• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय


काठमाडौँ — शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन
समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा

मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारिस गरिएको छ । विद्यालय बन्दको मोडालिटीसहितको पूर्ण जानकारीसहितको सूचना मन्त्रालयले जारी गर्ने तयारी गरेको छ ।विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनिटाइजरको प्रयोग र भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गराउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरिएको थियो ।

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता न बिमा भुक्तानी
अछाम — कोरोना संक्रमणका बेला अग्रपंक्तिमा खटेर काम गरेका अछामका स्वास्थ्यकर्मीले न जोखिम भत्ता पाएका छन् न कोरोना बिमाबापतको रकम नै । पहिलो र दोस्रो लहरको संक्रमितको उपचार गरेका स्वास्थ्यकर्मीले आफ्नो कामको उचित मूल्यांकनसमेत नभएको गुनासो गरेका छन् ।‘दुई पटक संक्रमित भएर आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर उपचारमा खटिए । तर, पहिलोपटक संक्रमित भएको दुई वर्ष हुन लाग्दा पनि कोरोना बिमा रकम पाइएन,’ जिल्ला अस्पताल अछाममा कार्यरत हेल्थ असिस्टेन्ट दिलीप साउदले भने, ‘म लगायत धेरै साथीहरू पटकपटक संक्रमित हुँदा पनि काममा खटिरह्यौं । अहिले पनि जोखिम उस्तै छ । हाम्रोबारेमा अस्पताल प्रशासन, व्यवस्थापन समिति, विभाग र मन्त्रालय कसैले पनि हाम्रो समस्याबारे कुनै पहल गरेका छैनन् ।’

उपचार गर्दागर्दै बिरामीसँग हाम्रो छुट्टै खालको अपनत्व हुन्छ । निको भएर जाँदा आफैंलाई सञ्चो भएको महसुस हुन्छ । मृत्यु नै हुँदा त हामीलाई जति पीडा अरूलाई हुँदैन होला जस्तो लाग्छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीको अभाव भएका ठाउँमा संक्रमित भएकै अवस्थामा आइसोलेसनमा रहेकाहरूको उपचारमा सक्रिय भयौं । बिरामीको उपचार गर्नु हाम्रो जिम्मेवारी नै हो । तर त्यसरी खटेको मूल्यांकनचाहिँ भएन ।’मंगलसेन नगरपालिका–७ का धर्मराज जैसीले जिल्ला अस्पतालमा हेल्थ असिस्टेन्ट (एचए) पनि माथिल्लो निकायबाट स्वास्थ्यकर्मीको मूल्यांकन नगरिँदा विरक्त छन् । संक्रमितको उपचार गर्दागर्दै दुई पटक संक्रमित भएका धर्मराजले नियमित पाउने तलबबाहेक अन्य सुविधा पाएका छैनन् । सुरुमा कोरोना बिमा गरेको र त्यो बापत पाउने भनिएको एक लाख रुपैयाँ उनीलगायत जिल्ला अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मीले पाएका छैनन् । जोखिम भत्ता न अघिल्लो वर्ष पाए न अहिले नै ।

जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई माथिल्लो तहबाट खासै सम्बोधन नगरेको उनको गुनासो छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले कहिलेकाहीँ उपचारका लागि आवश्यक पर्ने सामानबाहेक स्वास्थ्यकर्मीको अवस्थाबारे चासो नराखेको उनको भनाइ छ । ‘कहिलेकाहीँ जुम मिटिङ हुन्छ । स्वास्थ्य सामग्री र अन्य कुरा हुन्छन् । स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गरिरहेको विषयमा कहिल्यै कुरा हुँदैन,’ उनले भने ।पारिवारिक दबाब, संक्रमण भएर एक्लै बस्दाको पीडाका बाबजुद पनि स्वास्थ्यकर्मीले खटेर काम गरेको उनको भनाइ छ । ‘जोखिममा काम गरिरहेका छौं । स्वास्थ्यकर्मीको बिमा पनि हुनु पर्थ्यो । तर हामीलाई अघिल्लो वर्ष कोरोना संक्रमण भयो । बिमा गरेकालाई एक लाख दिने प्रावधान थियो । अहिलेसम्म दिएको छैन,’ उनले भने ।

मंगलसेन नगरपालिका–४ मा कार्यरत अनमी रत्ना रावल सोडारी बिरामीको उपचारमा खटिरहेकै अवस्थामा संक्रमित भइन् । उनले पनि बिमा रकम र जोखिम भत्ता पाएकी छैनन् । उच्च जोखिमका बीच पटकपटक संक्रमण हुँदा पनि थप सेवा सुविधा नपाएको उनको गुनासो छ । ‘अघिल्लो वर्ष २ महिना ५० प्रतिशतका दरले जोखिम भत्ता पाइएको थियो । यो वर्ष भने केही छैन । रातदिन नभनीकन उच्च जोखिममा काम गर्ने स्वास्थ्यकर्मीको कुनै मूल्यांकन नभए जस्तो लाग्छ,’ उनले भनिन्, ‘कतिपय अवस्थामा आफैं संक्रमितका बेला पनि उपचारका लागि निस्कनुपर्छ ।’ उनका अनुसार कोरोना बिमा गर्ने कम्पनीको अहिले फोन उठ्दैन । कोरोना बिमा गरेकाहरू रकम नपाउँदा आक्रोशित छन् ।

कोरोना महामारीका बेला आफैं संक्रमित हुँदाहुँदै पनि उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि कुनै निकायबाट पनि जोखिम भत्ता नआएको जिल्ला अस्पताल मंगलसेनकी सूचना अधिकारी गंगा बुढामगरले बताइन् । ‘गत वर्ष असार मसान्तमा प्रदेशको सामाजिक विकास मन्त्रालयबाट पैसा आयो । तर समय सकिएकाले त्यो पनि निकाल्न मिलेन, फिर्ता गयो,’ उनले भनिन्, ‘स्वास्थ्यकर्मीको लिस्ट माग्छन् । सुरुमा संघबाट आउँछ भन्ने जानकारी पायौं । पछि प्रदेशबाट आउँछ भन्ने खबर आयो । तर बजेट कतैबाट आएन । यो वर्ष पनि पाउने या नपाउने केही थाहा छैन ।’ महामारीका बेला उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई कतैबाट हौसला नमिलेको उनले बताइन् ।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार