• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

मन्त्रिपरिषद‍्लाई पूर्णता दिने तयारीमा देउवा, मन्त्रालय हत्याउन सत्तारुढ दलमा हानथाप


प्रधानमन्त्रीशेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन्।केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् र सचिवालयलाई
पूर्णता दिने विषयमा छलफल थालेका छन्।देउवा सचिवालयका अनुसार एक हप्ताभित्र मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने गरी छलफल थालिएको छ।गत असार २९ गते प्रधानमन्त्री

भएका देउवाले असोज २२ मा मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए । तर यो बीचमा दुई मन्त्रीले राजीनामा दिएका थिए । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल र रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएपछि दुई मन्त्रालय मन्त्रीविहीन बनेको हो । सोही मन्त्रालयमा देउवाले नयाँ नियुक्ति गरेर मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन् ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग नाम जोडिएपछि असोज २२ मा मन्त्री भएका हमालले असोज २४ गते राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय देउवाले नै सम्हाल्दै आएका छन् । यस्तै १४ औं महाधिवेशनमा महामन्त्रीमा नराम्रो पराजय भोगेपछि रिजालले पनि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवाले सम्हालेको अवस्था छ ।

मन्त्रालय हत्याउन सत्तारुढ दलमा हानथाप
रिक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लिन सत्तारूढ दलहरूबीच हानथाप चलेको छ । काँग्रेसको कोटाबाटै हमाल मन्त्री नियुक्त भएको भन्दै प्रतिरक्षा गरेका सत्ता घटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको पनि उक्त मन्त्रालयमा दाबी छ । तर, प्रधानमन्त्री देउवा भने उक्त मन्त्रालय काँग्रेसकै भागमा राख्न लागि परेका छन् ।देउवाले राज्यमन्त्री उमेश श्रेष्ठलाई उद्योगमन्त्री बनाउने चर्चा छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने तेजुलाल चौधरीको नाम देउवा समक्ष राखेका छन् । पौडेल असोज २२ मै चौधरीलाई मन्त्री बनाउन चाहेका थिए । तर देउवाले दिलेन्द्र बडू र मिनेन्द्र रिजाल रोजेपछि चौधरी मन्त्री बन्नबाट बन्चित भएका थिए । उनी उक्त दुई मन्त्रालयमा नयाँ मन्त्री ल्याउने तयारीमा छन् ।

प्रकाशमानको नाम चर्चामा
देउवाले यस विषयमा पार्टीभित्र छलफल थालेको पाइएको छ । शनिबार अपरान्ह नेता प्रकाशमान सिंहलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । सिंह काठमाडौंका जिल्ला काँग्रेस सभापति सबुज बानियाँलाई साथमा लिएर बालुवाटार पुगेका थिए । प्रधानमन्त्री देउवा र सिंहबीच करिब १ घण्टा छलफल भएको थियो । मन्त्रिपरिषदलाई पूर्णता दिने क्रममा महाधिवेशनमा सिंहले लगाएको गुन तिर्न देउवा तयार देखिएका छन् । सिंह समर्थन पाएपछि दोस्रो चरणबाट सभापतिमा दोहोरिन सफल भएका थिए । यतिबेला देउवाले सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा ल्याउन चाहेका बुझिएको छ । सिंह सरकारमा सहभागी नभएको खण्डमा उनको सिफारिसमा राजन केसीलाई मन्त्री बनाउने तयारी भइरहेको छ ।

सिंह मन्त्री बन्न तयार भए उपप्रधानसहित गृहमन्त्री बनाउने सम्भावना छ । वर्तमान गृहमन्त्री बालकृष्ण खाँणलाई रक्षामन्त्रीको जिम्मेवारी दिने सकिने विषयमा पनि देउवाले छलफल थालेको स्रोतले रातोपाटीलाई बतायो । यस विषयमा खाण पनि सकारात्मक नै रहेको नेताहरु बताउँछन् । देउवाले सिंहलाई कुनै न कुनै महत्वपूर्ण जिम्मेवारी दिने योजना बनाएको पाइएको छ । सरकारमा सहभागी नहुने भए संसदीय मोर्चा सम्हाल्न पनि देउवाले सिंहलाई प्रस्ताव गरेका थिए । विजय कुमार गच्छदारको सांसद पद निलम्बन भएपछि काँग्रेस संसदीय दलको उपनेता छैन । तर देउवासँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेकाले सिंह उपनेता हुने सम्भावना करिब छैन ।

उनले देउवाको उक्त प्रस्ताव अस्वीकार गरिसकेका थिए । तर मन्त्री बन्ने विषयमा भने सिंह सकारात्मक नै रहेको बालुवाटार स्रोतको भनाइ छ । यता नेता सिंहको सचिवालयले भने मन्त्री हुने कुरामा सत्यता नरहेको जिकिर गरेको छ ।सिंहका प्रेस संयोजक युपी लामिछानेका अनुसार शनिबारको छलफलमा पार्टीलाई विधिसम्मत चलाउने विषयमा मात्रै कुराकानी भएको थियो । उनले भने, ‘मन्त्री बन्ने कुरामा कुनै सत्यता छैन । शनिबारको छलफलमा पार्टीलाई विधिसम्मत सञ्चालन गर्ने विषयमा मात्र छलफल भएको हो । अरु सबै हल्ला हुन्,’ उनले रातोपाटीलाई भने ।

प्रधानमन्त्रीको सचिवालयमा को–को जाँदैछन् ?
यसैबीच प्रधानमन्त्री देउवाले सचिवालयलाई समेत पूर्णता दिने तयारी गरेका छन् । सरकार बनेको ६ महिना हुँदा उनले सचिवालयमा तीन जनालाई मात्र नियुक्त गरेका छन् । जसअनुसार प्रमुख स्वकीय सचिवमा देउवाले भानु देउवालाई नियुक्त गरेका छन् भने प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल र स्वास्थ्य सल्लाहकारमा प्रा.डा.आरपी विच्छा नियुक्त भएका छन् ।
अब भने देउवा सचिवालयलाई पूर्णता दिनेगरी प्रमुख सहयोगीको खोजीमा जुटेका हुन् । प्रधानमन्त्री देउवाको प्रमुख राजनीतिक सल्लाहकारमा प्रकाशशरण महतलाई नियुक्त गर्ने तयारी छ । १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित महतलाई देउवाले अब सरकारको कामसँग जोड्न राजनीतिक सल्लाहकार बनाउन लागेको बुझिएको छ ।

आर्थिक मामिला सल्लाहकारमा अर्थविद डा. पोषराज पाण्डेको नाम चर्चामा छ । यस्तै प्रेस सल्लाहकार गेजा शर्मा वाग्ले बन्ने भएका छन् । प्रधानमन्त्री देउवाले केही दिनअघि बालुवाटार बोलाएर शर्मालाई प्रेस सल्लाहकारको प्रस्ताव राखेको थिए ।शर्मालाई प्रेस सल्लाहकार बन्न प्रधानमन्त्री देउवाले आग्रह गरेको बालुवाटार स्रोतले रातोपाटीलाई जानकारी दिएकाे छ। शर्मा प्रेस सल्लाहकार बन्ने भएपछि गोविन्द परियारले प्रेस संयोजका रुपमा काम गर्ने भएका छन् । अघिल्लो कार्यकालमा पनि उनी देउवाको प्रेस संयोजक थिए । यसपटक परियार प्रेस सल्लाहकार भएर काम गर्ने चाहन्थे । यता प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आकांक्षा देखाएका थिए ।

बद्रीलाई प्रेस सल्लाहकार मानेर परियार प्रेस संयोजकमा बस्ने अवस्था नआएपछि शर्मालाई बनाउन लागिएको बालुवाटार स्रोतले रातोपाटीलाई बतायो । अब सिग्देललाई जनसम्पर्क सल्लाहकार बनाउने तयारी गरिएको छ ।अहिले प्रधानमन्त्रीको फोटोग्राफरका रुपमा रोशन सापकोटाले काम गरिरहेका छन् । राससमा कार्यरत सापकोटाले आगामी दिनमा पनि सोही भूमिकामा काम गर्ने बुझिएको छ । प्रधानमन्त्रीले परराष्ट्र मामिला सल्लाहकार र विकास विज्ञ कसलाई नियुक्त गर्ने भन्ने टुंगो लागेको छैन । यस्तै प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. दिनेश भट्टराईको चर्चा छ । तर उनले अहिलेसम्म प्रधानमन्त्रीले आफूसँग कुनै कुराकानी नगरको रातोपाटीलाई बताए ।

बालुवाटार स्रोतका अनुसार पूर्व पराराष्ट्रमन्त्री महत र विदेश मामिलाका जानकार शर्माबाटै देउवाले परराष्ट्र सल्लाहकारको काम गराउने योजना बनाएका छन् ।परराष्ट्र सल्लाहकार हुने इच्छा देखाएका शर्मालाई देउवाले सचिवालयमा हुँदा सबै काम हुने बताएका थिए । ‘तपाईं प्रेस सल्लाहकार भइदिनुस् । सचिवालयमा हुँदा परराष्ट्रको काम पनि गर्न सकिन्छ । तपाईं बस्न चाँहि प्रेस सल्लाहकार बस्नस्,’ देउवाले शर्मालाई भनेका थिए । शर्मा देउवाका यसअघिका कार्यकालमा पनि सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन् ।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार