• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

प्रचण्ड – माधवसँगको सहमति बाट देउवा किन यू–टर्न भए ?


प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका शीर्ष नेताबीच वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा मत विभाजित भएको छ । प्रधानमन्त्री देउवाले स्थानीय
तहको चुनाव वैशाखमै गर्नेप्रस्ताव अगाडि सारेकाछन्।देउवाको प्रस्तावमाथि विमति राख्दै गठबन्धनको उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा माओवादी केन्द्रका अध्यक्षपुष्पकमल

दाहाल ‘प्रचण्ड’ले वैशाखमा संघीय निर्वाचन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।प्रचण्डको प्रस्तावमा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले समर्थन जनाएका छन् तर काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले वैशाखमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने विषयमा दह्रो अडान लिएको अवस्था छ ।स्थानीय निर्वाचनबारे प्रधानमन्त्री र शीर्ष नेताबीच एक मत नहुँदा गठबन्धनमै गडबड पैदा गरेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई जानकारी दिए ।स्रोतले भन्यो, ‘मंगलबारको बैठकमा हामीले उहाँहरु पाँच जनालाई सहमति खोज्न भनेका थियौं । आवश्यकता परे प्रमुख निर्वाचन आयुक्तलाई पनि बोलाएर कुराकानी गर्नुस् । यो कुरा मिलिरहेको छैन भनेर हामीले जोडदार ढंगले कुरा राखेका थियौं । तर उहाँहरूबीच थप छलफलसमेत हुन सकेन । त्यसैले आजको बैठक स्थगित हुन पुगेको छ ।’नेताहरुबीच बैठकसमेत बस्न नसकेपछि बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक पनि स्थगित भएको उनको भनाइ छ ।

‘ऐन र संविधानबीच तालमेल नमिलेको कुरा बताएका छौं । निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचनको मिति तर्कसंगत छैन । यस विषयमा शीर्ष नेताहरुले निर्वाचन आयुक्तसँग छलफल गरेपछि मात्र आगामी बैठक बस्नेछ,’ उनले भने ।स्थानीय निर्वाचन अगाडि गर्ने कि संघ र प्रदेशको भन्नेबारे काँग्रेसभित्रै सहमति नहुँदा आजको बैठक स्थगित भएको देखिन्छ । यद्यपि विहीबार अपरान्ह देउवा, प्रचण्ड, र माधव नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीचको छलफलपछि सत्तारुढ गठबन्धनको बैठक शुक्रबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।​
पौडेल, सिटौला र खड्काले देउवालाई दिएनन् साथ

मंगलबार उच्चस्तरीय समन्वय समिति बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले पार्टीका शीर्ष नेतासहित कानुनमन्त्री दिलेन्द्र बडू र महान्यायाधिवक्ता खुमबहादुर खातीलाई राखेर छलफल गरेका थिए । उक्त बैठकबाट देउवा स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने निष्कर्षमा पुगेका थिए ।देउवाको प्रस्तावमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र उपसभापति पूर्णबहादुर खड्काले आपत्ति जनाएका थिए । बैठकमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र कानुनमन्त्री दिलेन्द्र बडूले भने देउवाको प्रस्तावमा समर्थन जनाएका थिए ।उच्च स्रोतका अनुसार उपसभापति खड्काले वैशाखमा स्थानीय तहको चुनाव गरे गठबन्धन अगाडि बढ्न नसक्ने चेतावनी दिएका थिए । तर देउवाले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने कुरा नरोक्न सकिने जवाफ दिएका थिए ।

‘गठबन्धन जोगाउने जिम्मा मेरो भयो । म जसरी पनि जोगाउँछु । तर स्थानीय तहको निर्वाचन सार्न सकिँदैन । यसबारे तपाईहरुले प्रचण्ड र माधव नेपाललाई मनाएर सहयोग गर्नुस् । म पनि लाग्छु,’ देउवाले भनेका थिए ।स्रोतका अनुसार पौडेल, सिटौला र खड्का देउवाको आग्रह मान्न तयार भएनन् । कार्की र बडूले भने वैशाखमा स्थानीय तहको चुनाव गर्ने देउवाको भनाइ ठीक भएको बताएका थिए । समन्वय समितिको बैठकमा पनि देउवा सोही अनुसार प्रस्तुत भए । स्थानीय तहमा गठबन्धन गरेर जान आफू तयार रहेको भन्दै वैशाखमा स्थानीय तहको चुनाव गर्ने कुरामा सहमत भइदिन आग्रह गरेका थिए ।

‘बरु मिलेर जाऊ । मिलेर जाने कुरामा कुनै समस्या भएन तर स्थानीय तहको चुनाव वैशाखमै गर्नुपर्छ,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘बाहिर माहोल अर्को भइसक्यो । स्थानीय निर्वाचन सार्दा परिस्थिति एन्टी करेन्ट जान्छ ।’समन्वय समिति बैठकमा पनि देउवाले पौडेल, सिटौला र खड्काको साथ पाएनन् । पौडेल र सिटौला समन्वय समितिका सदस्यका रुपमा सहभागी थिए भने मंगलबार खड्का पनि बैठकमा बसेका थिए ।

‘वैशाखमा स्थानीय चुनाव गर्ने देउवाजीको प्रस्तावलाई रामचन्द्रजी, सिटौलाजी र पूर्णबहादुर खड्काजीले ठाडै प्रतिवाद गर्नुभयो,’ बैठकमा सहभागी ती नेताले भने ।काँग्रेस उपसभापति खड्काको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ऐन र कानुन मिलाउनुपर्ने छ । त्यसो गर्दा समय लिन्छ । केही दिन समय लिँदा के फरक पर्छ ? अलि दिन जान्छ नि । यो बीचमा संघ र प्रदेशको चुनाव पहिला गरेर जाऊ अथवा सबै चुनाव एकसाथ गरौं ।’खड्काको भनाइमा प्रचण्ड लगायतका नेताले समर्थन जनाए पनि देउवाले भने असहमति जनाए । ‘यो वा त्यो बहानामा स्थानीय तहको चुनावलाई पछाडि लैजाने कुरा गर्नु हुँदैन,’ देउवाको भनाइ थियो ।

अनि ‘यू–टर्न’ भए देउवा
माओवादी र एकीकृत समाजवादीका नेताहरुले प्रधानमन्त्री देउवा पूर्ववत् सहमतिबाट ‘यू–टर्न’ भएको बताउँछन् । ‘महान्यायाधिवक्ता खम्मबहादुर खातीले प्रधानमन्त्रीको दिमाग भुटिदिनुभयो । केही दिन अगाडिसम्म देउवाजी संघ र प्रदेशको चुनाव पहिला गरेरमात्र स्थानीय चुनाव गरौं भन्नेमा हुनुहुन्थ्यो,’ एकीकृत समाजवादीका एक नेताले भने ।उनका अनुसार प्रचण्ड, माधव र देउवाका बीचमा वान टू वान कुराकानी हुँदा संघ र प्रदेशको चुनाव पहिला गरेर मात्र स्थानीय चुनाव गर्ने सहमति भएको थियो ।प्रचण्ड र माधव नेपालले आ–आफ्नो पार्टीको फोरममा त्यही बिफ्रिङ गरेका थिए । माधव नेपालले त पार्टीभित्र तीनवटै चुनाव एकै पटक गरे के होला भनेर राय समेत लिएका थिए । एकीकृत समाजवादीका नेताहरुले संघ र प्रदेशको चुनाव अगाडि गर्दा राम्रो हुने राय नेपाललाई दिएका थिए ।

माओवादी केन्द्रमा पनि सोही अनुसारको धारणा बनेको थियो । तर मंगलबार प्रधानमन्त्री देउवाले अप्रत्यासित रुपमा वैशाखमै स्थानीय तहको चुनाव गरिछाड्ने अडानसहित प्रस्ताव राखेको उनको भनाइ छ ।तर प्रचण्ड, गंगालाल तुलाधर, उपेन्द्र यादव लगायतले स्थानीय तहको निर्वाचन अगाडि गर्ने कुरा उल्टो भएको बताएका थिए ।‘हिजो पनि उल्टो भएको थियो चुनाव । संघीय र प्रदेशको चुनाव गरेरमात्र स्थानीय चुनाव गर्नुपर्ने थियो । त्यो बेला परिस्थिति त्यस्तो थिएन होला,’ प्रचण्डले भनेका थिए, ‘त्यस कारण हामीले स्थानीय तहको चुनाव अगाडि गर्यौ होला । अब संघ र प्रदेशको चुनाव गरेर मात्रै स्थानीय तहको चुनाव गरौं ।’

उनले तीन वटै चुनावमा यो गठबन्धन कायम भएर जानुपर्नेमा पनि जोड दिएका थिए । देउवाले गठबन्धन कायम राखेर जाने कुरामा कुनै समस्या नभएको भन्दै उनले आश्वस्त पारेका थिए ।
‘कहाँ कहाँ को कसलाई भनेर भागबण्डा गर्नु पर्छ, त्यो गर्दै जाऊ । ज्यादै प्रेसर भइसक्यो । तर निर्वाचन आयोगले पनि वैशाखमै गर्नु भन्छ । बाहिरको स्थिति पनि वैशाखमै गरौं भन्ने छ,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी काँग्रेसका एक नेताले भने, ‘हामीले चुनाव सारेर जाँदा ज्यादा आक्रमण हुन्छ । चुनाव सार्ने काम नगरौं भन्ने मेरो भनाइ हो ।’

स्थानीय तह निर्वाचन वैशाखमै गर भन्दै मिडिया र एमाले गुटका तीन वटा संस्थाको दबाबमा देउवा प्रभावित भएको गठबन्धनका नेताहरुको बुझाइ छ ।‘एमाले निकट तीन वटा संस्था गाउँपालिका महासंघ, नगरपालिका महासंघ, जिल्ला समन्वय समिति महासंघबाट वैशाखमै स्थानीय निर्वाचन गर भनेर वक्तव्य दिने काम भयो । एमालेको यो फण्डाबाट प्रधानमन्त्री प्रभावित हुनुभयो,’ माओवादी स्रोतले भन्यो ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार