• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

‘वैशाखमा स्थानीय तहको चुनाव हुँदैन, तीनै तहको चुनाव एकै पटक गर्न ठाउँमा पुग्यौं’ : पाँच दलीय गठबन्धन


नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले सत्ता गठबन्धनमा तीन तहको चुनाव एकै पटक गर्ने सहमति भएको बताएका छन् ।शुक्रबार प्रधानमन्त्री
निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि रातोपाटीसँग कुराकानी गर्दै उनले वैशाखमा स्थानीय तहको चुनाव समेत नहुने बताए।

आजको बैठकमा सहभागी तुलाधरले भने, ‘आज धेरै राम्रो छलफल भयो । अब हामी संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक गर्ने ठाउँमा गयौं । अब बैशाखमा स्थानीय तहको चुनाव नहुने पक्का भयो ।’ तीनै तहको चुनाव कहिले गर्ने भन्ने विषयमा कानुनविद्सँग छलफल गरिने उनले बताए । तीन तहको चुनाव २०७९ को मंसिर गर्ने कि फागुनमा भनेर संविधान र कानुनविद्सँग सल्लाह गरेर निर्णयमा पुग्ने सहमति भएको छ ।’स्थानीय तहको पदावधिबारे मनोगत ब्याख्या भएको भन्दै कानुनविद्सँग छलफल गरेर जाने विषयमा गठबन्धनभित्र सहमति भएको तुलाधरले बताए । स्थानीय तहका सरकारको पदावधि कहिले मान्ने भन्नेमा तर्क वितर्क भइरहेको छ ।

उनले भने, ‘वैशाख ३१ , जेष्ठ १४ र असोज २ गते कुन हो भन्ने विषयमा असोज २ गते हुन सक्छ भन्ने अधिकांशको मत रह्यो । असोज २ गतेबाट मात्र ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने कुरा गनिन्छ ।’दुई महिना अगाडि चुनाव गर्नुपर्ने भन्ने व्यवस्थालाई संशोधन गर्ने सहमति भएको तुलाधरको दाबी छ । ‘यसमा हामी सबै एक ठाउँमा पुग्यो । त्यो भन्दा पनि अर्ली इन्जेक्सनको चर्चा चलेको थियो । अब त्यो विषय सकिएको छ,’ उनले भने , ‘हिजो प्रचण्ड र माधव कमरेडले राखेको प्रस्तावमाथि केही मान्छेले कुतर्क गरेका थिए । अब असोज २ गतेमात्र स्थानीय तहको पदावधि सकिन्छ भन्ने छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनको भावना भन्दा दायाँ बायाँ जाने बताएको तुलाधरले बताए । उनले भने, ‘उहाँले समयमै चुनाव गर्नुपर्छ भनेर सुरु देखिनै तर्क राख्नु भएको छ । समय भनेको संविधान, कानुनले जे भन्छ त्यही हो ।

त्यो अर्थमा उहाँले तीनै तहको चुनाव एकै पटक गर्न सकिन्छ वा चरण चरणमा गर्न सकिन्छ भन्नेबारे संविधान र कानुनविद्सँग सल्लाह गर्ने कुरा गर्नुभयो । साथै उहाँले यस विषयमा सम्पादक पत्रकारसँग पनि कुराकानी गर्नुपर्छ भन्नुभयो । त्यही निर्णय भयो । प्रधानमन्त्रीको भनाइमा सबै नेताहरुले समर्थन जनाउनु भएको छ ।

प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रवार