटी तथा सुदूरपश्चिमबाट शेरबहादुर कुँवर र तारादेवी भट्टको पदावधि सकिँदैछ ।समावेशी दलित समूहतर्फ गण्डकी प्रदेशबाट खिमकुमार विक, सुदूरपश्चिमबाट चक्रप्रताप स्नेही र लुम्बिनीबाट रामलखन चमार तथा अपाङ्गता वा अल्पसंख्यकतर्फ कर्णालीबाट जीवन बुढा र प्रदेश १ बाट अगम वान्तवाको पदावधि सकिँदैछ । राष्ट्रपतिबाट मनोनीत रामनारायण विडारीको पदावधि पनि यसैपटक सकिँदैछ ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार