• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

सलमान खानको ब्रान्डिङ कपडा ‘विइङ ह्युमन’ का नाममा मदिरा धन्दा, ४ जना पक्राउ


काठमाडौं । नेपालमा मदिरा (रक्सी)को अवैध कारोबार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।भारतबाट मदिरा चोरी पैठारी गरी नेपालमाअवैध कारोबार गर्ने पर्सा गादी घर भई हाल बूढानीलकण्ठमा बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा काठमाडौंका शैलेश पन्त, पर्सा सुवर्णपुर घर भई हाल हाँडीगाउँ बस्ने रविन पाख्रिन र सर्लाही बरहथवा घर भई हाल चाबहिल बस्ने नारायणप्रसाद घिमिरेलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।

महाशाखाले पक्राउ गरिएकाहरुको साथबाट रेड लेबल, ब्ल्याक लेबल, अबसोलुट भोड्कालगायतका मदिराहरु बरामद गरेको छ । उनीहरुले भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई बिक्री वितरण गर्दै आएका थिए ।

प्रहरीले उनीहरुले अवैध रुपमा मदिरा बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा महाशाखाको उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुमाथि प्रारम्भिक अनुसन्धान भएको छ ।प्रारम्भिक अनुसन्धानपछि उनीहरुलाई आइतबार थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।यस प्रकरणका मुख्य नाइके हुन्, सन्तोषचन्द्र बख्रे्रेल । उनी बलिउडका सुपरस्टारसलमान खानको ब्रान्डिङ कपडा ‘विइङ ह्युमन’को पसल सञ्चालन गर्दै आएका छन् । यस कम्पनीले बालबच्चा तथा अनाथहरुलाई सहयोग गर्दै आएको छ ।

कसरी समातिए अभियुक्तहरु ?
काठमाडौंका पूरानो बानेश्वरको एक पसलमा एक ग्राहकले रेड लेबल रक्सी खरिद गर्ने क्रममा राजश्व विभागको अन्तशुल्कको स्टिकर टाँसेको नपाएपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी उक्त पसलमा गएर जाँचबुझ गर्दा भारतबाट अवैध रुपमा मदिरा ल्याई बिक्री वितरण गरेको खुलेको थियो । मंसिर १९ गते प्रहरीले यस प्रकरणका मुख्य अभिुक्त बख्रेललाई उनकै पसलबाट हुण्डी कारोवार गरेको आशंकामा छापा मारेको थियो ।

पसलमा छापा मार्दा स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित उनी पक्राउ परेका थिए ।प्रहरीले उनको साथबाट १ हजार दरका ४९ लाख र ५ सय दरका २० लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो । त्यसपछि बख्रेलसँगै उनीसँग सम्पर्कमा रहेकाहरु पक्रा पर्न थाले ।

अन्ततः प्रहरीले उनीहरू सबैको घर र गोदामबाट अन्तःशुल्क नटाँसिएको नक्कली २९६ कार्टुन मदिरा बरामद गर्न सफल भएको थियो ।

प्रकाशित मिति : २०७८ माघ १६ गते आइतवार