• २०८१ कार्तिक २ गते शुक्रवार
  • Preeti To Unicode

राष्ट्रियसभा निर्वाचनमा कसले कति मत पाए ? ( अन्तिम नतिजासहित )


१९ पदका लागि बुधबार भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचनमा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी ४३ उम्मेदवार सहभागी भएकामा १९ उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा सम्बन्धित प्रदेशभित्रका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता थिए । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेको थियो । ​

नतिजा अनुसार प्रदेश १ मा गोपाल कुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा, जयन्ती देवी राई, मधेस प्रदेशमा उर्मिला अर्याल, मोहम्मद खालिद, बागमतीमा गोमादेवी तिमिल्सना, कृष्ण प्रसाद पौडेल, गण्डकीमा कमला पन्त, भुवन बहादुर सुनार, सुरेश आले मगर, लुम्बिनीमा राजेन्द्र लक्ष्मी गैरे, तुल प्रसाद विश्वकर्मा, युवराज शर्मा, कर्णालीमा दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा र सुदूरपश्चिममा मदन कुमारी शाह, जगद बहादुर पार्की र नारायणदत्त मिश्र विजयी भएका छन् ।​

२७ वर्षमा जनमोर्चाबाट पहिलो राष्ट्रिय सभा सदस्य निर्वाचित

काठमाडौँ — संसदीय व्यवस्थामा भाग लिएको २७ वर्षपछि राष्ट्रिय जनमोर्चाले पहिलो पटक माथिल्लो सदन राष्ट्रिय सभामा आफ्नो सांसद निर्वाचित गर्ने अवसर पाएको छ ।२०५१ सालको मध्यावधी निर्वाचनदेखि निरन्तर चुनावमा भाग लिँदैआएको राजमोका तुलबहादुर विश्वकर्मा पहिलो पटक राष्ट्रिय सभामा सांसद निर्वाचित भएका हुन् । विश्वकर्मा लुम्बिनी प्रदेशको दलिततर्फको कोटामा सत्तारुढ गठबन्धनका उम्मेदवार थिए ।

रुपन्देहीका विश्वकर्माले एमाले उम्मेदवार गुल्मीका कृष्ण सुनारलाई पराजित गरेका हुन् । विश्वकर्माले ४ हजार ३५६ मत प्राप्त गरे । त्यस्तै सुनारले ३ हजार ३४८ मत ल्याइन् ।विश्वकर्मासँगै लुम्बिनीबाट खुलामा बाँकेका युवराज शर्मा र महिलातर्फ राज्यलक्ष्मी गैरे निर्वाचित भएका छन् । शर्मा कांग्रेस र शर्मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन् । उनीहरूले नेकपा एमालेका उम्मेदवार क्रमश: रामदयाल गुप्ता र भारती खनाल उपाध्यायलाई पराजित गरेका थिए ।राजेश विकको नामले चिनिने विश्वकर्मा राजमोको भ्रातृ संगठन जातीय समता समाजका केन्द्रीय अध्यक्षसमेत हुन् । २०४५ सालमा विश्वकर्माको संयोजकत्वमा समाज गठन गरिएको थियो । त्यसयता ६ वर्ष बाहेक विश्वकर्मा नै समाजको प्रमुख रहँदै आएका छन् ।

२०१५ सालमा बाग्लुङ गलकोटमा जन्मिएका विश्वकर्मा स्कुल पढ्दै गर्दा राजनीतिमा जोडिन पुगेका थिए । २०२७ सालमा उनी स्कुलका तत्कालीन हेडमास्टर चित्रबहादुर केसी र शिक्षक झलनाथ खनालको सम्पर्कपछि राजनीतिमा आएका थिए ।४६ वर्षदेखि राजनीतिमा संलग्न रहेका विश्वकर्मा ५ वर्ष शिक्षक भएर काम गरेका थिए । स्नातकसम्मको अध्ययन गरेका विश्वकर्मा नेपालमा पटक पटक गरी २०४६ सालको आन्दोलनको क्रममा भारतमा पक्राउ गरेका थिए ।उनलाई नयाँदिल्लीस्थित ३ महिनासम्म तिहाड जेल राखिएको थियो । नेपालमा बाहेक उनले भारतमा समेत राजनीतिक गतिविधि गरेका थिए । प्रवासी नेपाल एकता मञ्चअन्तर्गत आन्ध्र प्रदेश, कर्नाटक र केरला कमिटीमध्ये उनी तत्कालीन केरलाबाट प्रतिनिधित्व गर्थे ।

उनी रक्तिम सांस्कृतिक अभियानका संस्थापकमध्येका एक हुन् । जसमा जीवन शर्मा र मणि थापा लगायत गायक तथा संस्कृतिकर्मीहरू सदस्य थिए ।बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि भएको पहिलो आमनिर्वाचन बहिस्कार गरेको नेकपा मसालले त्यसपछि भने संसदीय व्यवस्थालाई उपयोग गर्ने नीति लिँदै आएको छ ।२०५१, २०५६, २०७४ सालको संसदीय चुनाव, २०६४ र २०७० संविधानसभा चुनावमा खुला मोर्चाको रुपमा राजमोमार्फत् प्रतिस्पर्धामा सहभागी हुने गर्छ ।राजमोको संघीय प्रतिनिधिसभा मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेश सभामा समेत प्रतिनिधित्व रहेको छ । कांग्रेस नेतृत्वमा रहेको ५ दलीय गठबन्धनमा सहभागी रहेको राजमो शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने सामेल भएको छैन ।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार