• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

नेपालमा पनि ‘बिजुली गतिमा’ फैलिँदै ओमिक्रोन : माघ १५ सम्म विद्यालय बन्द हुने


कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्म विद्यालयमा हिउँदे विदादिन सिफारिस गरिएको छ।आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन
समन्वय केन्द्र (सिसिएमसिसी) को व्यवस्थापन समितिको बैठकको बैठकले देशभरिका १० कक्षासम्मका विद्यालयमा माघ १५ सम्म हिउँदे विदा दिन संघीय मामिला मन्त्रालयलाई सिफारस

गरेको सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।‘धेरै विद्यालयमा अहिले हिउँदे विदा छ। त्यो हिउँदे विदा माघ १५ सम्म पुर्‍याउनु भन्ने सिफारिस गरेका छौं,’ नेपालले भनिन्,‘कलेजहरूमा परीक्षालगायत कार्यक्रम सञ्चालन भइरहेको भए मापदण्ड पालना गर्न भनेका छौं। ’आजको बैठक प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि सहभागी थिए।आजको बैठकले सिनेमा हल, पार्कलगायत सार्वजनिक स्थानमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था लागू गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरेको छ।‘माघ ३ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप लगाएको प्रमाण अनिवार्य देखाउन सिफारिस गरेका छौं,’ नेपालले भनिन्।

नेपालमा पनि ‘बिजुली गतिमा’ फैलिँदै ओमिक्रोन

भर्खरै संक्रमित भएकाहरूको अनुभव के छ?
विश्वभर फैलिरहेको ओमिक्रोन भाइरसका कारण नेपालमा पनि कोरोना संक्रमित संख्यामा व्यापक वृद्धि भएको छ। पछिल्ला दिनमा जुन दरमा संक्रमितहरू बढेका छन्, यसलाई तेस्रो लहरका रूपमा लिन सकिने विज्ञहरू बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार गत पुस १८ गते आइतबार २१६ जनामा संक्रमण देखिएको थियो। त्यसको एक साताभित्रै आज आइतबार हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।भाइरोलोजिस्ट बासुदेव पाण्डे नेपालमा समुदाय स्तरमै ओमिक्रोन भेरियन्ट फैलिरहेको बताउँछन्।’हाम्रो जाँच्ने क्षमता कम भएकाले मात्र ओमिक्रोन संक्रमितहरूको संख्या थोरै देखिएको हो,’ पाण्डेले सेतोपाटीसँग भने, ‘नेपालमा ओमिक्रोन समुदाय स्तरमा फैलिसकेको अवस्था छ।’कोरोनाको पहिलो र दोस्रो लहरका बेला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रहेका पाण्डेले अब संख्या गन्नेभन्दा सरकारले रोकथाम र नियन्त्रणका लागि तत्काल काम थाल्नुपर्ने बताउँछन्।संसारभरि ओमिक्रोनले अरू भेरियन्टलाई जित्दै गएको छ,’ पाण्डेले भने, ‘विदेशबाट नआएकालाई पनि ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। त्यो भनेको भाइरस समुदायमा फैलिसकेको छ भन्ने हो। त्यसैले रोकथाम र नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीका अनुसार ओमिक्रोन संक्रमितहरूलाई सामान्य रूघाखोकी लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने र ज्वरो आउनेजस्ता लक्षण देखिएका छन्।’विभिन्न देशबाट आएकामा मात्र ओमिक्रोन देखिएको छैन, विदेशबाट नआएकाहरू पनि संक्रमित हुनुहुन्छ,’ अधिकारीले भने, ‘धेरै संक्रमितलाई खासै गम्भीर असर देखिएको छैन। बाहिरबाट आउनुभएकाले संक्रमणको शंका लागेर परीक्षण गर्दा पोजेटिभ देखिएको हो।’स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा पछिल्लोपटक कोरोना देखिएकामध्ये २२ प्रतिशत ओमिक्रोनबाट संक्रमित छन्। पुस महिनामा १ हजार १ सय ४६ पोजेटिभ संक्रमितबाट २२ प्रतिशतमा एसजेन नेगेटिभ भेटिएको थियो। यसरी एसजेन नेगटिभ पाइएकामध्ये २४ जनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन पुष्टि भएको थियो।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन पछिल्लो तथ्यांकका आधारमा नेपालमा अहिले देखिएका बिरामीमध्ये २२ प्रतिशतमा ओमिक्रोन देखिएको भन्न मिल्ने बताउँछन्।उनका अनुसार ओमिक्रोन भाइरस बिजुली गतिमा फैलिए पनि संक्रमितहरूमा जटिल अवस्था देखिएर अस्पताल भर्ना हुने चाप वा मृत्युदरमा उल्लेखनीय वृद्धि भएको छैन।’डेढ महिनायताका अध्ययन, अनुसन्धान र विभिन्न देशको ओमिक्रोन अनुभवलाई आधार मान्ने हो भने यो बिजुली गतिमा फैलिन सक्छ तर डेल्टाको तुलनामा कम घातक छ भन्ने साबित भइसकेको छ,’ पुनले भने।
दोस्रो लहरपछि खोप लगाउनेको संख्या बढ्नु, धेरै जना पहिल्यै संक्रमित भइसकेको हुनु वा ओमिक्रोन भेरियन्टमा व्यापक म्युटेसन हुनु लगायत कारणले यो कम घातक हुन सक्ने उनको भनाइ छ। यसबारे वैज्ञानिक अनुसन्धान जारी छन्।

नेपालमा पछिल्लोपटक नयाँ वर्ष र क्रिसमस बेला भएका रमझम र भेटघाटपछि कोरोना संक्रमण विस्तार भएको देखिन्छ। तथ्यांकले पनि अंग्रेजी नयाँ वर्षलगत्तै कोरोना भाइरस संक्रमित संख्या उकालो लागेको देखाएको छ।काठमाडौंको घट्टेकुलोमा घरमै आइसोलेसनमा बसिरहेका २७ वर्षीय एक संक्रमित नयाँ वर्षको पार्टीपछि आफू बिरामी परेको बताउँछन्।’मैले दुवै डोज खोप लगाएको थिएँ,’ ती संक्रमितले भने, ‘न्यू इयरमा धेरै ठाउँमा गइयो। भोलिपल्टबाट रूघा लाग्यो। चिसोले हो कि भन्ने भयो। त्यसपछि ज्वरो आयो। ज्वरो सय ड्रिगी नाघेपछि जचाउन जाँदा कोभिड देखियो।’ सम्पर्क गरेका ती संक्रमितले आफूलाई विगतमा कोभिड नभएको र पहिलोपटक संक्रमणको जोखिममा परेको बताए।

अरू के-के लक्षण देखिएका छन् भन्ने प्रश्नमा उनले भने, ‘स्वाद/गन्ध हराउने भएको छैन। एक दिन ज्वरोले चेप्यो तर रूघा र खोकी लागिरहेको छ। श्वासप्रश्वासमा खासै समस्या छैन। थकान पनि त्यति साह्रो छैन। सम्पर्क गरेका अर्का संक्रमितले पनि पहिलो र दोस्रो लहरमा जस्तो जटिलता नदेखिएको बताए।’मलाई पहिलो लहरमा पनि कोभिड भयो। मेरो मुटुको रोग छ,’ ४४ वर्षका ती संक्रमितले भने, ‘दोस्रो लहरमा २० दिन आइसियूमा बसेँ। रेम्डेसिभिर औषधि नै चलाउनुपर्यो। यसपटक पनि सबै लक्षण छन्। तर थला पर्ने गरी बिरामी छैन। परिवारका मान्छेलाई जचाउन म आफैंले गाडी चलाएर अस्पताल लैजान सकेको छु।’

टाउको दुख्ने, रूघाखोकी सबै लक्षण भए पनि पहिलाजस्तो चरम अवस्था नदेखिएको उनले बताए।उनलाई माओवादी केन्द्रको सम्मेलनमा सहभागी भएपछि संक्रमण भयो कि भन्ने लाग्छ। त्यसपछि पनि धेरै भेटघाट भएको उनी बताउँछन्। ‘खोप पनि लगाइसकेको थिएँ। यसपटक पहिलाको जस्तै जटिलता नआओस् भनेर सचेत छु,’ उनले भने।दोस्रो लहरमा संक्रमित भएका अर्का एक व्यक्तिले पनि आफूलाई यसपटक फेरि संक्रमण पुष्टि भएको सेतोपाटीलाई बताए।’दोस्रो लहरमा कोरोना लागेपछि म घरमै आइसोलेसनमा बसेँ,’ ३४ वर्षीय ती व्यक्तिले भने, ‘रूघाखोकी लागेपछि चिसोले होला भन्ने भयो। तातोपानी पिउने र पानीको बाफ लिने काम गरेँ। फेरि एक दिन बेस्कन ज्वरो आयो। सय डिग्री नाघेपछि जचाउँदा कोरोना देखियो। पोजेटिभ आएको दुई दिन मात्र भयो। अहिले न ज्वरो छ, न त टाउको दुख्छ। म त घरबाटै काम गरिराखेको छु।’

ती संक्रमित व्यक्तिले आफूलाई कार्यालयबाटै कोभिड सरेको बताए।’कार्यालयमा एक जना साथी बिरामी पर्नुभएको थियो। त्यहीँबाट सरेको हुनसक्छ,’ उनले भने, ‘लक्षणहरू अहिले खासै केही नदेखिए पनि आइसोलेसनमा बसेको छु।’एक डोज पनि खोप नलगाएका ती व्यक्तिले अगाडि भने, ‘कोभिड भएर निको भएका व्यक्तिहरूमा एन्टिबडी विकास हुन्छ भनेकाले मैले खोप लगाएको थिइनँ। अहिले सोच्दा त्यसै कारण पनि संक्रमणको शिकार भएँ कि भन्ने लागेको छ।’चिकित्सक र संक्रमितका भनाइ सुन्दा पछिल्लोपटक संक्रमित भएकाहरूमा विगतमा जस्तो लामो समय टाउको दुख्ने समस्या नरहेको देखिन्छ। संक्रमितहरूले स्वाद नहराएको र लामो समय ज्वरोको समस्या नभएको पनि बताएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत नोभेम्बर महिनामा अफ्रिकी मुलुकहरूमा ओमिक्रोन पत्ता लाग्नेबित्तिकै यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो। लगत्तै नोभेम्बर २६ मा विश्वव्यापी चेतावनी जारी गरेको थियो।डब्लुएचओले ओमिक्रोन दोस्रो लहरमा देखिएको डेल्टा भाइरसभन्दा तीन गुना बढी फैलिने क्षमताको भएको उल्लेख गरेको छ। बेलायतमा भएको अध्ययनले कोरोना खोप लगाएका व्यक्तिहरूलाई ओमिक्रोन भाइरस संक्रमण भएर लक्षण देखिएको अवस्थामा खोपको प्रभावकारिता डेल्टा भाइरसको तुलनामा घट्ने देखिएको छ।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार