• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

देउवा–ओली–दाहाल भेटवार्ता : संसद् सञ्चालनबारे एमालेले राख्यो एस्तो अडान


काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ताघटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग
छलफल गरे पनि प्रतिनिधिसभा सञ्चालनका विषयमा भने सहमति जुटेन । प्रधानमन्त्रीको आह्नानमा आइतबार प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा प्रधानमन्त्री देउवा रमाओवादी

केन्द्रका अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई प्रतिनिधिसभामा जारी अवरोध खुलाउन आग्रह गरेका थिए । तर, ओलीले आफूहरूका एजेन्डाको सम्बोधन नभएसम्म अवरोध निरन्तर गर्ने अडान लिएका छन् ।बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री देउवा र दाहालले प्रतिनिधि सभामा अवरोध अन्त्य गर्न आग्रह गरेको बताए । ‘उहाँहरुले प्रतिनिधिसभामा अवरोध हटाउन आग्रह गर्नुभयो । हामीले हाम्रो पार्टीले अघि सारेका एजेन्डा सम्बोधन नभएसम्म अवरोध नहट्ने भन्यौँ,’ उनले भने ।महासचिव पोखरेलले सभामुखले गरेको कमजोरी नसच्चिएसम्म अवरोध निरन्तर हुने बताए । ‘हामी पनि प्रतिनिधिसभामा उपस्थित भएर राजनीतिक छलफलमा भाग लिन चाहन्छौँ । तर, सरकारले त्यो वातावरण बनाउन सकेको छैन । हामी सभामुखका कारण प्रतिनिधिसभामा उपस्थित भएर आफ्ना कुराहरू राख्न सकेका छैनौं,’ महासचिव पोखरेलले भने, ‘यदि सरकारले हाम्रो उपस्थिति खोजेको हो भने हाम्रा एजेन्डाहरू सम्बोधन गरोस् । मुख्यतः सभामुखले गरेको कमजोरी सच्याउनुपर्छ भन्ने हाम्रो माग हो । तबमात्रै हामी सदनमा प्रवेश गरेर आफ्ना कुरा राख्न सक्छौं ।’

देउवा प्रधानमन्त्री भएयता एमालेले प्रतिनिधिसभामा निरन्तर अवरोध गर्दै आएको छ । गएको वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने क्रममा हृवीप उल्लंघन गर्नेमध्येका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको माग छ ।जबकि त्यसरी हृवीप उल्लंघन गर्नेसहित २३ सांसद मिलेर अर्कै पार्टी गठन गरिसकेका छन् । गएको १ भदौमा एमाले केन्द्रीय कमिटीले कारबाही गर्ने निर्णय गर्दै ती १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयलाई पत्राचार गरेको थियो । त्यसबेला सभामुखले तत्काल सूचना जारी नगरी एमाले विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेले संसद् अवरोध गर्दै आएको हो ।

अब ती १४ सांसद पदमुक्त हुनुपर्ने वा पार्टी विभाजनमा सहयोगी बनेका सभामुखले राजीनामा दिनुपर्ने एमालेको माग छ । सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको एमालेको आरोप छ । कारबाही सिफारिस भएका सांसद नेपालसहितले गठन गरेको नयाँ पार्टी नेकपा (एस) वर्तमान सत्ता गठबन्धनको महत्वपूर्ण घटक हो ।एमालेको अवरोध अन्त्य गर्न सभामुख सापकोटाले २८ भदौमै सर्वदलीय बैठक गरेका थिए । त्यो बैठक एमालेले बहिष्कार गरेको थियो । सभामुखको प्रयास असफल भएपछि प्रधानमन्त्री देउवाले संसद्को‌ अवरोध खुलाउन पहल लिएका थिए । देउवाले आफ्ना विश्वासपात्र मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पटक–पटक बालकोट पठाएर ओलीलाई मनाउने कोसिस गरे ।

१४ असोजमा प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्यो । तर, त्यो बैठकमा पनि एमाले सहभागी भएन । प्रधानमन्त्री देउवाले फेरि सर्वदलीय बैठक बोलाएका थिए, ४ पुसमा । तर, त्यो बैठकमा पनि एमाले सहभागी भएन । कारबाही गरेका नेताहरू सहभागी सर्वदलीय बैठकमा आफू नजाने भन्दै एमालेले प्रधानमन्त्री देउवाले बोलाएका दुई वटै सर्वदलीय बैठक बहिष्कार गरेको थियो । त्यहीकारण आइतबार प्रधानमन्त्री देउवाले नेपाललाई नबोलाएर ओली र दाहालसँग छलफल गरेका छन् ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार