• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

विधान विपरीत कास्कीमा पृथ्वीसुब्बा र खगराज गुट प्यानलसहित चुनावमा


नेकपा एमालेले विधान महाधिवेशनमार्फत् पार्टीको अधिवेशनमा प्यानलसहित चुनावमा जान निषेध गरेको छ। केन्द्रदेखि स्थानीय कमिटीसम्मै नेतृत्व चयन गर्दा सर्वसम्मत
नभए निर्वाचनमार्फत् नेतृत्व चयन गर्न पाउँछ।नेतृत्व चयन गर्दा अघिल्ला महाधिवेशनहरूमा प्यानल बनाएर चुनावमा जान विधानले रोक लगाएको छ। एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले

पार्टी कमिटीहरूको नेतृत्व चयन गर्दा विधान र निर्वाचन आचारसंहिताले प्यानल बनाउन रोक लगाएको बताए।यसअघि एमालेबाट माधव नेपाल समूह बाहिरिएपछि अध्यक्ष केपी ओलीकै अगुवाइमा विधानमा यस्तो प्रावधान राखिएको दवाडीको भनाइ छ।‘प्यानलसहित चुनाव हुँदा नेतृत्वमा पुग्न नसकेकाहरूले गुट बनाएर चलाउने भए,’ उनले भने, ‘त्यही भएर नै पार्टीले नेतृत्वका लागि उम्मेदवार बन्दा प्यानल बनाउन नपाउने व्यवस्था गरेको हो।’पार्टीको वैधानिक व्यवस्था विपरीत कास्कीमा नेतृत्व चयन गर्न दुई वटा प्यानलसहित चुनाव भएको छ। एमाले कास्कीको पुस २३ गते सुरू अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि दुई वटा समूह प्यानलसहित चुनावमा भिडेका हुन्।एमाले गण्डकीका नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी समूहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका थिए। जिल्ला नेतृत्व चयन गर्दा सर्वसम्मत बनाउन लगातार चार दिन छलफल हुँदासमेत सहमति नजुटेपछि मंगलबार मतदान भएको थियो।

एमाले कास्की अध्यक्षका लागि उपमहासचिव पृथ्वीसुब्बा समूहबाट मनबहादुर गुरुङको अध्यक्षतामा प्यानल बनेको छ। यसअघि एमाले कास्कीका उपाध्यक्ष रहेका मनबहादुर जिल्ला अध्यक्ष कृष्ण थापा गएको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेपछि कार्यबाहक जिल्ला अध्यक्ष बनेका थिए। उनी गण्डकी प्रदेश सांसदसमेत हुन्।उनको प्यानलबाट उपाध्यक्षमा तेजनारायण अधिकारी, सचिवमा विष्णुबहादुर केसी, उपसचिवमा इमानराज पौडेल र मनबुजा विश्वकर्मा उठेका छन्।संगठन विभाग प्रमुख खगराज समूहबाट दामोदर अधिकारी ‘बैरागी’ अध्यक्षका उम्मेदवार छन्। यसअघि, बैरागी एमाले कास्कीका सचिव थिए। बैरागीको प्यानलबाट उपाध्यक्षमा प्रभा कोइराला, सचिवमा बैनबहादुर अधिकारी क्षेत्री, उपसचिवमा दर्शन लामा र नवराज ओझा उम्मेदवार छन्।

पदाधिकारी मात्र होइन, दुबै प्यानलले सबै क्लष्टरका सदस्यसम्मै प्यानल बनाएका छन्। प्यानलसहितको उम्मेदवार सूची दुबै समूहले मतदातालाई वितरण गरेका थिए। एमाले कास्की जिल्ला कमिटी अधिवेशनमा जिल्लाभरबाट ९१९ जना प्रतिनिधि सहभागी छन्।निर्वाचन समितिका संयोजक सुरेन्द्र थापाका अनुसार मंगलबार भएको निर्वाचनमा ८९५ जनाले मतदान गरेका छन्।जिल्ला अधिवेशनका लागि वडा कमिटीमा प्रतिनिधि छनोटदेखि नै दुई नेतावीच प्रतिस्पर्धा भएको एमालेका एक नेताले बताए।एमाले कास्कीमा आफ्नो पकड बलियो बनाउन पृथ्वीसुब्बा र खगराजबीच प्रतिस्पर्धा पहिलेदेखि थियो। पोखरा महानगरमा आफू अनुकूल नेतृत्व पठाउन पृथ्वीसुब्बाले गत स्थानीय चुनावमा मानबहादुर जिसीलाई टिकट दिलाएका थिए।

जबकि, तत्कालीन एमाले कास्की अध्यक्ष एवम् पूर्वमेयर कृष्ण थापा आफैं मेयरका आकांक्षी थिए। खगराज समूहमा रहेकै कारण उनले टिकट पाउन नसकेको उनको गुनासो रहने गरेको छ।एमाले अधिवेशनका क्रममा कार्यबाहक जिम्मेवारी दिँदासमेत पृथ्वीसुब्बा हावी भएका थिए। उनले पोखरा महानगर कमिटीको अध्यक्षमा दीपक पौडेललाई मनोनयन समेत गरेका थिए। तर, अधिवेशनबाट भने खगराज समूहका उम्मेदवार दिलीप न्यौपाने अध्यक्षमा सर्वसम्मत भए।त्यतिबेला उम्मेदवारका पाँच जना आकांक्षी भएका कारण पृथ्वीसुब्बा पछाडि हट्नु परेको एक युवा नेताले बताए।जिल्ला कमिटीको नेतृत्व लिन आकांक्षी धेरै भए पनि प्यानलसहित निर्वाचन हुने भएपछि सबै आकांक्षीले कित्ता ‘क्लियर’ गरेको र केही उम्मेदवारले अन्य पदमा चित्त बुझाएको ती नेताले बताए।

स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख खगराज कास्कीकै भए पनि एमालेभित्र उनका धेरै आलोचक छन्। आलोचकको कुरा सुन्नै नचाहने र आफ्नाविरुद्ध धारणा राख्नेलाई सिध्याउन खोज्ने उनको प्रवृत्ति भएको अर्का एक नेताले बताए।वडा तहका जनवर्गीय संगठनका कार्यक्रममा समेत प्रमुख अतिथिका रूपमा नबोलाए खगराज रिसाउने गरेको ती नेताको भनाइ छ।‘सानोतिनो कार्यक्रममा पनि आफूलाई प्रमुख अतिथि बन्न खगराज कमरेड छाड्नुहुन्न,’ ती नेताले भने, ‘बोलाउन बिर्सियो वा उहाँको धारणामा फरक धारणा राख्यो भने पनि राजनीतिबाटै सिध्याइदिने धम्की आउँछ।’खगराजका यस्तै आनीबानीले गृहजिल्ला कास्कीमा पृथ्वीसुब्बा हावी भएको ती नेताको भनाइ छ।यसअघि यी दुई नेताबीचको प्रतिस्पर्धा सतहमा आएका थिएनन्। गण्डकी सरकारको मुख्यमन्त्रीका रुपमा पृथ्वीसुब्बा पोखरा बस्न थालेपछि उनीहरूबीचको प्रतिस्पर्धा देखिएको हो।

कास्कीमा रहेको पोखरा विश्वविद्यालयदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म नियुक्ति, कर्मचारी सरुवा, बढुवा, स्थानीय जनप्रतिनिधिलाई टिकट वितरणसम्म यसअघि कास्कीमा खगराजकै हालिमुहाली थियो।पृथ्वीसुब्बा पोखरा बस्न थालेपछि यस्ता नियुक्ति, सरुवा बढुवा र पार्टीभित्रको राजनीतिमा पनि उनले चासो राख्न थाले। मुख्यमन्त्रीका हैसियतमा रहेपछि झन् शक्तिशाली बने। यसरी उनीहरूको प्रतिस्पर्धा चल्न थालेको हो।पार्टीको केन्द्रीय महाधिवेशनमा सचिवका दाबेदार रहेका खगराजलाई रोक्न पृथ्वीसुब्बाले नै भूमिका खेलेको खगराज पक्षको दाबी छ। विधान विपरीत प्यानल बनाएरै चुनाव भए पनि अब यी दुई नेताको शक्ति परीक्षण हुने कार्यकर्ताहरूको भनाइ छ।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार